१६ मंसिर २०७८ बिहीबार
कला

नेपाली अमूर्त कला

नेपाली अमूर्त चित्रकला पहिलोपल्ट आधिकारिक रूपमा सन् १९५९ मा देखाप¥यो। त्यो उर्मिला उपाध्याय गर्गको पहिलो एकल कला प्रदर्शनी थियो, जहाँ उनले प्रिन्ट मेकिङ कलामा अमूर्त चित्रकलाको प्रदर्शन गरेकी थिइन्। यसअघि सन् १९५४ मा तेजबहादुर चित्रकार र अझअघि सन् १९२९ मा चन्द्रमानसिंह मास्केले एकल कला प्रदर्शनी गरेका थिए, यी दुवै प्रदर्शनीमा यस प्रकारका कलाको स्वरूप र प्रकृति देखापरेको थिएन। बरु यसैबीच सन् १९५५ तिर भएको गेहेन्द्रमान अमात्यको एकल कला प्रदर्शनीमा यही प्रकृतिका केही चित्र देखापरेका थिए। तथापि अमूर्त कलाको उद्भव र गहकिलो मोड सन् १९५९ मा र ६० को दशकपछि आएको हो। यसका केही दरिला आधार छन्।  

उर्मिला उपाध्यायले कलामा औपचारिक अध्ययन र उच्च शिक्षा ग्रहण गर्न मुम्बईको जे जे स्कुल अफ आर्ट र युरोप समेत पुगेकी थिइन्। त्यसबखत मुम्बईमा पश्चिमी आधुनिक कलाको ताजा माहोल थियो। युरोपमा भने आधुनिककला पूर्ण रूपमा स्थापित भई उत्तरआधुनिक कलाको प्रयोग र अभ्यासमा कलाकार व्यस्त थिए। त्यतिवेला युरोपमा अमूर्त कलालाई मान्यता दिइसकिएको थियो, त्यसैले अमूर्त कलाको धरातलमा थप नौलो कलाको प्रकृतिलाई खोज्न कलाकार व्यस्त थिए। यसैवेला अमूर्त अभिव्यञ्जना र एक्सन पेन्टिङ, अलि पछि कलर फिल्ड पेन्टिङको उद्भव तथा विकास भएको थियो। एक्सन पेन्टिङ र कलर फिल्ड पेटिङलाई अमूर्त कलाको परकाष्ठाको रूपमा व्याख्या विश्लेषण गर्ने प्रचलन छ। यसर्थ यसै वेला युरोप पुगेका लैनसिंह वाङ्देल, उर्मिला उपाध्याय र लक्ष्मण श्रेष्ठले यस कुरालाई गहिरोसँग अध्ययन र अनुभूत समेत गरेको थाहा लाग्छ। लैनसिंह वाङदेल कलकत्ताको गभर्नमेन्ट स्कुल अफ आर्टबाट कलाको अध्ययन पूरा गरेर युरोपतिर लागेका थिए भने लक्ष्मण श्रेष्ठ मुम्बईको जे जे स्कुल अफ आर्टबाट कलामा अध्ययन गरी। 

अमूर्त कला आधुनिक कलाको दर्जनौँ शैली र प्रवृत्तिमध्ये सबैभन्दा चर्चित कला शैली थियो। यो कलाको प्रवृत्ति एकैपटक आएको भने होइन।  

