२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फरक

लघुकथा

सीता रेग्मी  

 

‘ओ हो आज त अझै सुत्नुभएको छैन त! निन्द्रा लागेन?’

सधै सबेरै सुत्ने श्रीमान आज कपीकलम लिएर बसेको देखेर उनी छक्क परिन्।

’हेर न यो एउटा प्रतिवेदन तयार गर्नु छ, भोलि विहानसम्ममा जसरी नि पठाइसक्नुपर्ने ! कसरी बनाउने, कसरी हैरान भइसकें।’  

लामो हाई गर्दै उनले बताए।

‘कस्तो प्रतिवेदन? खै हेरौ त!’ श्रीमतीले चासो देखाइन्।

उनले खुशी हुँदै सबै विवरण देखाए। दुवै मिली प्रतिवेदन तयार गरे, श्रीमतीले नै कम्प्युटरमा टाइप गरिदिईन्। तयार पारिसक्दा रातको १ बजिसकेको रहेछ।

‘रिपोर्ट त राम्रो बनेछ नि, सबैले मन पराए।’ उनले फर्कदाफर्कदै श्रीमतीलाई सुनाए।

’ए हो र! ल बधाई छ हजुरलाई!’ श्रीमतीले पनि खुशीमा साथ दिइन्।

अर्को एक दिन राति अबेरसम्म उनी बसेर केके लेखिरहेकी थिइन्।

‘हैन आधारातसम्म के गरेर बसेकी सुत्नु पर्दैन?’ एक निन्द्रा निदाएर बिउँझिएका श्रीमानले प्रश्न गरे।

‘एउटा विवरण तयार गर्नु छ, भोलि जसरी नि चाहिन्छ भनेका छन् हाकिमले।’ उनले सानो स्वरमा उत्तर दिइन्।

‘यति रातिसम्म केको विवरण बनाइराख्नु, सक्दिन म भनेर फाल्देऊ न त्यही हाकिमको टेबुलमा!’ श्रीमानको जवाफ आयो।

प्रकाशित: २० असार २०७८ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App