टीकाराम रेग्मी
१) साइरन
पाँच वर्षदेखि लगातार तिहारको टीका लगाउन नपाएको शुक्र यो वर्ष भने ढुक्क थियो, ऊ जसरी पनि जाने छ । ऊ टीकाको चार दिनअघि नै जहाज चढ्यो । बाटैबाट फोन गरेर आफू आउँदै गरेको सन्देश पठायो तर फोन कसले उठायो उसले चिनेन ।
‘जे होस मेरो खबर पुग्यो ।’
कति खुसी भएकी होलिन् दिदी !’ ऊ मनमनै आनन्दित भयो ।
‘दिदीको आशीर्वादले एकपटक यमराजको पनि हार हुन्छ भन्छन्।’ सोच्यो । दिदीका लागि किनेको उपहार छाम्यो ।
‘ठिक छ।’ मनमनै बोल्यो ।
‘दिदीको हातको टीका लगाई घर पनि पुग्नुपर्ला।’कल्प्यो ।
आँगनमा ओछ्याइएको काम्लोमा बसेको शुक्रलाई दिदीले तेल लगाएर कपाल कोरिदिइन् । कानमा तेलको थोपा चुहाइन् । ओखर फोरिन् । टाउकामा सिन्का भाँचिन् । फलफूल, रोटी फलामको टुक्रा पूजा गरी यमराजलाई चढाइन् ।
‘कति वर्षपछि आज टीका लगाउन पाइयो, अब त वर्षैपिच्छे लाउन पाऊँ ।’ दिदीले रुन्चे स्वरमा गुनगुनाउँदै टीका लगाइदिइन् । टीका लाईवरी दिदीलाई उपहार दिएर ढोग गर्न शिर निहुरयाएको मात्र के थियो, कानै फुट्लाझैं गरी बज्यो साइरन ‘सुइय्य...।’
शुक्र झल्याँस्स भयो । निधार छाम्यो । रित्तै । गलामा छाम्यो । रित्तै । यताउति हेरयो । उही नियाँस्रोलाग्दो एक्लो कोठा । आँखाबाट मूल फु्ट्यो तर गह्रुङ्गो शरीरलाई मसिनझैं स्वचालित बनाउँदै मनमनै भन्यो, ‘धन्यवाद मेरी प्रिया, साइरन।’
अनि ऊ पेट छाम्दै फ्याक्ट्रीतिर लाग्यो।
२) फुर्सद
‘मर्दका दसवटी’ रट्ने सम्पन्न परिवारका एक्ला छोरा रामभक्त निसन्तान हुँदा खुसी थिएनन् तैपनि भन्ने गर्थे, ‘भुने, तँ छँदासम्म यो घरमा मेरी दोस्री भित्रिन्न, बुझिस् ?’
गाउँलेहरूले उनको न्वारन गर्दै रहन्थे, ‘नामर्द’ ।
उनीहरूले सन्तानका लागि लोकप्रथाको पालना गरे, ज्योतिष हेराए, पूर्णिमा व्रत, तीर्थव्रत तथा पुत्रेष्टि यज्ञ गरे तर सन्तान भएनन्। आजित रामभक्तलाई आफ्नो निर्णय बदल्न बाध्य पारिन भुवनेश्वरीले । लोग्नेभन्दा पच्चीस वर्षले कान्छी भदै सीतालाई सौताको रूपमा भित्र्याइन् । नभन्दै अर्को वर्षदेखि वर्षैपिच्छे, दुवैलाई छोराछोरी भए । परिवारमा खुसी छायो।
चल्लाहरू हुर्के, पखेटा लागे र उडे । बुढाबुढी झन् सन्तुष्ट भए।
उज्यालो आकाश सधैं टिकेन। रामभक्तको दमले औषधिलाई टेरेन। बरु सीतालाई पनि सती लगेझैँ लग्यो। कजकिरिया सकेलगत्तै छोराका काम बिते, छोरीका घर।
‘आमा, तपाईंलाई फूलको थुँगा बनाएर पाल्छौं । जाऊँ काठमाडौं ।’ एउटा सुविधासम्पन्न ‘वरिष्ठ नागरिक गृह’मा राखिएकी भुवनेश्वरी दिनहुँ कुनै न कुनै सन्तानसँगको भिडियो च्याटले खुसी नै थिइन् । भौतिक सुख त छँदै थियो ।
एकदिन अचानक मुटु दुख्यो। उठ्न, बस्न, सुत्न, सास फेर्न भएन। अस्पतालको एकान्त कोठामा श्रीमान्, छोराछोरीका मायालु अनुहार, जवानीे, परलोकको धोकोे, तीर्थव्रत, यज्ञयज्ञादि सबै घुमे। पहिलो छोराको अनुहारले हराएको असह्य प्रसव–पीडा घुम्यो र घुमे गरगहना तथा श्रीसम्पत्ति । यता हेरिन्, उता हेरिन्। भर्खरै वरिपरि नाच्दै गरेका कसैलाई देखिनन् । आँखा मिचिन् ।