नेपालमा पश्चिमी शैली र प्रविधिले प्रवेश पाए पनि विशेषतः यथार्थवादी कलाकै जगजगी थियो। बाहिर गई कलामा अध्ययन गरेर आउने नेपाली कलाकार यथार्थवादी चित्र बनाउथे। फाट्टफुट्ट रूपमा प्रभाववादी चित्र पनि बनाउँथे। मूलतः आधुनिक कलाको राम्रो वातावरण तयार हुन सकिरहेको थिएन। यस्तो अवस्थामा उर्मिला उपाध्यायको यो अमूर्त चित्र सर्वत्र चर्चाको रूपमा रह्यो। सन् १९६२ मा लैनसिंह वाङदेलको अर्को एकल कला प्रदर्शनी भयो। विशेषतः यस प्रदर्शनीमा अझ स्पष्ट भएर अमूर्त चित्र सार्वजनिक भए। यसपछि सन् १९६४ मा लक्ष्मण श्रेष्ठको एकल कला प्रदर्शनी भयो। श्रेष्ठका अति शक्तिशाली अमूर्त कलाले त नेपालमा यो विधालाई धेरै माथि पु¥याइदियो। यसपछिका दिनमा नेपाली समसामयिक कलाको इतिहासमा अमूर्त कलाले आफ्नो एक अलग्ग धार सिर्जना गरेको देखिन्छ।  

अमूर्तकलाको प्रकृति र धार  

विश्वमा अमूर्त कला विशेष गरी तीन धारमा देखिन्छन्– अर्ध–अमूर्त कला, अमूर्त कला र पूर्ण–अमूर्त कला। यसका सिर्जन प्रक्रिया पनि अलग अलग प्रकारले बढेको देखिन्छ। मूर्तबाट अमूर्तता ल्याउँदा बेरूप र अन्ततः आकारविहीन बनाउने प्रचलन छ। अर्को प्रकारमा शुभारम्भदेखि नै रङ, रेखाको बहाव अमूर्ततामा आधारित भएर कलाकारको मनस्थिति, समय, इच्छा अनुसार सिर्जन प्रक्रिया रहेको देखिन्छ। त्यस्तै, कलाकारको मनोभाव, उत्तेजना आक्रोश, रिस, आवेग वातावरणको तत्क्षणको प्रभावलाई क्यानभासमा पोख्ने प्रक्रिया रहेको हुन्छ। यसमा मोटा र बलिया तुलिकाघात अति तेजिलो गतिमा कुद्छन्। सँगसँगै आधारभूत रङ पनि समावेश भएका देखिन्छन्। कलाकारले कोमल र सुमधुर रङ बनाई बस्न समय कम भएको महसुस गर्छन्। रेखाहरू अनियन्त्रित भएर यत्रतत्र छरिँदा भद्दा वा कुरूपजस्ता स्वरूप देखिन्छन्, तर कलाकारको मन प्रफुल्लित भएको देखिन्छ। जहाँ कलाकारको व्यक्तिगत भावना परिलक्षित हुनुका साथै व्याकरणीय अनुशासन पनि हुन्छ। त्यस्तै, कला तŒवलाई यथेष्ट प्रयोग गरिएका हुन्छन्। तथापि विचार, आसय र सन्देश केही हुँदैन। जसमा भावकलाई कलामा रहेको सौन्दर्यतालाई महसुस र आत्मसात गर्न मात्र आग्रह गरिन्छ। रङ र रेखाहरू जताततै कुदेका यस्ता चित्रमा संगति र सन्तुलनको वास्ता त गरिएको हुन्छ, तर भावकले कुनै परिचित आकार भेटाउन सक्दैनन्। यसकारण पनि अमूर्त कलाले आमभावकबाट ज्यादा गाली खाएका छन्। यो मनपरी कला हो भनेर निन्दा खाएका पनि छन्।  

