राष्ट्रकवि कुञ्जको मूलद्वारबाट प्रवेश गर्नेबित्तिकै प्रायः सबैको आँखा जाने ठाउँ हो— करिब ४० वर्ग फिटको गुलाफै गुलाफले भरिएको क्षेत्र। राष्ट्रकविको शयन कक्षको दक्षिणी झ्यालको ठ्याक्कै तल रंगिविरंगी गुलाफले भरिएको त्यो क्षेत्र सबैका लागि एकछिन सबै कुरा बिर्सिएर प्र्रकृतिको लीलामा चुर्लुम्म डुब्ने अवसर बन्दो हो। राष्ट्रकवि (मेरा बुवा)को दैनिकीको एक अंश प्रातः भ्रमणको बिट मार्नुअघि सधैँ करिब १०–१५ मिनेटजति त्यही गुलाफको बगैँचाअगाडि उभिएर एकटकसँग एउटा गुलाबी गुलाफलाई हेरिरहनु थियो। उहाँ यस धर्तीमा रहुन्जेल मलाई त्यसको खासै चासो रहेन। आमा पनि ‘अब बुवाको हिँड्ने काम सिद्धियो, माथि उक्लने बेला भयो’ भनी चियानास्ता आदि तयारीको निगरानी गर्न थाल्नुहुन्थ्यो।
हामी केटाकेटी बुवाको एक दृष्टिलाई खलल पार्न डराउँथ्यौँ। उहाँसँग केही काम परे पनि व्यग्रताका साथ कुद्थ्यौँ मात्र। बुवाको ध्यान भंग गर्नु हुँदैन— हामी त्यति जान्दथ्यौँ। तर किन ? त्यसको जवाफ मसँग थिएन र मजस्तै अरू दिदी बहिनी र भाइसँग पनि थिएन होला। मैले एक दिन बुवाले एकटकसँग हेर्ने त्यही गुलाबी गुलाफ मेरो घरको छतबाट देखेँ। बुवा त यस धर्तीमा रहनुभएन, तर उहाँका हरेक गतिविधि हाम्रा मन–मस्तिष्कमा टाँसिएका छन्। उहाँ रहुन्जेल कतिपय गतिविधि त्यति अर्थपूर्ण नलागे पनि अहिले आएर अर्थ केलाउने इच्छा हुन्छ। बुवा किन गुलाबी गुलाफप्रेमी हुनुहुन्थ्यो त?
सायद बुवाले गुलाबी गुलाफमा रातको उकुसमुकुस अँध्यारो छिचोलेर पूर्व क्षितिजको लाली अलिकति सुटुक्क चोरेर गालामा पोतेकी नवयौवना, प्रथम प्रेमिका दिवंगत पत्नी गौरीको प्रतिविम्ब देख्नुहुन्थ्यो। उहाँसँग छोटै समयका लागि भए पनि विधाताले बाँधिदिएको सम्बन्धप्रति कृतज्ञता व्यक्त गर्नुहुन्थ्यो होला। स्वाभाविक तरिकाले रस निष्पत्ति हुनु सिर्जनाकारका लागि अहोभाग्य हो। हुन त बुवाले प्रथम पत्नी गौरीलाई वरण गर्नुअघि नै कविता क्षेत्रमा हात हालिसक्नुभएको थियो, तर ‘गौरी शोक काव्य’जस्तो उचाइको काव्य सिर्जना गौरीसँग विछोड नभएको भए हुँदैनथ्यो होला। विछोड पक्कै पनि राम्रो होइन। गौरी सशरीर यस धर्तीमा लामो समय रहनुभएन तर काव्यमार्फत उहाँ अमर हुनुभयो। बुवा पनि एक प्रतिष्ठित कवि हुनुभयो। जनजिब्रोको कवि बन्नुभयो। यसैले उहाँ गुलाफमा गौरी भेटेर आँखाले टिपी प्रेमिल मुटुको द्वार खोली त्यहाँ भित्र्याउनुहुन्थ्यो होला। आज गौरी हुनुहुन्न, बुवा हुनुहुन्न तर ‘गौरी काव्य’ त छ!
