१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘कुरा बुझ्नुपर्च’मा बुझ्न बाँकी कुरा

विशेषतः हिन्दु खस–आर्य नेपाली समुदायका महिलाले मनाउने पर्व हो, तिज। तिज नजिकिँदै गर्दा तिजगीत ह्वारह्वार्ती बजारमा आउँछन्। एक दृष्टिकोणले महिलाहरूले माइत आएर विरह पोख्ने पर्वका रूपमा तिजलाई लिइन्छ। त्यस्ता विरहलाई गीतमार्फत अभिव्यक्त गर्ने चलन पहिल्यैदेखि चल्यो। त्यसकारण तिज पर्व र यस पर्वमा गाइने गीतबीच विभिन्न आयाम छन्। र, यस पर्वबारे महिलावादी कोणबाट पनि अध्ययन–अनुसन्धान भएका छन्।

अमेरिकी अनुसन्धाता लिन बेनेटका अनुसार तिज र ऋषि पञ्चमी दुई भिन्नै अनुष्ठान भए पनि दुवै चाडले महिलाको महिनावारी र कामुकतालाई छोएको हुनाले सँगै अध्ययन गर्ने गरिएको छ, (डेन्जरस वाइभ्स एन्ड स्याक्रेड सिस्टर्स, पृष्ठ २२२)। यी दुई चाडलाई छोरी मान्छेको गुण र व्यवहारसँग समेत दाँजेर हेर्ने गरिन्छ। शिव र पार्वतीको झैं अटुट जोडीको नमुना बन्न पाइयोस् भनी अविवाहिता महिला पानी पनि नपिई व्रत बसेको पाइन्छ। त्यस्तै, विवाहिताले पतिको लामो आयुको कामना गर्ने र विधवाले पतिको मृत्युभइसकेकाले पश्चात्तापमा व्रत गर्ने प्रचलन छ।

व्रत र शुद्धीकरणको खेलसँगै नाच र गीत यस चाडको अभिन्न अंग बने। तिजको नाच गीतको भाव र बोलले गर्दा विशेष हुने हो। तिजबाहेक अरू दिन नाच्ने महिलालाई उत्ताउली भनिए पनि तिजको दिनको नाचलाई माफी दिने गरिन्छ। सुरुमा तिजका गीत दुःख, शोक, रिस, आवेग, कामुकताले भरिएका हुन्थे। पछिल्लो समय खासगरी सन् १९९० को पेरिफेरी वा त्यसपछि राजनीतिक चेतना फैलाउन, राजनीतिक विद्रोहको भाषा बोल्न पनि तिजको अवसर प्रयोग गरियो, (दोरोथी हल्यान्ड र डेब्रा स्किन्नर, फ्रम विमिन्ज सफरिङ्स टु विमिन्ज पोलिटिक्स)। आजभोलि पनि तिजका गीतमा राजनीतिक व्यंग्य, चेतना, विद्रोह प्रशस्त पाइन्छ।

जेहोस्, तिज नजिकिँदै गर्दा यसकै छेको पारेर तिजगीत बजारमा आउन थालेको धेरै दशक भएको छैन। त्यसो त सिडी, क्यासेटको जमाना आएकै पनि कति भएको छ र !

यसपालि प्रकाश सपुतद्वारा लिखित, लयबद्ध र निर्देशित तिजगीत बजारमा आएको छ, ‘कुरा बुझ्नुपर्च’। यो गीत यतिखेर युट्युब ट्रेन्डिङमा छ। सँगसँगै सामाजिक सञ्जालदेखि मिडियामा पनि यसको चर्चा भइरहेको छ। विशेषतः टिकटकमा यस गीतमा अभिनय गर्नेहरू प्रशस्तै छन्।

शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको यो गीत आजसम्म आएको आम तिजगीतभन्दा प्रगतिशील छ, सापेक्षित रूपमा यत्तिको गीत प्रशंसायोग्य नै हो। यसले महिलाको आवाज र अधिकारलाई केही हदसम्म सम्बोधन गरेको छ, पूर्ण रूपमा भने होइन। म यस गीतका केही शब्द र भिडियोमा देखाइएका दृश्यप्रति आफ्नो दृष्टिकोण राख्दै छु।