अमूर्त कलालाई आकारविहीन कलाको रूपमा चिनिन्छ। रेखाको मात्र संयोजनबाट अमूर्त कला बनेको हुन्छ। जहाँ रेखाबाट चिन्न सकिने आकारको निर्माण हुँदैन, यस्ता दुई आयामिक रेखाचित्रलाई यसैभित्र राख्न कोसिस गरिएको हुन्छ। यस्ता कलालाई फिगरेटिभ एबस्ट्राक्सन नामकरण गरिएको छ। यस्ता कला बुट्टा वा अलंकारको रूपमा बढी चिनिन्छन्। कलामा देखापर्ने जेस्चर पनि अमूर्त हुने गर्छ। कलात्मक रेखाबाट बनेका यस्ता चित्रमा आकृतिको पहिचान हँुदैन, तर यथेष्ट रूपमा सौन्दर्यता बोकेको हुन्छ। यस्ता कला कतै अन्य कुनै कलाको आकर्षक पृष्ठभूमिको निर्माण गरिदिने भूमिकामा हुन्छन् भने कतै आफ्नै मात्र अलग्ग क्षेत्र निर्माण गरी एक अलग्ग पहिचानका साथ देखिन्छन्। विश्वभरि यस्तै प्रचलन छ। उदाहरणको रूपमा इस्लामी कलालाई बढी मात्रामा ल्याउने प्रचलन छ, जुन १३औँ शताब्दीमा प्रखर रूपमा उदाएको थियो। हाम्रा मठ–मन्दिरमा परम्परागत कलाले शोभा बढाइरहेको देखिन्छ।  

अमूर्तताको कुरा गर्दा करिब १३औँ शताब्दीको मुस्लिम कलादेखि प्राचीनकालमा देखिएको चाइनाको पारदर्शी जलरंगका चित्रकलाको वहाबलाई पनि अमूर्तताको नजिक राखेर हेरिन्छ। यस्ता कला सिर्जना गर्दा पातला ठूला तुलिकाले हल्का रङका वहाब र धब्बालाई निर्माण गरिन्छ। चाइनाका यस्ता खाले परम्परागत भनिने चित्र जापानमा पनि प्रचलनमा आएको हो। विशेषतः १९औँ शताब्दीको अन्ततिर युरोपमा यही पारदर्शी जलरंगी विशेषता बोकेका चित्र प्रभाववादी दृश्यचित्रको रूपमा आन्दोलनकै रूपमा आएको देखिन्छ।  

विश्व कलाको सन्दर्भ  

अमूर्त कलालाई वस्तुनिरपेक्ष कला वा ननफिगरेटिभ, ननरिप्रिजेन्टेसनल कला पनि भन्ने गरिन्छ। यसबाहेक यसलाई तŒव विम्बीय कला, ताŒिवक कला, सारांशवादी कला र सूक्ष्म कला भन्ने पनि चलन छ।  

सन् १९४० को दशकमा अमूर्त अभिव्यञ्जनावादको नौलो प्रवृत्तिले प्रवेश गरेको देखिएको छ, जहाँ अमूर्त कलाको विशेषताका साथसाथै सर्जकको अभिव्यञ्जना पनि जोडिएका हुन्छन्। अमूर्तताको पृष्ठभूमिमा अर्धअमूर्त आकार सलबलाउनु नै यसको स्वरूप मानिन्छ। तथापि यसका अन्तर्वस्तु भनेको अमूर्तता नै हो। आर्सइल गोर्की, जो यो प्रवृत्तिका प्रयोगधर्मीमध्ये एक थिए। उनी भन्ने गर्दथे– म चित्रलाई कहिले पूरा गर्दिनँ, बीचमा विश्राम मात्र लिन्छु। सधैँ चित्रको आरम्भ गरिरहनुपर्छ। समाप्त गर्नु हुन्न। उनको यो भनाइले आधुनिक कला वा अमूर्त कलाकै पनि नौलो पाटो खोलिएको अनुभूत हुन्छ। स्वचालित भागभंगी, द्रूत गतिका आवेगशील रेखा, दृढ निश्चितता, नितान्त व्यक्तिगत विचारबाट ओतप्रोत आदि यसका मूल विशष्ोता हुन्। सन् ५० को दशकको उत्तरार्धमा कलाको थप आन्दोलनका रूपमा केही शब्द पनि देखापरेका थिए– पोस्ट पेन्टर्ली एबस्ट्राक्सन, टुवार्डस द न्यु एबस्ट्राक्सन, काल्पनिक अमूर्तता आदि। अहिले ‘मिनिमालिजम् एबस्ट्रयाक्स’ भन्न थालिएको छ। मिनिमालिजम् उत्तरआधुनिक प्रवृत्तिका साथ उदाएको कलाको नयाँ शैली हो। आधुनिक कलादेखि एकदमै विपरीत दिशातिर उन्मुख भइरहेको उत्तरआधुनिक कलाको प्रवृत्तिमा पनि यो अमूर्त शब्दले स्थान पाइरहेको छ।

