रूपा अधिकारी आप्रशा
पोहोरको झैँ तिज आयो भनी गन्दागन्दै दिन
साँच्चैको आयो है साथी र संगी दर खाने दिन
घरबाट उम्कन पाउन्न भनेर होकि! किन हो किन
पठाइनौं आमा यसपालि सम्झेर भाइलाई लिन।
महिना दिनदेखि नै हिँडेछन् कोही दर मान्नलाई
मलाई भने धउ–धउ छ आफ्नो दैनिकी धान्नलाई
पुरानो भयो बनाउनुपर्छ भन्छन्, धनी देखाउन सुन
गरिबलाई महँगी बन्दैन सहज किन्नलाई तेल–नुन।
दर खान जाने भनी बोलाउँछन् कोही पार्टी प्यालेस
कसरी तिर्नु खाई दरको भार, छैन नि बैंक ब्यालेन्स
साथी र सँगी भनेर हिँड्न मलाई पनि थियो नि रहर
गरिबीले दिएको चोटले पर्व मेरो भयो अति नै जहर।
खाने लाउने हिँड्ने हो, भन्छन् नाच्ने रे रमाई छमछम
विदेशीले झैँ सजाउन थाले नि पर्व समाई वाइन र रम
श्रीमानको लामो आयुको कामना गर्दै मानिने संस्कृति
दरसंगै मदिरा सेवनले बढायो है नारीमा ठूलो विकृति।
दुःख र सुख कर्कलाको पानीझैँ दुई दिनको जीवनमा
दुई चुल्ठी पनि सुहायो भन्थिन् आमा,मलाई रिबनमा
मर्यादा बिर्सी नारीपनको,देखासिकी कहिल्यै जानिन
जेसुकै भनून् विकृति बढ्ने आघातसंग रमाउन मानिन।
प्रकाशित: २३ भाद्र २०७८ ०३:०३ बुधबार