२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फोटो खिच्ने बाँदर

बालकथा

 मन्जु ज्ञवाली

 

“ए, निरज ऊ हेरहेर । त्यो बाँदरले तँलाई हेरिरहेको छ । त्यसको पनि फोटो खिच् न !” निरजका साथीहरू निरजलाई भनिरहेका थिए ।

निरज र उसका साथीहरू चितवनको जंगलमा घुमिरहेका थिए। उनीहरू स्कुलका सरहरूसँग शैक्षिक भ्रमणका गएका थिए । सबै जना हात्तीमाथि हौदामा कोचाकोच गरी बसेका थिए । निरजले गैँडाको फोटो खिच्न क्यामेरा ठिक पारी राखेको थियो ।

माउतेले भने ,“चल ! पवनकली चल ! ” उनी हात्तीलाई बाटो बताइरहेका थिए । केटाहरू यताउता हेर्दै थिए ।

“हल्ला नगरी बस नानीबाबु हो ! जनावर भाग्छन् ” रोशन सरले सचेत गराउनुभयो ।

हात्तीलाई पवनकली भनको सुनेर केटाहरू “चल, पवनकली चल” भन्दै हाँसे । निलिमाले सोधी, “माउते दाइ सबै हात्तीका नाम छन् हो ?” 

“ए ! हेर, ऊ गैडा ! ” विपुलले झाङतिर देखायो।  

सबैले त्यतैतिर हेर्दै थिए । अचानक निरज चिच्यायो, “ला ! मेरो क्यामेरा खस्यो,रोक्नुस् न !”  

“जँगलको बाटो खाल्डाखुल्डी छ । हात्ती हिँड्दा हौदा यताउता भैरहन्छ । राम्ररी समातेर बस्नपर्छ पख म रोक्छु,” माउतेले भन्यो ।

“रोक्नुस् न मेरो क्यामेरा !” निरज करायो।  माउतेले हात्तीलाई लठ्ठीले कानमा घोचेर बसाल्न खोज्दै थिए। त्यत्तिकैमा बाँदरले क्यामेरा ‘ट्याप्प’ टिप्यो र रुखमा चढ्यो।

“ए क्यामेरा बाँदरले लग्यो” साथीहरू चिच्याउँदै बाँदरलाई हेर्न थाले ।  

बाँदरले क्यामेरालाई ओल्टाईपल्टाई हेर्यो र बटनहरू जथाभावी थिच्न थाल्यो । सुँध्यो,चाट्यो र तीतो खाएजस्तै गरी मुख बिगार्यो ।  

“हा ! हा ! हा ! हेर न ! बाँदरले क्यामेरा चाट्यो। अब फोटो खिच्न बेर छैन” सबै जना हाँस्न थाले।

“खुब हाँस तिमीहरू ! क्यामेरा बाँदरले बिगारिदिने भो मेरो क्यामेरा । मेरो कति धेरै चाहिने फोटा छन् त्यसमा” नीरजले पीर मान्यो ।

“न आत्तिऊ निरज, फालिदन्छ त्यसले । खानेकुरा ठान्यो होला” रोशन सरले भन्नुभयो ।  

क्यामेराबाट ‘क्लिक्क– क्लिक्क’ आवाज आयो । ‘झिलिक्क –झिलिक्क’ पनि गर्यो । रुखका हाँगामा बसेका अरू बाँदरहरू डराएर परपर भागे ।

“हा ! हा ! हा ! बाँदरले फोटो खिच्यो ! ” रुप्सी हाँसी । अरू साथी पनि हाँस्न थाले।  

“धेरै नहाँस । झन् परपर भाग्ला,” सरले सबैलाई चुप लगाउनुभयो।

“क्वाँ आँआँआँ !” अनौठो आवाज निकालेर पवनकली कराई।

हात्तीको आवाजले बाँदर तर्सियो । एक रुखबाट अर्को रुखमा बुरुक्क उ्रफ्रिँदा क्यामेरा भुइँमा खस्यो ।

माउते दाइले हात्तीलाई क्यामेरा खसेको ठाउँतिर लगे क्यामेरा टिपेर निरजलाई दिए । निरजले क्यामेरा पुच्छ्स्यो र जाँच्यो “धन्य केही भएको रहेनछ ।”

यत्ति भनेर उसले क्यामेराको फोटो हेर्न थाल्यो । हात्तीमाथि चढेका सबै साथीसँगका फोटाहरू देखेर निरज दङ्ग परेर देखाउँदै भन्यो , “ए हेर त बाँदरले त हामी सबैका फोटा खिचिदिएछ ।”

सबै साथी रोशनको क्यामेरातिर टाउको बटारीबटारी हेर्नलागे।  

प्रकाशित: २० असार २०७८ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App