१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

राष्ट्रकविको सम्झना

पत्नीको सम्झनामा

बहत्तर हिउँद बहत्तर वर्षा बितायौँ साथमा।  

गर्दथेँ सदा सुस्वास्थ्य अनि मंगलको कामना।।  

बालकै थिएँ अबोध थिएँ दिलकी रानी मै।  

छोडेर आखिर गयौ नि प्यारा एकली  

भएँ मै।।  

 

पत्नीको वियोग आँसुमा झारी सुनौला पानामा।  

गौरीको शोक घरघरै पुग्यो विरही गानामा।।

छोरी थे दुई तिनलाई दिएँ आमाको ममता।  

अचम्म लाग्थ्यो देखेर उनको लेखनी क्षमता।।

 

दुःखको महा भूमरी झेली कलम चलाए।

कलमबाटै सुन्दर शान्त नेपाल बनाए।।

पहिलो श्रोता बनेर उनको म गर्व गर्दथेँ।

आठवटा सन्तान सबैको दिल प्यारले भर्दथेँ।।

 

भनेनन् कहिले बूढो भो ज्यान सिर्जना गर्दिनँ।

भन्दथे उनी देशलाई बोक्न म पछि पर्दिनँ।।

सूर्यका शान्त किरणसँगै बादलको पारीमा।  

आउँला छिटै बोकेर जल सुनको झारीमा।।

 

परिवारको सम्झनामा :

मैमिरे मिच्चे म्या म्या ब्रक भनेर खेल्दथ्यौँ।

बुवाको काखमा बसेर भोक प्यास नै भुल्दथ्यौँ।।

कहिले हात्ती कहिले घोडा बुवालाई बनाई।

बिते ती दिन रमाइलो साथ आँगन सजाई।।  

 

छोरा र छोरी होइन हामी हुर्कियौँ  

सन्तान भै।  

दुःखमा पनि रोकेनन् शिक्षा सबैले  

पायौँ है।।  

समान हक अधिकार पाई थियौँ नि फुरुंग।  

त्यो देह अब छैन नि प्रभु मन हुन्छ भुरुंग।।

 

सहरी बास जहान ठूलो गाह्रो थ्यो धान्नलाई।

सिद्धान्त उन्को विरोध गथ्र्यो असत्य मान्नलाई।।  

बाँडेर खाने, सानालाई माया, ठूलाको मर्यादा।

सन्तान सुखी रहून् है भन्ने उनको इरादा।।  

 

गल्तीमा पनि पिटाई होइन तर्कले सम्झाउँथे।

यिनमा ज्ञान कमी भो भनी प्यारले बुझाउँथे।।

मन्दिरसरि बनाए घर मायाले बेरेर।  

गर्दथे काम पहिल्यै नक्सा मुटुमा केरेर।।

शान्त मन सकारात्मक सोच उनले रोजेका।  

मानवीय मूल काव्यद्वारा फुटाउन खोजेका।।

हामीले यस्तै देखेर आयौँ हुर्कियौँ यसैमा।

भाइ र भाइ मिलेर हिँडे भलो छ त्यसैमा।।  

 

बुवा नै गुरु गायत्री मन्त्र सन्तानलाई सुनाई।

छोरा र छोरी एक हुन् भन्ने बुवाको बुझाई।।  

ढले नि देह छन् उनी हामी सबैको रगतमा।  

आत्मामा उनी मुटुमा उनी यो ठूलो जगतमा।

 

नेपालीको सम्झनामाः  

छोडेर देश नेपाल कवि गयौ नि कुन् ठाउँ।

मेटिनेछैन धर्तीमा प्रिय हे कवि ! तिम्रो नाउँ।।

दुःख र कष्ट झेलेर पनि छोडेनौ लेखन।

भोलिको सपना सकेका तिमीले कसरी देखन।।

 

कल्पनालाई जीवन दिई साकार बनायौ।

लोकका गीत लेखेर सुन्दर प्रकृति डुलायौ।।

अमूल्य धन छाडेर गयौ, लगेनौ केही पनि।  

छैनौ है तिमी लाग्दछ अहो हो कि त सपनी।।

 

गौरीको शोकमा डुबेर आँसु सबैको झर्दैछ।  

मानवता यहाँ रोपेर गयौ बोट त्यो सर्दैछ।।  

दासीले पनि शिर उचो गरी बाँच्छन् कि अब त।  

मालती मंगले साथै होलान् मिटाई  

त्यो खत।।

 

राष्ट्रलाई दिलमा राखेर हिँड्ने कविको कलम।  

शान्ति र विश्व बन्धुत्वमा लाउने छ मलम।।

राष्ट्रको गान गायौ नि कति राष्ट्रलाई उठाई।  

हरेक हरफ मन्त्र भै बोल्छन् पाठ नै पढाई।।

 

छौ कवि तिम्रै सिर्जनाभरि पृथिवी भरमा।

कविता गीत काव्यमा फैली रहेछौ धरामा।।

हे कवि प्यारा अमरापुरीमा गर्नु है आराम।  

लेख्नु लेख्यौ शताब्दीसम्म गर हे विश्राम !!

प्रकाशित: ३० श्रावण २०७८ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App