१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

अभिनयको पीडा

छोटाकथा

विश्वराज अधिकारी

 

अमेरिकाबाट काठमाडौँ फिरेको थिएँ। अमेरिकामा छँदै मलाई फिल्ममा काम गर्ने ठूलो रहर थियो। काठमाडौँमा मेरो एउटा साथी फिल्म लाइनमा थियो। उसलाई मैले बेलीविस्तार लगाएको थिएँ। साथीले मलाई भनेको थियो — मैले चिनेको एकजना मान्छेको फिल्म स्टुडियो छ। ऊ फिल्म बनाउँछ। राम्रो निर्देशक पनि हो। मैले कुरा गरेको छु। तपाईं आउनुहोस् अनि सँगै गएर स्किन टेस्ट दिउँला।

खासमा मेरै साथीको  कुराले आशावादी भएर काठमाडौ गएको थिएँ। काठमाडौँ पुगेको भोलिपल्ट नै मेरो साथीले फिल्म स्टुडियोमा स्क्रिन टेस्ट दिन पुर्याएको थियो।

मलाई देख्नेबित्तिकै निर्देशकले भनेका थिए — मान्छे हेर्दा त ह्यान्डसम हुनुहुन्छ तर तपाईँको अभिनय क्षमता हेर्न र स्क्रिन टेस्ट दिनुपर्छ।  

स्क्रिन टेस्ट दिने कुराले म आत्तिएको थिएँ तर मलाई उसले निर्देशकको शैलीमा भनको थियो —सम्झनुहोस्, तपाइँ यो फिल्म ‘परदेशीकी आमा’ मा फिल्मको नायक हो। कल्पना गर्नुस् सिनेमाको एउटा दृश्य यस्तो छ– तपाइँ ५ वर्षपछि अमेरिकाबाट तपाइँको आमाको यादले सताएर काठमाडौ आउनुभएको छ। तपाइँको आमाको मृत्यु काठमाडौमा भएको ५ वर्ष भइसकेको छ। तपाइँको आमाको मृत्यु हुँदा अमेरिकाबाट तपाइँ आउन सक्नु भएन। अनेक बाधा–व्यवधानहरूले तपाइँलाई काठमाडौ आएर तपाइँको आमाको अन्तिम दर्शन गर्न दिएनन्। तपाइँ मात्र एउटा छोरा र तपाइँको अनुपस्थितिमा तपाइँको आमाको सद्गत काठमाडौको पशुपति आर्यघाटमा भयो। अब यो दृश्यमा तपाइँ काठमाडौ आउनुहुन्छ। सरासर घर पुग्नुहुन्छ।

तपाइँको आमा मात्रै एक्लै बसेको त्यो घरमा जानुहुन्छ र आमा सुत्ने कोठामा पुगेर टेबलमाथि राखिएको तस्विर हेर्दै तपाइँले भन्नुहुन्छ– आमा, मैले तपाइँको अन्तिम दर्शन गर्न पाइन। धनको मोहमा परेर र ऐसआरामको जिन्दगीको पछि लागेर विदेश पुगें। तपाइँ यहाँ एक्लै बसे पनि मलाई रत्ति पनि पगालेन। जहिले पनि धनको मोहमा मौरीझै पैसाको वरिपरि घुमिरहें।

फेरि निर्देशकले भने — तपाइँले यो सम्वाद भनिरहँदा तपाइँको मुहारमा पश्चातापको भाव र हृदयभित्रको पीडा यथार्थ किसिमले प्रस्ततु हुनुपर्छ।

म स्क्रिन टेस्ट दिन थालेँ। मेरो अनुहारमा एकाएक विषादका रेखाहरू कुदे। मेरो हृदयमा आमाका यादहरू आए। बिर्सिएको पीडा फेरि उब्जियो तर मैले कनीकुथी स्क्रिन टेस्ट दिएँ। टेस्ट सक्दा म पसिनाले निथ्रुक्क भिजेको थिएँ। तर अचम्म भयो। म पास भएँ।

निर्देशकले खुसी हुँदै मलाई सोधे — कहिले पनि अभिनय गरेको छैन भन्नुहुन्छ। कहिल्यै कुनै नाटक वा मञ्चमा काम नगरेको व्यक्तिले कसरी यस्तो प्रभावकारी किसिमले अभिनय गर्नु सक्नुभयो? तपाईँको अभिनय देखेर म त छक्क परेँ।  

मैले उक्त निर्देशकलाई भने — आजभन्दा ७ वर्षअघि मेरो आमाको काठमाडौमा मृत्यु हुँदा म अमेरिकाबाट आउन सकिन। आमाको अन्तिम दर्शन गर्न सकिन। अहिले म ७ वर्षपछि काठमाडौ आएको हो। मेरी आमा काठमाडौमा एक्लै बस्नुहुन्थ्यो। हामी सपरिवार अमेरिका बस्छौ। अमेरिका गएको १५ वर्ष भयो। माथि स्क्रिन टेस्टका लागि भनिएको काल्पनिक घटना मेरो जिन्दगीमा घटेको वास्तिवक घटना हो।

मेरो कुरा सुनेर मेरो साथीले मतिर घोरिएर हेरे। म स्क्रिन टेस्टमा सफल भएकोमा बधाई  छ साथी भन्न पनि उनले बिर्से। मेरो आँखा अगाडि भने आमाका तस्विरहरू झलझली आइरहेका थिए।  

प्रकाशित: ४ श्रावण २०७८ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App