११ कार्तिक २०७८ बिहीबार
कला

सूर्यका घामजस्ता बलिया कविताहरू

पुस्तक चर्चा

आज

मेरो शरीरभन्दा बढी

बलात्कृत भएको छ

मेरो स्वाभिमान

– निराशाका शिखरहरू।

ठ्याक्कै स्थिति यस्तै छ, यही नै छ, बदलिएको छैन, बदलिन सकेको छैन परिस्थिति। पवित्र भूमि पनौती – पुत्र सूर्यप्रसाद लाकोजूको कविता संग्रह ‘घाम फुल्ने याम’ भित्र सङ्गृहीत कविताहरूमध्ये ‘निराशाका शिखरहरू’ उक्लिने क्रमको एउटा विसौनीजस्तै छ हाम्रो नियति।

आज गाउँ, शहर, बजार, चोकका निहत्था स्त्रीहरू के दिन, के रात, के बिहान, के साँझ, बलात्कारको सिकारमा परिरहेका छन्। समाज असुरक्षित बन्दैछ। दण्दहीनता बढ्दैछ। यही वास्तविकता भोगाइलाई कवि लाकोजूले कवितामा विम्बको रूप दिँदै देशको चित्रण गरेका छन्, जसकारण आज देश विक्षिप्त भएको छ। यहाँ देश दिनदहाडै बलात्कृत भइरहेको छ। देश कहिले सीमानाका दशगजासँगै बलात्कृत भएको छ, कहिले देश हाँक्ने ल्याकत गुमाएर शक्ति, पैसा र पदसामु लम्पसार पर्ने नेतृत्वका कारण बलात्कृत भएको छ, कहिले कृतघ्नहरूको कारण बलात्कृत भएको छ। यस्तो अवस्था हुँदाहुँदै पनि देशले न्याय पाउन सकेको छैन, देश उही निर्मला पन्त, उही जयसिंह धामीको नियति भोगिरहेछ, किनकि देशमा दण्डहीनता चुलिँदो छ। देशको स्वाभिमानमाथि नै यस्तो किसिमको आक्रमणको प्रभाव समाजको हरक्षेत्रमा पर्दैछ। अतः निराशाको कालो साम्राज्य मुख बाइरहेछ। परिस्थिति यस्तो भयावह अवस्थामा अधिकांश व्यक्तिहरू हातमा पुर्पुरो लगाउँ, कोही ‘नेपालमा केही हुन्न’ भन्ने भावना पाल्दै, आफ्नै देशलाई सरापेर बाँच्नेहरूका माझ पनौती– पुत्र लाकोजू आशाको घामको पुञ्ज ‘घाम फुल्ने याम’ बोकेर आएका छन्। निराशाका बीच उनी कवितामार्फत् नै आशा देख्छन् र यसो भन्छन्, आफ्नो कविता ‘युगपुरुष जन्माउन बाँकी छ’ मा।

सूर्यप्रसाद लाकोजू, कवि

लामो छ बेथितिको कथा

ठूलो छ असमानताको व्यथा

खै कति लेखूँ? ?

खै कति लेखूँ? बस् यति लेख्छु

यो देशको मुहारमा हाँसो ल्याउन

एक जना युगपुरुष

जन्माउन बाँकी छ।

लाकोजूका कविताहरू यथार्थका साविती हुन्। कविताहरू घामजत्तिकै प्यारा, घामजत्तिकै छर्लङ्ग, घामजत्तिकै शक्तिशाली छन्। क्लिष्ट भाषा, वाक्यांशको प्रयोग नगरी, जनजीविकाको भोगाइ, देखाइ र भनाइलाई कविताको विषय र विम्ब बनाएर रचिएका कविताहरूको सामयिक सन्दर्भ उत्थान गर्न माहिर छन्। चसक्क मन छुने शैलीमा कविता रचना गर्नु कवि लाकोजूको विशेषता भएको तथ्य ‘घाम फुल्ने याम’ का ५८ वटा कविताले देखाएको छ।

दुई दर्जन जति कृति प्रकाशन गरिसकेका कवि लाकोजू अक्षरको खेती गर्ने मिहिनेती, जाँगरिला र अथक संघर्षशील किसान हुन्। उनी कलममार्फत् काव्य फाँटलाई उर्वर बनाउन कहिले सम्पदाहरूको बीउ छर्छन्, कहिले मुक्तकको मेला भर्छन्, कहिले हाइकुमार्फत गुराँस फुलाउँछन्, कहिले सुसेल्दै गीत गाउँछन् त कहिले कोपिलाहरूको बगैंचा स्याहार्छन्। उनी वास्तवमा कविताहरूको अर्गानिनक खेती गर्न सिपालु कलमजीवी हुन्।