अमूर्त कलाको आसय र अर्थ  

अमूर्त कलाको परिभाषा आफैँमा जटिल लाग्छ। यो वस्तुनिरपेक्ष कला, मूर्ति वा चित्रकलाको एक शैली हो, जुन नन रिप्रिजेन्टेसनल हुन्छ। यसमा प्रयोग भएका रूप र रङले आफ्नो कदर र रसस्वादन आफैँ गरोस् भन्ने चाह राखिन्छ। यसबाट भावकले आफ्नै किसिमले कलालाई बुझ्छन् र महसुस गर्छन् भन्ने अर्थ निक्लन्छ। यसले अर्को के कुराको पनि वकालत गर्छ भने, सर्जकले जुनसुकै शैली वा प्रवृत्तिमा काम गरे पनि भावकले आफ्नो इच्छा, क्षमता, सोच र निजी सिकाइ प्रक्रियामा आधारित भएर ग्रहण गर्छ। त्यस्तै, अमूर्त कलाले सेप, फर्म, कलर र लाइनको भिजुअल ल्यांग्वेज प्रयोग गर्छ। जसबाट एक गहकिलो संयोजन जन्मन्छ, जहाँ एउटा कलाकारको एक तहको स्वतन्त्रता वा स्वावलम्बी फर्म अवस्थित रहन्छ। यसले कहीँ न कहीँ कलाकारको परतन्त्र र स्वतन्त्रताको सीमांकनलाई उठाउन खोजेको देखिन्छ। किनकि विश्वमै कला कसैको माध्यम र कसैको निर्देशनमा सिर्जना हुने गरेको देखिएको थियो। कलाकार आफूखुसी कलाको सिर्जना गर्न पाउँदैनथे। अरूले भने अनुसार गर्नुपर्ने ठाउँमा आफूखुसी उन्मुक्ततामा तुलिका कुद्न थालेपछि सम्भवतः अमूर्त कला जन्मेको हुन सक्छ। भिजुअल ल्यांग्वेजले दृश्यात्मक भाषालाई बुझाउँछ, जहाँ दर्शकले एकैपल्ट समग्रमा कलालाई दृश्यावलोकन गर्छन्। यसो गर्दा रेखा, रङ, यसबाट निर्मित रूपलाई आत्मसात गरेर तत्क्षण दर्शक तरंगित हुन्छ र ऊभित्र सकारात्मक वा नकारात्मक मनोभाव पैदा हुने प्रक्रिया सुरु हुन्छ। दर्शकलाई क्यानभासमा बुझिने वा चिन्न सकिने आकृति हुनु वा आकृतिविहीन हुनुले केही फरक पर्दैन।  

अमूर्त कलाको जन्मदाता क्यान्दस्कीले भन्ने गर्थे– मलाई थाहा छ, वस्तुले मेरो चित्रलाई नोक्सान गर्छ। कला हरेक दृष्टिकोणबाट पूर्ण स्वतन्त्र हुनुपर्छ। प्लेटोले भनेका छन्– वृत्त बाहिरी कारणले सुन्दर होइन, यसको प्रकृति नै सुन्दर छ। यसबाट सौन्दर्य अनुभूत गर्न सकिन्छ, जुन अमूर्त हुन्छ।  

आधुनिक चित्रकलाको इतिहासमा यस प्रकारले अमूर्तकलाको व्याख्या गरिएको छ– जुन कलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भौतिक वस्तुको रूपतिर कुनै संकेत हुँदैन, यस्तो कलालाई अर्मूत कला भनिन्छ। अमूर्ततातिर थोरै मोडिन थालेका प्रभाववादीहरू वस्तुको सौन्दर्यतामा चाख राख्दैनथे, अति सामान्य वस्तुलाई आफ्नो कलाको मुख्य विषय बनाएर त्यसैमा सौन्दर्यतालाई निर्माण गर्थे। उनीहरू वस्तुमा ध्यान नदिएर सौन्दर्यता रसस्वादन गर्न आग्रह गर्दथे।  