‘बाबु, मेरा छोराछोरीलाई बोलाइदिएनौ ?’ सासले बोलिन् ।
‘फोन गरेकै छु, आमा तर कसैले बिदा पाएका छैनन् । फुर्सद छैन रे।’ सहयोगीले भन्यो।
‘ए, फुर्सद छैन?’ भुवनेश्वरीले अन्तिम शब्द बोलिन् ।
३) सम्मान
‘रमेश सर, टिभी हेर्नोस् त, मेरो अन्तर्वार्ता छ।’ रमिलाले हौसिँदै फोनमा भनिन्।
‘हो र ? ल बधाई छ।’ उसले भन्यो ।
‘नहेरौं भने भोलि रयाखरयाख पारिहाल्छिन् ।’ सोच्दै उसले टिभी खोल्यो ।
‘उहाँ यो देशको साँच्चिकै समाजसेवी हुनुहुन्छ । म उहाँलाई दशकौंदेखि चिन्दछु । उहाँ जस्तो समाजसेवीलाई आज जुन राष्ट्रिय शिक्षा पुरस्कार दिइएको छ, यो न्याय सङ्गत छ । म त भन्छु, उहाँलाई त उहिल्यै दिनुपर्दथ्यो।’ लालुकान्तले प्रशंसाको गीत गाउँदै रहेछ।
हेर्दाहेर्दै कपिल, अनुराधा, सुशील आए, प्रशंसाका गीत गाए । रमेशले हेरिरह्यो ।
‘तपाईंलाई यो पुरस्कार प्राप्त गर्दा कस्तो लागि रहेको छ ?’ पत्रकारले सोध्यो।
‘मेरो कामको मूल्याङ्कन भएको महसुस गरेको छु।’ रमिला मुस्काइन् ।
रमेशका स्मृतिका पानाहरू विद्युतीय गतिमा घुमे । उसले सरर देख्यो – ‘म्याडम्, तपाईंको अनुपस्थितिमा विद्यार्थीकोे पढाइ...?’ प्रअले एकदिन भने ।
‘आ...सर, कभर गरेकै छु नि ।’ उनले भनिन् ।
प्रअ निहुरिए।
‘ए भित्र बस, बाहिर किन ?’ सदाझैं अस्ति पनि हातको लट्ठी हल्लाउँदै विद्यार्थीलाई कोठाभित्र धपाउँदै थिइन् ।
‘सर आज त गैससको मिटिङ छ । काम दिएर आएको छु, म हिँडे ।’ उनीे जवाफको प्रतीक्षा नै नगरी बाहिरिइन् ।
‘के हो म्याडम्, यो चालले त ...।’ एकदिन अध्यक्षले भने ।
‘वार्षिक उत्सवमा पुरस्कार त तपाईंले नै दिनुहुन्छ क्यारे ।’ उनले भनिन् ।
अध्यक्षको आँखा अघि रमिलाका नेता श्रीमान्को प्रभावशाली अनुहार नाच्यो ।
‘मलाई अझै राम्ररी समाज सेवा गर्ने हौसला मिलेको छ।’ अर्को प्रश्नको जवाफ दिंदै थिइन् रमिला, रमेशले टिभी बन्द ग¥यो।
४) सहयात्रा
‘ला, यिनको देशभक्ति ! कमलराज चौतारीमा टुक्रुक्क बसेको मात्र थियो आडैमा समाचार सुन्दै गरेको मान्छेले रेडियो भुईंमा पछारयो ।
‘रिसमा आफ्नै रेडियो फोडेर के पाइन्छ ?’ कमलराजले सोध्यो, ‘अनि को हो त्यो बलराम?’ कमलराजले दोहोरयायो ।
‘ए ! थाहा छैन ? ल सुन्नोस् ।’ रेडियो फोर्ने आवेशमा बोल्यो ।
लोग्नेको मृत्युपछि जवान देवर, बलरामप्रति आकर्षित उसले एक रात भनी, ‘बाबु, यता आउनुस् न।’ ऊ नजिक गयो ।
‘आज यही कोठामा सुतौं न ।’ ऊ झन् नजिक गई । बलराम तक्र्यो । उसले टाँसिने कोसिस गरी । ऊ फेरि तक्र्यो ।
‘भाउजू, के गरेको यो ? लोकले के भन्छ ?’ उसले रिसाउँदै भन्यो ।
‘कसले के भन्छ ? कति दिन भन्छ, .... ?’ भाउजूले भन्दै थिई तर ऊ बाहिरियो ।
भोलिपल्ट भाउजूले बलरामलाई बोलाई । मागेर लगाएजस्तोे हुने पाइजामा दिँदै भनी, ‘ल, आज यो लगाउनोस् ।’ बलरामले इन्कारेन ।
ऊ गाउँ डुली फर्केपछि भाउजूले सोधी, ‘कसैले केही भन्यो ?’