यस गीतको भिडियोको सुरुमा दुई दिदीबहिनी र आमाबीचको वार्तालाप छ। उनीहरूको ‘एक नारीको जवानी खर्च गर्ने’ विषयको बहससँगै गीत अगाडि बढ्छ। गीतको ‘कुरा बुझ्नुपर्च’ पंक्तिले धेरैतिर संकेत गरेको आभास हुन्छ। जस्तो कि समाजमा बुझ्नैपर्ने कुरा नबुझ्नेहरू धेरै छन्। बुझ्नैपर्ने कुरा के हो त ? सामान्यतः हामीले न्याय, अन्याय र समानताकै कुरा बुझ्नुपर्छ भन्ने मान्यता राख्नुपर्छ।  

गीतको शब्द, भाव र सर्जक आफैंले भिडियोको वर्णनमा लेखेको ‘आधुनिक नेपाली केटीहरूको सपना, आत्मबल र दृष्टिकोण चित्रण गर्ने प्रयास’ र भिडियोको दृश्यांकन तालमेल नमिलेको र गीतमा पनि कहीँकतै पितृसत्ता लुकेको आभास हुन्छ। गीतलाई महिलावादी कोणबाट प्रस्तुत गर्ने प्रयास गर्दा वा समाजमा प्रेरणाको स्रोत बन्न खोज्दा यस्ता कुरामा पक्कै ध्यान दिनुपर्दछ। स्वायत्त निर्णय गर्न पाउनुपर्ने अधिकारको चर्चा गरिएको भए, जीवन÷जवानी महिलाले मात्र खर्च गर्ने सोच राख्नुको सट्टा जीवनमा साथ र सहयोगबारे कुरा गरेको भए उत्तम हुने थियो। एक महिलामाथि भएको घरेलु हिंसाको विवशता बुझ्नुको साटो उल्टै उनको छनोटमा खिसी उडाउनु सर्वथा गलत छ।

अर्कोतिर यो गीतले माया गर्ने मान्छेको जात, धर्म, क्षेत्र र देश पनि हुन्छ भन्नेतर्फ बोलेको छैन, धनी र गरिबको मात्रै कुरा उठाएको छ। माया गर्ने मान्छे धनी वा गरिब परिवारको मात्रै नभएर ऊ भिन्न जात वा समुदायको पनि हुन सक्छ। त्यस्तो अवस्थामा हामीकहाँ विवाह हुन समस्या भएका उदाहरण छन्।

यसैगरी भिडियोमा ‘क्याट कलिङ’जस्तो अपराधविरुद्ध आवाज उठाउन सिकाएको वा सिकाउन प्रयास गरेको देखिन्छ। पसलको छेउमा उभिएको केटाले केटीहरूलाई आँखा झिम्काएर जिस्काएको छ। अफसोस, यस प्रसंगलाई भिडियोमा केटाकेटीको खेलका रूपमा प्रस्तुत गरिएको छ। यस्तो अपराध कैयन् स्कुल जाने बालबालिकामाथि पनि हुने गर्छन्। यस्तो हिंसा भए महिलाले केकस्ता कानुनी उपचार लिन सक्छन् वा बालिकाले ‘क्याट कलिङ’को सिकार भएको सुइँको पाउने तरिका र यसविरुद्ध आवाज उठाउनेबारे सिकाउनु जरुरी छ। कतिपय बालिकालाई आफू यस्तो अपराधको सिकार भइरहेको छु भन्ने पत्तोसम्म हँुदैन, किनकि हाम्रोमा त्यो स्तरको शिक्षा र चेतना पु¥याउन सकिएको छैन। हालैका दिनमा यस विषयमा सामाजिक सञ्जालमा केही सहरिया उच्च वर्गका महिलावादीले चर्चा गर्न थालेका छन्। तर, यस विषयमा गहिरो बहस हुन सकेको छैन। यस्तोमा केटाको पाइन्ट तानेर प्रतिरोध गर्नुभन्दा कानुनी उपचार गरेको दृश्य छायांकन गरिएको भए बढी सही हुन्थ्यो, किनकि यस्ता अपराध झुन्डझुन्डमा पनि भेटिन्छन्।  

भिडियोमा एउटा संवाद छ, भर्जिनिटी (कुमारित्व) लाई लिएर। बिहेको कुरा चलाउन आएको केटाले केटीसँग भर्जिनिटीको प्रश्न गर्छ। कुमारित्व पुरुषवादको एक अहं प्रश्न हो र यो भयानक मिथ हो। यसले पुरुषको ‘कुमारत्व’माथि त्यति प्रश्न गर्दैन। यस गीतको भिडियोमा पनि पुरुषले कुमारित्वको प्रश्न गर्छ र आफूले दुईचारजना केटीसँग ‘सम्बन्ध’ राखेको कुरा ऊ गर्वसाथ भन्छ। यस सन्दर्भमा महिलाले आफ्नो यौन जीवन र कुमारित्वको विषयमा तर्कसंगत कुरा राख्ने अवसर थियो। तर, भिडियो यहीँनेर चुकेको छ।

