१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सन्तुलन

लघुकथा

बालकृष्ण गजुरेल 

पीडामा धेरै मान्छे रोए तथा कराए। सर्वस्व गुम्दा पीडा कस्लाई नहोला ? मान्छेको प्राकृतिक गुण नै हो । तँछाडमछाड गरेर कमाएका श्रीसम्पत्ति क्षणभरमा सकियो। तैपनि स्वार्थी जीवनको रहस्य कसैले बुझेन। आर्थिक सहयोगका लागि धेरै तदर्थ समिति गठन भए। म चुप बसेँ । आफ्ना संग्ला हातखुट्टा छँदै थिए। मेहनत गर्न रोकिएको थिएन।

धनसिंह तामाङले बाटोमुुुिनबाट अचानक बोलाए। तलैबाट हालखबर सोधे । कहिलेकाहीँ खेत जोत्दिए पनि मानवताको नाता रगतको भन्दा गाढा थियो। उनले सम्झाउँदै भने, “हेर जेठा, साहित्यकार जास्तो मान्जे भाएर किन चुप बस्छ ? चिनेजानेका आफन्तको सहयोगले पुनी जीवन जुरुक्क उठाउन सक्छ ।”

उनको सल्लाह मुनासिव थियो। उनलाई विश्वस्त पार्दै भनेँ, “आफैँ उठ्न सकियो भने दुनियाँको तागतले पुनः झुकाउन सक्दैन धनसिंह दाजु।”

“सास छउन्जेल आश भन्छन् जेठा। भोटका लागि मात्र नेताहरू गाउँमा धाउँदो रहेछ। खासै केही गर्लान् जस्तो छैन। धन्न ! कोरोनाको कारण मार्नु परेको छैन।” धनसिंह तामाङले आफूजस्तै जवाफ फर्काए।

मैले धनसिंह तामाङलाई विश्वास दिलाउँदै भनेँ, “मेलम्ची नदीमा आएको बाढीपहिरो, भूक्षय एवं कोरोना महामारीहरू प्रकृतिले सन्तुलन मिलाउन प्रयोग गरेका माध्यम हुन्। प्रकृतिले झैँ  सन्तुलन बनाइराख्नुपर्छ। यो संसार जित्नेहरूका लागि बनेको हो।”

प्रकाशित: २ भाद्र २०७८ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App