भावकमा अमूर्तताको अनुभव  

अमूर्त कलाको अर्थ हुन्छ, आकारविहीन कला। आकारविहीन भनेको प्रभावविहीन र आकारको अनुपस्थिति रहने भन्ने होइन। यहाँनेर सम्भवतः मिल्दो शब्द हुन सक्छ, ‘परिचित रूपविहीन’। किनभने अमूर्त कलामा रेखा र रङ यथेष्ट मात्रामा हुने गर्छन्। यति हो, चित्रपटमा मनलाग्दो हिसाबले रेखा र रङ अनेक कोणबाट जता पायो त्यता घुमेका र घुसेका देखिन्छन्। स्वभावतः यसमा भावक आफूभित्र भएका ज्ञानको आधारमा मिल्दा आकृतिलाई खोज्न थाल्छन्। निश्चित छ, यो भेटाउन सकिन्न। भावक आ–आफ्नै तरिकाले अमुक आकृतिको कल्पना गर्छन्। हुन के जान्छ भने, हरेक भावकले यो कृतिलाई आ–आफ्नै अमुक आकृतिको परिधिभित्र हाल्न कोसिस गर्छन्। तत्पश्चात बुझेजस्तो भाव उसको मनमा जन्मन्छ। ऊ अनायसै रोमाञ्चित हुन जान्छ। सम्भवतः भावकको मन यी र यस्तै अवस्थामा पुग्नु नै अमूर्तता हो।  

अमूर्त कलाको विकास  

आधुनिक कलाको जन्म भएको केही वर्षभित्र अमूर्त कलाको अस्तित्व जीवन्त भएको थियो। यसर्थ यो कलाको शैलीलाई आधुनिक कलाको एउटा गहकिलो अंशका रूपमा लिइन्छ। मूलतः आधुनिक कलाका अन्य विविध शैली विशेष दर्शन र स्वरूपमा देखापरे पनि मानवको दिनचर्यासँग प्रत्यक्ष रूपमा गाँसिएको देखिँदैन। यद्यपि मानव मस्तिष्कलाई समेत चलायमान बनाउने यो अमूर्त कलाको शैलीले मानव विकासकै क्रममा अहं भूमिका खेलेको देखिन्छ। पछि यसको परिणाममा आर्ट थेरापीको प्रसंग पनि जोडिन गएको देखिन्छ। यसपछिका जति पनि कलाका आन्दोलन भए, ती आन्दोलन कलाको दर्शन र आदर्शभन्दा पर जान सकेको देखिँदैन। यसैले पनि यो अमूर्तता कुनै न कुनै रूपमा कलामा झुल्कने क्रम आइरहेको देखिन्छ। सन् १९१० मा विधिवत यसको शुभारम्भ भए पनि अमूर्त कलाको पहिलो अन्तर्राष्ट्रिय कला प्रदर्शनी कला समीक्षक माइकेल स्याम्पेयरको सक्रियतामा सन् १९३० मा पेरिसमा भएको थियो। डा. जोन स्कुलको पुस्तक ‘की टर्म’मा सन् १९१० मा कान्दस्कीले जल रङबाट बनाएको चित्रबाट यो वादको शुभारम्भ भएको उल्लेख छ। कलाविद्ले यसरी आकलन गरे पनि मूर्तबाट अमूर्ततर्फ जाँदै गरेका उनका चित्र यसअघि पनि देखिन्छन्। सन् १९१० तिर अमूर्त कला बनाउने अभ्यासका रूपमा यस्ता चित्र देखिन्छन्। मूलतः उनले १९१३ मा यस्ता चित्र बढी बनाएका छन्। तथापि उनलाई अभिव्यञ्जनावादी कलाकारको रूपमा बढी चिनिन्छ।  

