२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

जङ्गे पिल्लरहरू

कविता

टीएन भट्ट ‘विश्वामित्र

 

घरको छानाबाट देश देखिन्न साहिँला !  

देश देख्न श्रीअन्तुमा उभिनुपर्दछ

र सोध्नुपर्छ जङ्गे पिल्लरहरूलाई —

देश जोगाउँदा तिमी कतिचोटि ढल्यौ,

पुरियौ र बेपत्ता भयौ?’

कालापानीलाई सोध्नुपर्छ—

कहाँ बगेको थियो आदिवासी रगत ?’

मानेभन्ज्याङ्लाई सोध्नुपर्छ—

कहाँ खोसिएको थियो पुङ्बाजा ?’

माइतीघरमा उभिएर तिमी

राष्ट्रियताको कुरा गर्छौ  

बालुवामा त हुटिट्याउँ पनि उभिन्छ

तर देश बचाउन सुस्तामा उभिनुपर्छ

किमाथाङ्कामा उभिनुपर्छ  

जङ्गे पिल्लरजस्तै  

आँखामा देश अनि मुटुमा राष्ट्रियता बोकेर।

 

तिमी गुगलमा इतिहास खोज्छौ

फेसबुकमा वीरता बाँड्छौ

तर यी जङ्गे पिल्लरहरूमा  

अमरसिंहहरूको डिएनए भेट्दैनौ?  

जङ्गे पिल्लरको रङ

देशको रङजस्तै हुन्छ

फरक भाषामा एउटै देश बोल्छ

फरक जातमा पनि एउटै जात बन्छ  

फरक स्थानमा उभिएर

एउटै नक्सा बोक्छ

देशको नक्सा !

सिमानामा हेर

जङ्गे पिल्लरहरू देउडा गाउँछन्

होली खेल्छन्  

बजाउँदै ढोलक

धान नाच नाच्छन्

लौरौ बजाउँदै होरिया गाउँछन्

पालम गाउँछन्

तुङ्गा बजाउँछन्

सनाही बजाउँदै  

देश गाउँछन्

साहिँला !

अब ढिलो नगरी

खाडीमा उभिएका पिल्लरहरू पनि

देशभित्रै उभिनुपर्छ  

हरेक नेपाली एउटा जङ्गे पिल्लर बन्नुपर्छ।

प्रकाशित: २२ श्रावण २०७८ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App