रचना शर्मा
“बिरामी नम्बर बत्तीस मानबहादुर कार्की !”
आफ्नो नाम बोलाउनेबित्तिकै मानबहादुर डाक्टरको चेकजाँच कक्षमा गएर कुर्सीमा बसे।
डाक्टरले सोधे – “के हुन्छ तपाईंलाई ?”
“हजुर मलाई रातभरि निन्द्रा लाग्दैन।”
“पानी कत्तिको पिउनुहुन्छ ?”
“पानी त पिउँछु हजुर। जम्बो कोकको बोत्तलको दुई बोत्तल रित्याउँछु ।”
“भोक कत्तिको लाग्छ ?”
“भोक पनि लाग्छ। समयमै खान्छु। अरू सबै ठिक छ। रातिमा निन्द्रा लाग्दैन। यत्ति हो मेरो समस्या।”
“घरमा कोको छन् ?”
“छोरा, छोरी र श्रीमती छन् ।”
“मोबाइल कत्तिको चलाउनुहुन्छ रातिमा ?”
“धेरै त चलाउन्न हजुर । म निदाउँदिन भनेर श्रीमतीले खोसेर राखिदिन्छिन् ।”
“ल, यो औषधि लेखिदिएको छु । औषधि पाउने पसलको नाम पनि तल लेखिदिएको छु। किनेर लैजाने, राति खाना खाएपछि दिनको एक भाग मात्र ओछ्यानमा बसेर पढ्ने। यसले काम गरेन भने अर्को औषधि लेखिदिउँला। पहिला यसैले विचार गर्नुस्।”
“कस्तो औषधि हो डाक्टर सा’ब यो ? खाने औषधि लेख्दिनुस् न ?”
“भन्दै त छु नि ! यसले काम गरेन भने फेरि आउनुस् अर्को लेखिदिन्छु।”
डाक्टरले लेखिदिए अनुसारको पसलबाट मानबहादुरले औषधि लिएर गए। खाना खाएपछि सुरुको भाग पूरा पनि पढ्न नभ्याउँदै उनी घुर्न थाले।
– नारायणगढ, चितवन।
प्रकाशित: २२ श्रावण २०७८ ०५:३८ शुक्रबार