इनकार्टा इन्साइक्लोपेडियाले भने मोन्ड्रियनलाई अमूर्त कलाको अग्रदूत मानेको छ। यिनी कान्दस्कीभन्दा अलिपछि देखापरेका थिए। तथापि यिनले यथार्थ चित्र कसरी अमूर्ततामा विकसित भए भन्ने दर्शाउन चित्रको शृंखला बनाएका छन्। मूलतः उनी पूर्ण अमूर्तताका सर्जक हुन्। हुन त पिकासोले सन् १९०७ मा बनाएको घनवादको पहिलो मानिएको चित्र ‘अभिन्यूका कन्या’मा स्पष्ट सग्लो महिलाको चित्र चौथो महिलामा पुग्दा कसरी विकृत र अर्ध अमूर्ततामा परिणत हुन्छन् भन्ने सहजै हेर्न सकिन्छ। उनीअघि उत्तरप्रभाववादीका प्रयोक्ता सेजाँले प्रकृतिलाई कोणीय आधारमा भाँच्न सुरु गरिसकेका थिए। यसैले उनका चित्र अलिकता विकृत र सपाट देखिन्थे। यसैले पनि उनलाई आधुनिक कलाको पिता मानिन्छ। यसै वेलादेखि आकृतिलाई भाँच्ने क्रम विकसित भएको थियो। यसैवेलादेखि कुरूपतामा सौन्दर्य खोज्ने क्रम बिस्तारै विकास भयो। सम्भवतः मानवको बाहिरी सौन्दर्यताभन्दा भित्री सौन्दर्यताको खोजीको क्रम यहीँबाट सुरु भएको थियो। मोनेले सन् १९०४ मा बनाएको ‘हाउस अफ पार्लियामेन्ट’को दृश्यचित्रमा वातावरणीय प्रभाव खोज्दाखोज्दै अमूर्तताको नजिक पुगेको देखिन्छ। मानव, प्रकृति वा तत्कालीन अवस्थालाई जस्ताको तस्तै उतार्ने यथार्थवादलाई घचेट्दै नयाँ प्रवृत्तिका साथ प्रभाववाद देखापरेको थियो। बाह्य चर्मचक्षुले झट्ट हेर्दा देखिने सत्यताभन्दा वास्तविक सत्यता खोज्ने क्रममा देखापरेको प्रभाववाद अमूर्ततातिर उन्मुख भएको स्पष्ट देखिन्छ। प्रकाशले वस्तुमा पारेको प्रभावले बिहानदेखि बेलुकासम्म प्रकृति, वस्तु वा वातावरण पनि परिवर्तन हुन्छन् भन्ने सत्यता टिप्दाटिप्दै कलाको बाह्य स्वरूप अमूर्तताको नजिक पुगिसकेको थियो। यसर्थ कति कलाविद्ले यसैबाट अमूर्तता सुरु भएको आकलन गर्छन्।  

अमूर्त कला एकैचोटि सन् १९१० मा देखापरेको होइन। प्रथमतः आकृति बिस्तारै भाँचिदै र रङ धुमिल हँुदै गए। चहकिला अटपट लाग्ने रङले क्यानभासमा ठाउँ पाउँदै गए। र, ती चित्रपटमा तेस्रो आयामबाट बिस्तारै खस्कँदै दोस्रो आयामतिर बढ्न थाले। दुरान्तर भेदका सिद्धान्त अपदस्थ हुँदै सपाट चित्रपट देखिन थाले, अन्ततः कला आकृतिविहीन भएको अवस्थामा पुगे। यसपछि रेखा, रङ आदिबाट बनेको आकारबाट विमुख हुँदै चित्रपटमा अमूर्तता देखापरेको हो। यो कलाको शैलीले अभिव्यञ्जना र भाव अभिव्यक्तिभन्दा एक अलग्ग विशेषता बोकेको देखिन्छ।  

