अल्पविराम पोखरेली
– दाइ, ओ दाइ सुन्नुभो ? आमा बित्नुभो रे । वृध्दाश्रम जाऊँ हिँड्नुस्।
युवराजले झ्यालबाट टाउको निकालेर हेर्यो आफ्नी कान्छी बहिनी रैछे। कतिखेर बित्नुभएछ आमा हँ बैनी ?
– हिजो राति दशएघारतिर रे। बैनीले भनिन्।
दाजुले बैनीलाई आफ्नै पजेरो गाडीमा चढाएर वृध्दाश्रम पुगे। शुक्ला गण्डकीको तीरमा अवस्थित वृध्दाश्रममा समितिका पदाधिकारीहरू र सदस्यहरू तथा युवराजको बाबु र ठुली बैनी पनि लासको वरिपरि घोसेमुन्टो लाएर बसेका थिए।
युवराजले भन्यो–मेरी आमाको सद्गत र किरिया कर्म गर्न म लास लैजान चाहन्छु।
अध्यक्षले युवराजको बाबुतर्फ दृष्टि लगायो। अश्रुवर्षा भइरहेका ती वृध्द आँखाहरूबाट कुपुत्रको दावी सुनेर एकाएक अग्निवाण बर्सिरहेको उसले देख्यो र कडकिँदै अध्यक्षले भन्यो – बावुआमा बाँचुन्जेल पालनपोषण र औषधिमुलो गर्नुपर्छ भनेर घरबाट निकाल्ने अनि अहिले पाँचछ वर्षपछि साखुल्ले भएर लास माग्ने तँ नकचरो र कुपुत्र होस्। जा लास पाऊँदैनस् तैंले । हामी नै गर्छौं दाहसंस्कार।
लौ त कसरी नदिने रैछ लास। म पनि हेरूँला भन्दै युवराजले पाखुरा सुर्कन के थालेको थियो , त्यहाँ उपस्थित सबैले लात्ती र मुड्कीले बेसरी गोदे। युवराजका दिदीबैनी रुन्चे अनुहार लिएर आँखामा आँसु टिलपिलाउनबाहेक अरू के नै गर्न सक्थे र। त्यहाँबाट कुच्चिएको अनुहार लिएर भाग्नुबाहेक युवराजको अरू उपाय थिएन र भाग्यो। भाग्दाभाग्दै पजेरोनेर पुगेर भन्यो – मेरो अधिकार खोस्ने? अन्याय गर्ने? पख तिमीहरूलाई मैले जान्या छु।
प्रकाशित: १३ भाद्र २०७८ ०१:३९ आइतबार