कवि लाकोजूको ‘घाम फुल्ने याम’ले समाजका हरेक पक्ष, वर्ग र क्षेत्रको समस्या मात्र नभएर तिनीहरूमा लुप्त अवसरहरूलाई पत्रि चित्रण गरेका छन्। समाजको सिंगो र सग्लो चित्रको प्रतिरुपको रूपमा प्रकाशित ‘घाम फुल्ने याम’ भित्रका कविताहरूले सिंगो समाजको प्रतिनिधित्व गरेको छ।

 ‘बुवा’ शीर्षकको कविताबाट सुरु गरिएको कविता ‘आमा’मा टुङ्ग्याउँदै कवि लाकोजूले कवितामार्फत समाजमा परिवर्तन खोजेका छन्, ओइली झर्ने फूलमा जीवन भेटेका छन्, आँसुको पोखरीमा डुबुल्की मार्न विवश परदेसिएका रामको कथा उनेका छन् कविताहरूमा। उनले देशका नेताहरूलाई कथित मालीको संज्ञा दिँदै अँध्यारालाई उज्यालो बनाउन सक्नुलाई ठूलो कुरा भएको बताएका छन्। उनी भन्छन् –उज्यालोमा त सक्तछन् गई बस्न सबै,  अँध्यारालाई उज्यालो बनाउनु ठूलो कुरा हो।(ठूलो कुरा) गरिबी, अभाव, महँगीको मारमा परेका दिनचर्याले दिक्क समयले चिथोरेका अनुहारहरूलाई कविताको क्यानभासमा उतार्दै कवि लाकोजू ती अभावविरुद्ध संघर्ष गर्न आह्वान गर्छन्। उनले वर्तमानका बेथितिहरूका बारेमा थुप्रैपटक प्रश्न गरेका छन्।

पद्मावती बगेजस्तै

बगिरहेछ स्वाभिमानको पानी

सुन्दैछु

सुक्दैछ नैतिकताको मुहान

भित्रभित्रबाट

जीर्ण बनाइँदैछ आस्थाको धरोहर  

अनि ढालिँदै छन्

सपनाका अनन्त वृक्षहरू

पुर्दैछन् पैसाले  

सहिदका सपनाहरू

आज देश थला परेको बेला

ढुकुटीमा जुको पसेको  

समाचार पढ्दैछु।

–‘समाचार’

हो, यस्तै समाचार सुन्नुपर्ने बाध्यतामा छौं हामी नेपालीहरू। कम्युनिष्ट विचार बोक्ने, आदर्शका कुरा गर्ने तर व्यवहार भने सोही अनुसारको नगर्ने ढोंगीहरूको बिगबिगी छ सबैतिर। र त समाजमा नैतिकता स्खलन हुँदैछ, मानवता मौन बस्दैछ र नागरिक भावना टुक्रिँदैछ। यसैमा कवि लाकोजुको चिन्ता छ। अविरल सत्ताको भोकले निम्तिरहेको राजनीतिक अस्तव्यस्ततले समाजलाई समृद्ध बनाउने सपनाहरू तुहिरहेका छन्। यस्तामा पनि उनी आशावादी छन्।

उनी कवितामार्फत आशावादी हुन, बाँच्नका लागि संघर्षलाई अँगाल्न अनुरोध गरिरहेका छन्। उनका कविताहरू पढ्ने क्रममा नैराश्यभित्र पनि आशा भेटिनु बलियो पक्ष हो। उनका केही कविताहरू–

हाम्रो पसिना

भोकमाथि विजय उत्सव

कहिले मनाउँछ

थाहा छैन

तर पनि

सोच्छु

सुन फुल्ने याम

एक दिन त अवश्य आउनेछ

हामी र हामीजस्ता कर्मवादीहरूको  

जीवनमा पनि एकदिन

अवश्य वसन्त छाउनेछ

आजकल यही सोचेर

अधैर्य मनलाई

धीरताको ओछ्यानमा

सुताउने गरेको छु।

–मूल्यहीन पसिना

. . .    . . .

प्रिय!

तिमीमा थोरै दुःखको पहाड चढ्ने

साहस भर्नुछ

तिम्रो मनको मलिलो माटोमा

संघर्षको बिउ छर्नुछ

अनि उमार्नुछ

सफलताका फसल र

कोर्नुछ नयाँ सिन्दुरी कथाहरू।

–जिन्दगी फूल मात्र हैन प्रिय

       कृति – घाम फुल्ने याम

       कवि – सूर्यप्रसाद लाकोजू

        विधा – कविता

       प्रकाशक – ट्रान्सवल्र्ड पब्लिकेशन

      मूल्य – रु. ३५०।–

प्रकाशित: १२ भाद्र २०७८ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App