अमूर्त शैलीमा रमाउने  नेपाली कलाकार  

नेपालमा अमूर्त कलामै रमाइरहने, यसको दर्शन र स्वरूपलाई विभिन्न कोणबाट प्रयोग गरिरहने कलाकारको रूपमा लक्ष्मण श्रेष्ठ, लैनसिंह वाङ्देल, उत्तम नेपाली र कृष्ण मानन्धरलाई सम्झनुपर्ने हुन्छ। यसै वेलाका अन्य समकालीन र समसामयिक कलाकार अमूर्त कलामा प्रवेश गरेका छैनन्। यी कलाकार अर्धअमूर्त स्वरूपमा बढी मात्रामा आकृतिसँग खेल्न रुचि राखेको देखिन्छ।  

अमूर्त कलालाई निरन्तरता दिने कलाकार लैनसिंह वाङदेल नेपाल आइसकेपछि कला सिर्जनाभन्दा बढी कलाको अनुसन्धानमा व्यस्त भए। तथापि उनका अमूर्त कलाले नेपाली समसामयिक कला क्षेत्रलाई एउटा ठोस दिशा प्रदान गरेको छ। नेपालको प्राचीन र माध्यामिक कालको कलाबारे उनले गहकिलो पुस्तक प्रकाशन गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा लामो समय महŒवपूर्ण पदमा संलग्न हुँदा उनले अलिकति प्रशासन र बाँकी समय मात्र कला र साहित्यलाई दिएको देखिन्छ।  

लक्ष्मण श्रेष्ठ भारतको मुम्बईमै बस्छन्, अन्तर्राष्ट्रिय रूपमा उनको उचाइ निकै माथि छ। नेपालमा कहिलेकाहीँ आउँदा उनको कलाबारे राम्रोसँग अभिलेखन भएको पाइँदैन। उर्मिला उपाध्यायले उहिले नै यस्ता कला सिर्जना गर्न छाडिसकिन्। समाज सेवा र हस्तकलाप्रति उनको ज्यादा चाख रहेको देखिन्छ। उत्तम नेपालीले एउटै शैलीलाई पछ्याएको देखिँदैन। उनले अर्ध–अमूर्त र अमूर्त कला मात्र बनाएनन्, अन्य धेरै शैली र प्रवृत्तिलाई अँगाले। यस हिसाबले स्पष्ट रूपमा लामो समयदेखि यसै विधालाई अँगालिरहने कलाकारको रूपमा कृष्ण मानन्धरलाई लिनुपर्ने हुन्छ। यसपछि पुरन खड्काको नाम आउँछ। कृष्णले धेरै थिममा चित्रमालाको स्वरूपमा अनगिन्ती चित्र बनाएका छन्। यी सबै अमूर्त कला हुन्। झन्डै पाँच दशकदेखि उनी चित्र सिर्जनामा निरन्तर संलग्न देखिन्छन्। अहिले उनका चित्रमा अलिकता रूख, हाँगाबिँगा वा पहाडका टाकुरा उदाउँदाउदाउँदै पनि उनका गतिशील तुलिघात चलबलाएकै देखिन्छन्। सजग सचेत, कोमल र मुलायम उनका रङले अमूर्ततातिर संकेत गरिरहेका देखिन्छन्। अहिले उनी डुप्लिकेसी सिरिज (चित्रमाला) मा काम गर्दै छन्। बिहानै एउटा मान्छे भेट्दा परेको प्रभाव, दिउँसो र पुनः राति भेटेको अर्कै मान्छेको प्रभाव खप्टिँदै जाँदा प्रभावमा पनि ‘डुप्लिकेसी’ हँुदो रहेछ। पुरन खड्काका पूर्ण–अमूर्त कला सर्वथा अलग खालका देखिन्छन्। सपाट रंगीय धरातलसँगै सम्पूर्ण क्यानभासमा नेगेटिभ स्पेसलाई नितान्त बेवास्ता गर्दै थोरै रंगबाट बनेका उनका चित्र आध्यात्मिक संचेतनाको नजिक देखिन्थ्यो। आफ्ना गन्तव्यमा स्पष्ट भएर लागेका यी कलाकार नितान्त एउटैजस्तो देखिने (तर अलग्ग) साना–ठूला सयौँ कला सिर्जना गरे, जुन उनको कला स्टुडियोमा छरपस्ट भएर टाँगिएका देखिन्थे। उनी आज हामीबीच छैनन्। तथापि उनका जस्ता पूर्ण–अमूर्त कला उनीअघि र आजको दिनसम्म यसै स्वरूपमा कसैले गरेको देखिँदैन। कृष्ण र पुरन दुवै मुम्बईको जे जे स्कुल अफ आर्टबाट कलामा दीक्षित कलाकार हुन्।  

