रञ्जुश्री पराजुली
‘चलनचल्ती अनुरूप चल्नै पर्छ,नचले खुट्टा तानेर लडाउँछन् । सबैले आफ्ना चम्चा पालेका छन् । आफूले पनि त त्यसकै सिको गर्नु पर्यो नि ! नत्र आफू बस्ने घुम्नेमेचको खुट्टा भाँचिन्छ बुढी’ अफिसबाट घर आएपछि माननीय र श्रीमती बीच यस्तै संवाद हुन्छ।
श्रीमानको नजर झन् ठुलोतिर पुगेकोमा श्रीमतीलालिई चिन्ता लाग्छ। भोलिका दिन के हुने हो भन्ने त्रासले सताउने मात्र होइन परत्र पनि बिग्रला कि भन्ने पीर लाग्दछ। आफ्ना श्रीमान् मात्र त्यस्ता होइनन् , उनका समस्त सहकर्मी त्यस्तै छन्। उनीहरूको प्रवृत्ति नै मौकमा चौका पार्ने छ तर उनीचाहिँ आफूहरू जस्ता प्रायः सबै चाडै नै टुप्पोबाट पल्हाएर झाँगिएको स्विकार्छिन्।
टुप्पोबाट पल्याएर झरेका बियाहरूको जरा मजबुत हुन पाउँछ कि पाउँदैन भन्ने उनलाई चिन्ता लाग्छ ,आफ्ना सन्तानहरू !
एकदिन श्रीमान् अफिसबाट घर आउँदा डन आकृतिका केही लाठेतहरू पनि सँगै लिएर आए। बैठक कोठामा ठुला, साना, तीता, मिठा पेय पदार्थका बोत्तलहरू टल्कने कृष्टलको गिलासमा भरिए। स्वादिला सित्तनहरू रिकापीमा सजिए।
माननीय उनीहरूलाई ‘तपाईहरू आफ्नै घर सम्झेर खानुस्, पिउनुस् र रमाइलो गर्नुस्। संकोेच मान्नु पर्दैन’ भन्दै आफू पनि गिलास भर्न थाले।
मुन्द्रे डनले भन्दै थियसो, ‘सर! खहरे खोलाको त्यो बृहत् विद्युत् परियोजनाको टेन्डर मैले पाउनुपर्छ है। त्यसका लागि पन्ध्र प्रतिशत कमिसनका साथै पुतली बस्तीमा बन्दै गरेको हाउजिङ पाँच आना जग्गामा बन्दै गरेको साढे दुई तल्ले अत्याधुनिक बङ्गला हजुरलाई टक्रयाउँछु।
‘त्यो त ठिक छ। त्यसमा मेरो आपत्ति छैन तर मभन्दा तल्ला कुर्सीका लागि पनि त विचार गर्नुपर्छ नि?’
‘त्यसको पनि व्यवस्था भैसकेको छ। उहाँको छोरालाई डाक्टरी पढ्न मेडिकल कलेजमा सिट छुट्याइसकेको छ , नजरानाको रूपमा।’
‘राम्रो गरेछौ !तिम्रो सबै काम पक्का भयो भन्ने सम्झेर ढुक्क होऊ अब।’
–आफूसँगै आएको जिउभरि टाटु खोपेको ठिटालाई औल्याउँदै, ‘यो मेरो हितैषी मित्र हो। यो मार्सल आर्टमा दक्ष छ। हजुरको सुरक्षाका लागि ल्याएको हो मैले यसलाई। अब बन्ने तीनवटा नगरपालिकाका पक्की पुलहरूको टेन्डर यसको नाममा पारिदिनुस् है सर। त्यसका लागि हजुर्को माग जति भए पनि यसले पूरा गर्छ।
लर्खरिएको आवाजमा ‘हुन्छ – हुन्छ , तिमी चिन्ता नगर। केकेमा मेरो सहीछाप चाहिएको हो। ल्याऊ म अहिले नै गरिदिन्छु’ भन्दै ढुन्मुनाउदै गिलास भर्न थाले।
प्रकाशित: ९ श्रावण २०७८ ०२:०६ शनिबार