८ वैशाख २०८१ शनिबार
कला

सिलाम साक्मा

लिम्बु जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरिन्छ। बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ। सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला–पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन्। सिलाम साक्मा मुन्धुम र लिम्बु परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ।  

अधिकांश लिम्बु संघ–संस्थाको लोगो सिलाम साक्मा आकारको छ। घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ। लिम्बु जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन्।

लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।

लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।

‘पहिले यो धातु र छालाको बन्ने गथ्र्यो। हतियारको प्रहारबाट रोक्नका लागि प्रयोग हुन्थ्यो। पछि तान्त्रिक रूपमा पूजामा राख्न थालियो,’ जवेगु भन्छन्, ‘नराम्रो कुरा रोक्नका लागि यसो गरिन्थ्यो। यो बाँस र बेत बाँसबाट पनि बनाइन्थ्यो। पछि धागो र बाँसको बनाउन थालियो। तङसिङमा सहभागीलाई घरमा राख्नका लागि सिलाम साक्मा दिइन्छ। यो महत्वपूर्ण परम्पराको निरन्तरता हो।’

अघिल्लो सभ्यताको कुरा पछिल्लो सभ्यतामा लैजानका लागि यो अनुष्ठान हुने जवेगु बताउँछन्। उनका अनुसार साम्बले मुन्धुम वाचन गर्ने गर्छन्। यही तङसिङबाट सिलाम साक्मा बनाएर सहभागीको घरमा राख्नका लागि लगिन्थ्यो।  

सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रूपमा लिइन्छ। ‘पहिले अनुष्ठान गर्दा घरघरमा राखिन्थ्यो। पछिल्लो समय पाहुना तथा सार्वजनिक समारोहमा प्रयोग गर्न थालिएको छ,’ जवेगु भन्छन्, ‘पाहुना अतिथिको सुरक्षा होस् भन्ने विश्वासका साथ यो लगाइन्छ।’

साहित्यकार तथा अनुसन्धानकर्ता लछामी शेर्मा पापो लिम्बु संस्कारमा तङसिङ र याग्राङसिङ अनुष्ठान अति महत्वपूर्ण हुने बताउँछन्। ‘यी अनुष्ठानमा सिलाम साक्मा बनाएर प्रयोग गरिन्छ। मानव जीवनको उपकारका लागि तङसिङ गरिन्छ। यस्तै अकालमा मृत्यु भएकाको आत्मालाई ठेगान लगाउन याग्रासिङ अनुष्ठान गरिन्छ,’ उनी भन्छन्, ‘यही अनुष्ठानमा प्रयोग हुने सिलाम साक्माको प्रतीक चिह्न सार्वजनिक कार्यक्रम तथा जीवनमा प्रयोग गरिन्छ।’ उनका अनुसार तङसिङ, सिलाम साक्मा येहाङ दर्शनमा आधारित छ।  

पाँचथर सदरमुकाम फिदिमकी सीता लावती जवेगु सिलाम साक्मा बनाउने गर्छिन्। उनका अनुसार, पूजाका लागि सिलाम साक्मा सेतो धागोको बनाइन्छ। ‘अचेल सुन्दरताका लागि विभिन्न रङका धागोको प्रयोग गरी बनाइन्छ,’ उनले भनिन्, ‘विभिन्न अवसरमा ठूलो–सानोको बनाउन लगाउँछन्। सोही अनुसार बनाउँछु।’ आफूले सात फन्के, नौ फन्के विभिन्न आकारका सिलाम साक्मा बेच्ने गरेको उनले बताइन्।

प्रकाशित: २ श्रावण २०७८ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App