‘कसैकसैले आँखा तरे।’ उसले जवाफ दियो ।
‘ठिकै छ, तरिरहून् ।’ भाउजू बोली ।
उसले केही दिन त्यही ह्वाङलाङ्गे पाइजामा लगाइरह्यो । केही दिनपछि कसैले केही भन्न छाडे ।
अर्को दिन भाउजूले आफ्नो रातो स्वेटर दिँदै अन्कनाएको बलरामलाई भनी, किन, कसैको डर लाग्छ ? विचार गर्नोस् न।’
उसले पत्यायो । फर्केपछि भाउजूलाई सुनायो, ‘मान्छेहरू मलाई देखेर हाँसे।’
‘हेरौं न कति दिन हाँस्छन् ।’ ऊ भोलिपल्ट, पर्सिपल्ट, ... गइरह्यो । केही दिनपछि एक साँझ उसले सोधी, ‘हिजोआज कसैले केही भन्छ?’
‘अहँ।’ बलरामले मुन्टो हल्लायो।
उसले बलरामलाई अङ्कमाल गरी, चुम्बन गरी, लाडिई र बिस्तराको सहयात्री बनाई । केही दिनपछि बलराम भाउजूको इच्छासँगै रमाउन थाल्यो ।
कमलराजले जिब्रो टोक्यो।
५) पैसा
अस्पतालको शय्यामा छटपटाउँदै गरेकी मेनकाका याचनायुक्त रसिला आँखा मेरा आँखामा ठोक्किए ।
आँखा जुधे तर हेरिरहने आँट आएन । मैले धमिला आँखाले घडी हेरेँ – निडलले दुई देखाइरहेको थियो ।
‘संविधान बनाउने महामानवको खोजीमा दुर्गम पुगेको लोग्नेको फोन लाग्दैन, स्वास्नीको यो हाल छ।’ मन कँुढियो।
‘के थियो नि समस्या ?’ मैले सोधें।
‘गर्भवती थिइन् । स्वास्थ्य केन्द्रबाट थाहा भयो – जन्डिस पनि भएछ । गाडी रिजर्भ गरेर ल्याएँ । अब डा. कृष्ण आफन्त पनि, स्त्रीरोग विशेषज्ञ पनि, अन्त जाने कुरै भएन, उनैकहाँ लगें । उनले आफ्नो क्लिनिकमा तीन दिन राखेर विसेक नभएपछि बल्ल यो अस्पताल पठाए। यहाँ ल्याएको पनि चार दिन भइसक्यो, अहिले पनि यस्तो हाल छ।’ देवीले एकैसासमा बेलिबिस्तार लगाए ।
‘छोेरालाई पर्खी बस्नुभएन, सर । उसले थाहा पाउला नपाऊला, छुट्टी पाउला नपाऊला !’ देवीको गला अवरुद्ध भयो।
‘अब के गर्ने ?’ डा. कृष्णलाई डायल गरेँ । भन्यो, ‘सम्पर्क हुन सकेन, पुनः डायल गर्नुहोला।’ पुनः गरें । पुनः गरें तर उही उत्तर ।
केही बेरपछि पियनसँग खबर पठाएछन् – ‘पाटन अस्पताल रिफर गरिदिएको छु, लानुभए हुन्छ।’
‘हामी अत्यन्त दुःखी छौं, बच्चाको मृत्यु पाँच दिनअघि नै भइसकेको रहेछ, आमालाई बचाउने प्रयत्नमा छौं।’ अर्को दिन डाक्टरले भनेको सुन्दा देवी र उनकी जहान हिमशिखरबाट पातालमा पछारिए।
तेस्रो दिन बुहारीका लागि चिता बन्दै थियो । मलामीतर्फ फर्केर गम्भीर हुँदै देवी बोले, ‘कति शक्तिशाली रहेछ हँ यो पैसा ? यसले त आफन्त, चिनजान, पेसागत दायित्व सबैका आँखामा पट्टी लगाउँदो रहेछ है !’
(‘विपर्यास’ लघुकथा सङ्ग्रहमा सङ्गृहीत !)
प्रकाशित: १८ असार २०७८ ०९:४८ शुक्रबार