१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

इज्जत

लघुकथा

नवराज शर्मा  

 

ऊ जन्मिदा  आमाले नानाथरी  वचन सुन्नु परेको थियो।  भाइ जन्मेपछि आमा सबको हाईहाई  हुनुभयो। हजुरआमाले भन्नुभो– बुहारीले कुलको इज्जत  राखी।

ऊ कलेज जाने भई । स्कूल जाउन्जेल कसैलाई त्यति वास्ता थिएन। अब उसका घरका सबैलाई पीर पर्न थाल्यो। कतै केही बिगार  त हुने होइन अनि उसले  गुलाफी सपना त्यागिदिई र घरकाले रोजेको केटोसंग बिहे गरी। आमाबुबाको इज्जत राखी।

बिहेमा आएका दाइजोका सामान, परेका गरगहना र सम्धी भेटमा आएका  लुगाकपडा र गहना देखेर सासू मक्ख हुँदै ऊतिर फर्केर भन्नुभएको थियो– इज्जत राखे।

एकदिन साथी भाइसंग डुल्न जाने कुरा हुँदा उसको लोग्नेलाई फुर्सद नभएकाले स्वीकृति पाइन। साथीहरू छन् भन्दा उही  इज्जत  बिचमा आयो। अर्को पटक धेरै कर गरेपछि बल्लबल्ल स्विकृति पाइयो। लोग्नेले भने– अलि होस् गरेर हिंडे।

उमेरले गर्दा सोझै भन्न अप्ठ्यारो लाग्यो होला– इज्जत  राखेस् !

हेर्दाहेर्दै उसकी छोरी पनि हुर्की। स्कुल जाने भई। उसले भनी– इज्जत राखेस्।

छोरी उत्तीर्ण भई।

ठुली भई। खेलकूदमा भाग लिने भई। उसले भनी– इज्जत राखेस्।  

छोरी अब्बल भई।

उमेर भयो। केटाको कुरा आउन थाले। एकदिन उसले छोरीलाई बोलाएर केही सोधी अनि भनी– इज्जत राखेस्।

छोरीले सोधी– कसको इज्जत राखूँ आमा ?

उसले भनी–मैले जिन्दगीभरि आमाबुवा, सासूससुरा, लोग्ने र घरपरिवारको इज्जत राखें। मेरो आफ्नो इज्जत छ कि छैन। थियो कि थिएन पत्तै पाइन। तँचाहिँ  छोरी आफ्नु इज्जत राखेस्।

प्रकाशित: ४ श्रावण २०७८ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App