म्यामराज राई
नाथुराम र कालुमाया सन्तान पढाउने हेतुले बिहे गर्नेबित्तिकै शहर लागे। केही समयपछि छोरो जन्मियो। नाथुराम वैदेशिक रोजगारीमा हिँडे। कम्पनीमा काम थालेको दोस्रो महिनादेखि लगातार पैसा पठाउन थाले। कालुमायाले फजुल खर्च नगरी बैंकमा नियमित रूपमा जम्मा गरिरहिन्। दिनहुँ जसो फोन वा मेसेजमार्फत सम्पर्क हुन्थ्यो। तीन वर्षको करारनामामा गएका श्रीमानले पच्चीस महिनासम्म नियमित पैसा पठाए। नेपाल फर्किन एघार महिना बाँकी थियो। कमाइ घटेको भन्दै पैसा पठाउने क्रम ठप्प भयो। सम्पर्क पातलिँदै गयो।
नाथुरामबाट नितेश बनिसकेका रहेछन्। फेसबुकमा प्रोफाइल पिक्चर हेर्दै खोजी–खोजी फ्रेन्ड रिक्वेस्ट पठाउँदै गरेको कुरा सुटुक्क नाथुरामको रुममेइट्बाट कालुमायाले थाह पाइन्। अब कालुमाया पनि कला बनिन् र आफ्नो फोटो कहिल्यै राखिनन्। सोझै नितेश र कला फेसबुकमा साथी भए।
– तँपाई त केट्रिना केइफजस्तो पो देखिनुहुन्छ? नितेशले तन्नेरी भावमा छिल्लिए।
– छ्या,तपाई भनेको सुहाएन। अँ,साथीहरूले पनि तेरो अनुहार कताकता मिल्छ, भन्छन्। तपाई पनि सलमान खानजस्तै ज्यान र पाखुरा त देख्छु। जवाफसँगै कलाले पनि फुर्काइन्।
– लल तिमी भनौंला अनि बिहे भयो?
– छैन, म जस्तीलाई कस्ले हेर्छ? तपाईको नि?
– परदेशको परदेशै छु। अब मातृभूमि फर्केर तिमीजस्तै मान्छे भेटिएमा गर्नुपर्ला,सोच्दैछु।
– उता नाथुराम र कालुमायाको सम्पर्क लगभग टुटिसकेको जतिकै थियो भने यता नितेश र कलाको निकटता झाँगिदै गयो। उनले पारिवारिक तथा व्यक्तिगत विषयमा ढाँट्दै गरेको कुरा कलालाई सबै थाहा थियो। नितेश महिनैपिच्छे पैसा पठाउँथे,कलाले सुरुक्क बैंकमा जम्मा गर्थिन्।
नितेश देश फर्के। एयरपोर्टबाट सीधै कलालाई एउटा क्याफेमा फस्ट डेटिङ अफर गरे। छोरो लिएर कालुमाया त्यहीं क्याफेमा अलिक अगाडि पुगिन्। ऊ आइपुगेर कलाको खोजीमा थिए।
– नमस्ते! म कला हुँ र कालुमाया पनि म नै हुँ। यो हाम्रो छोरो हो।
प्रकाशित: १३ भाद्र २०७८ ००:४३ आइतबार