नेपालमा अमूर्त कलाको प्रकृति दुई भागमा विभाजित देखिन्छ। एकातर्फ कुनै पनि दृश्यचित्र, व्यक्तिचित्र वा वस्तुलाई भाँच्ने क्रममा वा धुमिल बनाउने क्रममा अमूर्त कलाको विकास भएको छ। अर्कोतर्फ विषयहीन रङ र रेखा तत्क्षणै प्रत्यक्ष क्यानभासमा उमारेर अमूर्त कलाको सिर्जना हुन गएको देखिन्छ। विषयमा प्रवेश गरेर बनाइएका यस्ता कला अर्ध–अमूर्त बढी देखिन्छन्। तथापि पूर्र्ण अमूर्ततामा निरन्तर लागिपरेका कलाकार आज धेरै कम देखापर्न थालेका छन्। अर्ध–अमूर्त स्वरूपमा यसवेलाका सबैजसो कलाकार वत्सगोपाल वैद्य, इन्द्र प्रधान, प्रमिला गिरी, वीरेन्द्रप्रताप सिंह आदि देखिन्छन्। प्रत्यक्ष रङहरू खेली अमूर्त कला निर्माण गर्नेमा लक्ष्मण श्रेष्ठदेखि विजय थापा, के के कर्माचार्य, शंकरराज सिंह सुवाल, गोविन्दलाल सिंह डंगोल, क्षेत्रलाल कायस्थ, किरण मानन्धर, मुकेश मल्ल, रमेश खनाल, सुरेन्द्र भट्टराई र वेलावेला रतन राई, आइबी मल्ल, शंकरनाथ रिमाल, जीवनराज उपाध्याय, नविन्द्र राजभण्डारी, सागर मानन्धर, नविन्द्र लिम्बु, प्रमिला वज्राचार्य, विनोद प्रधान, चन्द्रा श्रेष्ठ, धनबहादुर याख्या, अनिल सुब्बा, भीष्म केसी, संगी श्रेष्ठ, नेमबहादुर तामाङ, रत्नकाजी शाक्य, कृष्णप्रसाद शाह लगायत आउँछन्। तथापि गुणस्तरको रूपमा बढी मात्रामा यस्ता अमूर्तकला गरिरहने कलाकारको नाम लिनुपर्दा जीवनराज उपाध्याय, सागर मानन्धर, संगी र नविन्द्र सुब्बा र कृष्णलाई लिनुपर्ने हुन्छ। जसले आ–आफ्नो काममा एक अलग्ग पहिचान बनाइसकेका छन्।  

समग्र नेपाली समसामयिक कलाको मोडकै रूपमा हेर्ने हो भने ९० को दशकदेखि अमूर्त कलाभन्दा यथार्थ आकृति, सुपर रियालिस्टिक कला र यसैमा गाँसेर कन्सेप्चुअल कलामा कलाकार बढी मात्रामा संलग्न हुँदा अमूर्तकलाको चाह अहिले घटेको देखिन्छ।  

(मल्ल कलाकार तथा कला समीक्षक हुन् ।)

प्रकाशित: २६ असार २०७८ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App