मूर्तिवत् मन्त्रमुग्ध भएर गुलाफलाई हेरिरहँदा कुनै वेला बुवालाई नमिठोसँग चसक्क घोँच्दो हो। बुवा गुलाफमा आफ्नो प्रतिच्छाया देख्नुहुन्थ्यो होला। प्रत्येक आँख्लाआँख्लामा चोस्सिएका तीखा काँडालाई पछाडि पार्दै आखिर गुलाफ त फक्रिएरै छाड्छ। बुवाको जीवनरूपी गोरेटो पनि कहाँ मखमली थियो र ? गुलाफको डाँठको प्रत्येक आँख्लामा चुच्चिएको काँडाले जीवनमा भोग्नुपरेका अप्रिय, असहज परिस्थितिको सम्झना गराउँथे होला। असमयमै मातृविहीन हुनुपरेको अव्यक्त पीडा, मौसम अनुसार आफ्ना गोठाले बाबुले लेक र ‘बेसी’ सार्ने गोठको पछि पशुवत डोरिनुपर्ने बाध्यताले कम मुटु छेडेन होला। घर छाडेर पढाइका लागि हिँडेपछिका कष्टकर पल, औषधोपचारकै अभावमा किशोर वयमै दुई नाबालिकासहित प्रथम पत्नीसँगको विछोडले पनि कम मुटु घोँचेन होला। आफूभन्दा सत्र वर्ष कान्छी द्वितीय पत्नी र दुई छोरीबीचको त्रिपक्षीय सम्बन्धको सन्तुलन मिलाउनु पनि कम चुनौतीको विषय थिएन।
दोस्रो सम्बन्धले जुराएको छ, सन्तानको व्यवस्थापनको जिम्मेवारी कहाँ सजिलो थियो र ? त्यो पनि काठमाडौंमा विनापैतृक सम्पत्ति अनि लेखन पेसाले। आँख्ला आँख्लाका चुनौती सामना गरेर गुलाफ फक्रिएझैँ आफूले पनि जीवनका अप्ठेरा खुड्किला पार गर्दै गुलाफ जस्तै फक्रन पाएकामा दंग हुनुहुन्थ्यो होला बुवा! आफ्नै मेहनतका पसिनाले चर्चेको घर, एकसे एक स्वावलम्बी सन्तान, समाज, देश र विदेशसम्म मान–मर्यादा र प्रतिष्ठा, मान–सम्मानपत्र आदिले खचाखच भरिएको एउटा पूरै कोठा - जीवनमा यसभन्दा बढी के चाहिन्छ र ? बुवालाई लाग्दो हो, जीवन उबडखाबड गोरेटो मात्र कहाँ हो र यो त आफ्नै अनवरत मेहनत, परिश्रम, लगनशीलता, धैर्य र सकारात्मक सोचले हुर्काइएको सुकोमल, मनोहारी नयनाभिराम फूल हो । ईश्वरको वरदान हो । बाँचुन्जेल यसलाई भरपुर जिउनुपर्छ।
बुवा आफ्नो त्यही प्रिय गुलाफलाई एकटक हेरिरहनुहुन्थ्यो। धनुर्विद्यामा पारंगत हुन अर्जुनले गरेको एकाग्रताको अभ्यास र गुलाफको फैलने र फुल्ने प्रक्रियमा तालमेल जोड्न खोज्नुहुन्थ्यो होला। अर्जुनले आफ्ना इसारामा द्रोणाचार्यको एक प्रश्नको उत्तरमा भनेका थिए - मैले केवल चराको आँखा मात्र देखेको छु। उनले न विशाल वृक्ष देखे, न हाँगो, न त हाँगामा बसेको चराको पूरा शरीर नै देखे । उनले त केवल आफ्नो लक्ष्य चराको आँखा मात्र देखे। विशाल फैलावटबाट समेटिँदै आफ्नो लक्ष्यमा कसरी केन्द्रित हुने त्यसको अभ्यास