केटीको चासो आफ्नो असुरक्षाप्रति हुन्छ। केटाले आफूले दुईचारजना प्रेमिका छाडेको कुरा राख्दा केटीले ‘मलाई पनि छाडिस् भने ?’ भन्ने प्रश्न तेस्र्याएर असुरक्षित भाव व्यक्त गर्छिन्। पुरुषले महिलालाई मात्रै होइन, महिलाले पुरुषलाई पनि छाड्न सक्छन्। सम्बन्ध विच्छेद वा छाड्ने कुरा र कुमारित्वको प्रसंग बेग्लै हो, यसमा बहस हुनु जरुरी छ।भिडियोमा केटीको केटा साथी हुँदाहुँदै पनि उसलाई यति कमजोर देखाइएको छ कि उसले बिहेका लागि अर्को केटासँगको ‘मिटिङ’लाई नकार्न सक्दिन।

गीतमा एउटा पंक्ति छ, ‘सकेसम्म श्रीमानले जाँडरक्सी नखाओस्, कहिलेकसो खानैपरे मलाई पनि चखाओस्।’ अवस्था यस्तो पनि हुन सक्छ, श्रीमान्ले मदिरा, माछामासु नखाने र श्रीमतीले खाने। अथवा, यसको ठीक विपरीत जोडी पनि हुन सक्छ। यस्ता कुरामा एक खालको समझदारी हुनुपर्छ। प्रश्न यो हो कि स्वास्थ्य बिगार्ने गरी, एकअर्कालाई असहज वा धोका हुने गरी र विवेक गुमाएर हिंसा गर्ने गरी मदिरा कसैले खानुहुँदैन। माथिका पंक्ति त मदिरा खाने हक पुरुषलाई मात्रै छ र पुरुषले नै महिलालाई चखाउनुपर्छ भनेजसरी व्यक्त भएका छन्। पुरुषलाई नै माथि राख्ने र पुरुषकै भर पर्ने परम्परा र प्रवृत्तिबाट माथि उठ्नु आवश्यक छ।

गीतमा अर्को क्रान्तिकारी पंक्ति छ, ‘हाम्रो जीवन हाम्रो विचार हाम्रै हुन्छ राइट, आफ्नो राइट्स पाउनलाई गर्नुपर्छ फाइट। बुढो हेप्ने पर्‍यो भने को सहन सक्छ ? त्योभन्दा त हेर मनमाया सिंगल लाइफ रक्स छ।’

यी पंक्तिले महिलाको अधिकार स्पष्ट बोलेको छ। तर, भिडियोमा देखाइएका दृश्यले यसलाई पुष्टि गर्न नसकेको भान हुन्छ। हिंसा हुँदा कानुनी उपचार गर्न सकिन्छ। त्यस्तै, हेप्ने वा हिंसा गर्ने श्रीमान्बाट सिंगल हुनु भनेको सम्बन्ध विच्छेद हो। तर, यो कुरा भिडियोमा खुलेको छैन, खुलाउन सकिन्थ्यो। नसक्नु कमजोर पक्ष हो।

यो गीत समग्रमा तारिफयोग्य र एक कदम अग्रगामी हुँदाहुँदै पनि सायद जबसम्म महिला र अन्य सीमान्तकृत लिंगको कुरा, कथा, मान्यता, भोगाइ पुरुषले पेस गरिरहने वातावरण हुन्छ, तबसम्म यो समस्या जहाँको तहीँ रहिरहन्छ।आउने दिनमा यस्ता मुद्दामा सचेत हुन खोज्ने सर्जकले महिलाको आफ्नो शरीरमाथिको हक, महिलाको स्वतन्त्रता र स्वायत्तता, तथा लैंगिक र यौनिक अल्पसंख्यक समुदायबारे राम्रोसँग ‘कुरा बुझ्नुपर्छ’।

हुन त एउटा गीतमा सबै मुद्दा उठाउन वा समेट्न सकिँदैन तर उठाइएको विषय जायज हुनुपर्छ भन्ने कुरा अहम् हो।

प्रकाशित: ५ भाद्र २०७८ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App