१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मोबाइलको करामत

बालकथा

महानन्द ढकाल

‘अनलाइन’ कक्षा सुरु हुने भएपछि राजमतीले बाबुलाई मोवाइल किन्न पठाइन्। सत्र हजार छ सय चालिसको मोबाइल राजमतिको हातमा सलबलाउन आइपुग्यो। शिक्षकहरूले ‘फेसबुक एकाउन्ट’ खोलिदिए। ‘म्यासेन्जर ग्रुप ’ मा जोडिदिए। फोटाहरू पोस्ट गर्न  सिकाइदिए। ‘म्यासेज’ को घण्टी बज्न थाले। ‘म्यासेज’ हेरेर दंग पर्थिन् राजमती। ‘पोस्ट’ गरेका फोटा देखेर रमाउँथिन् राजमती।

फेसबुकमा ‘फ्रेन्ड  रिक्वेस्ट’ आउन थाले। सबैलाई ‘एड’ गर्दै गइन्। प्रिन्स नाम गरेको केटालाई पनि ‘एड’ गरिन् राजमतीले। ‘एड’ गर्नुभएकामा आभारी छु।’ प्रिन्सले म्यासेज पठायो। राजमतीले पाँच  मिनेट लगाएर ‘धन्यवाद’ लेखिन्।

दोस्रो दिन प्रिन्सले फेरि म्यासेज लेख्यो,‘हजुरले पोस्ट गरेका फोटाका सिनहरू मनपर्यो। कहाँको हो?’

‘राजमतीले आफ्नै घर नजिकैको हो’ भनेर जवाफ दिइन्। ‘हजुरको घर कहाँनिर छ?’ पुनः प्रश्न गर्यो।

राजमतीले ‘बाँसगढी,  अमैया’ भनेर साँचो ठेगाना बताइन्।

‘एकदिन घुम्न आउनुपर्ला’ प्रिन्सले म्यासेज लेख्यो।

‘हुन्छ’ भनेर जवाफ दिइन् राजमतीले।

प्रिन्ससँग कुराकानी हुन थालेको एक हप्ता जति भएको थियो।  प्रिन्सले एकाबिहानै म्यासेज लेख्यो,‘बाँसगढी, लक्ष्मणा अन्टी हुनुहुन्छ। आज बाँसगढी आउँदै छु।’

‘हजुरको घर कहाँनिर हो?’ राजमतीले प्रिन्सको घर सोधी।

‘बल्ल आज सोध्यौ त। अँ कोहलपुर।’ अक्मकाउँदै उत्तर दियो प्रिन्सले।

‘के हाम्रो भेट हुन सक्छ?’

प्रिन्सले राजमतीसँग भेट्ने इच्छा राख्यो। राजमती अक्मकाई। ‘आज त मेरो काम छ।’ भेट्न अप्ठ्यारो मानेकोले झुट बोली राजमती।

‘ठिक छ नि म भोलि नै आउँला।’ प्रिन्सले जसरी पनि भेट्न कर गर्यो। राजमतीले नाइँनास्ति गर्न सकिन।

भेट्ने स्थानको छनौट र समय आफैंले तय गरेकी थिई राजमतीले । देवकासँग आधी घन्टा पहिले पुगी तोकिएको स्थानमा। प्रिन्स साइकिलमा आयो। तोकिएको समयमै आयो। इमानदार रहेछ भनेर मक्ख परी राजमती।

साइकल बाटाको छेउमा राखेर थोरै भित्र गए उनीहरू। मास्क लगाएर आएको प्रिन्सले मास्क खोलेन। राजमतीले मास्क खोल्न कर पनि गरिन। केहीबेर कुराकानी गरे। प्रिन्सले खै कसको नम्बर डायल गर्यो।

‘तपाईंको व्यालेन्स सकिएको छ। पुनः रिचार्ज गर्नुहोला’भन्ने आवाज सुनियो।

‘राजमती हेर न साथीलाई फोन गर्नु थियो। व्यालेन्स सकिएछ तिम्रो मोबाइल लेऊ न’ भनेर माग्यो। राजमतीले फोन दिई। नम्बर डायल गर्दै ऊ बाटातिर आयो। साइकल नजिकै पुग्यो। गोजीमा मोबाइल हाल्यो। साइकल समातेर दौडियो। राजमति र देवकाले रोक्न खोजे प्रिन्सलाई। पछ्याउँदै गए अगाडिसम्म। एकैछिनमा ओझेल पर्यो राजमतिको प्रिन्स। 

 – कोहलपुर, बाँके।

प्रकाशित: २१ भाद्र २०७८ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App