गरेरै अर्जुन अर्जुन बने। गुलाफ पनि भूमिमा जोडिएको आफ्नो जडबाट कति पनि नहटीकन हुर्केर बढेर फूलेर सुवास छाड्छ र आफ्नो धर्म पूरा गर्छ। बुवा एक कवि, उहाँको उद्देश्य - राम्रा राम्रा रचना गर्नु, आफू तृप्त हुनु, अरूलाई तृप्ति दिनु। यसैले सिर्जनाका लागि चाहिने एकाग्रताको अभ्यासका लागि सुकोमल, बास्नादार फक्रेको फूलजस्तो प्रेरक अरू के हुन सक्ला ? यसैले बुवा केटाकेटीले भरिएको माहोलबाट आफूलाई अलग पारेर सिर्जनशील सिंहासनमा विराजमान हुनका लागि पूर्वतयारी स्वरूप सुकोमल फूलको दर्शन र बास्नाको आश्वादन गर्नुहुन्थ्यो। यसले सिकाएको एकाग्रताको पाठ राम्ररी मनन गर्नुहुन्थ्यो।
अभावका कथा व्यथालाई एकछिन पर सारेर सुगन्धित सुकोमल फूललाई आँखभरि, छातीभरि र मुटुभरि टाँसेर कलमको बिर्को खोली कापीका खाली पत्र भर्नुहुन्थ्यो। यसैले होला, उहाँका रचना पनि फूलका पत्रजस्तै तहतह मिलेका, चिटिक्क परेका शब्द र भावको तालमेल मिलेका सुललित र चित्ताकर्षक हुन्छन्। उहाँका लागि घरकै एउटा कोठा साहित्यरूपी भूमण्डलीय गोला हुन्थ्यो र उहाँ गुनगुनाउँदै ध्यान मग्न भएर खान समेत बिर्सिएर त्यही गोलामा विचरण गरिरहनुहुन्थ्यो।
अलौकिक सत्ताप्रतिको आकर्षण र अनुराग सायद उहाँ त्यही गुलाफको माध्यमबाट अनुभूत गर्नुहुन्थ्यो। सम्पूर्ण सृष्टिको आधार अव्यक्त सत्तासँगको मोह उहाँमा किशोरावस्थादेखि नै पलाएको हो। पारलौकिक आनन्द प्राप्तिका लागि अभ्यासरत आफ्ना बूढा ससुराका अनुयायी बन्नुभयो। जोगीको पछि लाग्नु अनि काठमाडौंमा एकताका शिवपुरी बाबाकहाँ धाउनु आदिले यही इंगित गर्छन्। उहाँले समय समयमा आफूमा अलौकिक ज्योति उत्पन्न हुने तर त्यसलाई नियन्त्रित गर्न नसकी पीडादायक बनेको गुनासो गर्नुभएको हामीले सुनेका थियौँ। उहाँले घरबार त्यागी पट्टल कसेर उक्त शक्तिको आराधना र खोजी गरिरहन पाउनुभएन तर उक्त साधना र आराधनालाई उहाँले आफ्नो काव्य साधनामा लगाउनुभयो। निर्गुण तथा सुफी काव्य धारामा भएको रहस्यवादको केही छनक बुवाका काव्य कृतिमा पनि पाइन्छ। प्रायः लौकिक भाषामा व्यक्त गर्न नसकिने रहस्यवादी भावनाको अभिव्यक्ति बुवाले लौकिक प्रतीकको सहारा लिएर सरल ढंगले व्यक्त गर्नुभएको छ। बुवा गुलाफ हेरिरहनुहुन्थ्यो, एकटकसँग। गुलाफको प्रत्येक दलभित्र समाहित रहस्य उद्घाटित गर्न प्रयत्न गर्नुहुन्थ्यो। अलौकिक सत्तासँगको मिलनको मधुर आनन्द महसुस गर्नुहुन्थ्यो । यसैले उहाँका रचना व्याख्यात्मक नभएर प्रतीकात्मक हुन्छन्,अभिधात्मकभन्दा लक्षणात्मक र व्यञ्जनात्मक हुन्छन्। यसैले कविताले रहस्यात्मक धर्म वहन गरेका हुन्छन्।
सायद बुवाले त्यो फूललाई केवल एउटा कविको आँखाले हेर्नुहुन्थ्यो। प्रतीकात्मक भाषा प्रयोग गर्न एसिया र युरोपका कतिपय देशले फूलको पहिचान गरेका छन्। सोच्न सकिने जति प्रायः भाव फूलको माध्यमबाट व्यक्त गर्न सकिन्छ। बुवा पनि फूललाई एकटक हेरेर आफूमा आएका भाव व्यक्त गर्ने बाटो पहिचान गर्ने अभ्यास गर्नुहुन्थ्यो। बुवाको गुलाफ बगैँचामा सेतो, पहेँलो, रातो, कलेजी आदि रङका गुलाफ थिए। तर किन बुवाले गुलाबी गुलाफ नै रोज्नुभयो ? गुलाबी रङले खुसी, मनोहारिता र लालित्य दर्शाउँछ, निर्दोषिता र निश्चलता पनि प्रकट गर्छ। हर्ष, आनन्द र आदरभाव प्रकट पनि यही रङद्वारा गरिन्छ। शुद्धता, शक्ति र जवानीको प्रतीक पनि गुलाबी रङ नै हो। यसैले होला, गुलाबी गुलाफ नै बुवाको प्रिय भएको, पहिलो रोजाइ भएको। उहाँले आफूमा कहिले पनि बुढ्याइँ आएको अनुभव गर्नुभएन। बुवा प्रत्येक बिहानीलाई नयाँ बिहानीका रूपमा आत्मसात गर्दै सकारात्मक भावले परिपूर्ण भएर नयाँ जोस र जाँगरका साथ काव्यरूपी समुद्रमा पौडी खेल्न थाल्नुहुन्थ्यो। आजभोलि पनि त्यो फूल त्यसरी नै फक्रिएको छ। कोपिला लाग्नु, फुल्नु, फक्रनु, सुवास छाड्नु, ओइलिनु, झर्नु अनि फेरि कोपिला लाग्नु र त्यही चक्र पछ््याउनु यसको धर्म हो। यो यसले पूरा गरेको छ। प्रत्येक वर्ष यो यसरी नै यही चक्रमा हिँड्छ।
गुलाबी गुलाफ प्रेमी बुवाले पनि यस धर्तीमा जन्म लिएर फुलेर, फक्रिएर सुवास छाड्नुभयो। गुलाफको फूलजस्तै हाम्रै आँखाअगाडि यसै मृत्तिकामा विलीन हुनुभयो। सायद बुवा पनि आफ्नै प्रिय गुलाफजस्तै जीवनमरणको चक्रमा प्रवेश गरिसक्नुभयो होला। उहाँको साहित्यको लाभांशी यस लोकका मनुष्यजन भए। हामीले उहाँका सन्तान हुने गौरव पायौँ। अब उहाँले फैलाउने सुवासको लाभांशी यस लोकका मनुष्यजन नभए पनि अन्त कतैका कोही त अवश्य हुन्छन् होला। उहाँको सन्तान हुने गौरव अरू कसैले पाउलान्। छतबाट गुलाफ हेरिरहँदा बुवा नै गुलाफमा समाहित भएजस्तो लाग्यो। हावाले गुलाफको थुँगो हल्लियो। बुवाले मलाई नै हेरेर हात हल्लाएजस्तो लाग्यो। मैले पनि दुवै हात उचालेर हल्लाएँ। अनि गहिरो निश्वास छाड्दै भनेँ– बुवा !
(अधिकारी राष्ट्रकवि माधव घिमिरेकी छोरी हुन्।)
प्रकाशित: ९ श्रावण २०७८ ०३:३६ शनिबार