८ कार्तिक २०७८ सोमबार
कला

हत्या–स्मृति

लघुकथा

सरिमले श्रीमतीसित अलिक खुसी हुँदै सोध्यो, ‘अनामिका, आज  स्नेहाको ‘बर्थ डे’ मा के उपहार दिने हो ?’

अनामिकाले टिठिँदाकै लवजमा भनिन्,  ‘हैन, किनकिन आज मुडअप भा’छ। मलाई  केही गर्ने मनै छैन।’

सरिमले नरम हुँदै सोध्यो, ‘भन न, के भएर त्यस्तो भयो ? आशीर्वाद दिएर फर्किहालौँ न बरु।’

त्यत्तिकैमा स्कुले झोला बोकेर उनीहरूको ६ बर्से छोरा विवेक टुप्लुक्क आइपुग्यो। उसले आमासित लाडिँदै भन्यो, ‘आज हितेशकी बहिनी स्नेहाको बर्थ डे। मलाई पनि हितेषको जस्तै बहिनी चाहिन्छ क्या ।’

अनामिका झन् उदास बनिन् तर आफ्नो उदासी अनुहार लुकाउँदै भनिन्, ‘कति राम्री स्नेहा !  अहिले बोल्लाजस्तो आँखा, पुक्क परेको गाला र भर्खरै पलाउँदै गरेका कपाल । मलाई त काखमा राखेर थैथै गरिरहन मनपर्छ।’

विवेकले भन्यो, ‘सबै साथीका बैनी छन् आमा, मेरा किन बैनी छैनन् ?’

सरिमले वातावरण शान्त पार्दै छोरालाई भन्यो,‘स्नेहालाई नै बैनी माने भयो नि त छोरा।’

अनामिकाका आँखामा आँसु टलपलायो । श्रीमतीको आँखामा आँसु देखेर सरिमले सोध्यो, ‘किन आज एकाएक रोसी खोलो गड्गडायो ?’

अनामिकाले निराश हुँदै भनिन्, ‘के गर्ने ? अहिले हाम्री छोरी पनि स्नेहाजस्तै हुने थिई ।’

वातावरण एकाएक मौन बन्यो । न सरिम बोल्न सक्यो न अनामिका नै केही भन्ने स्थितिमा रही । पटकपटकको सरिमका दबाबमा भ्रुणमैं भएको हत्या–स्मृति एकाएक सजीव भएर बिउँतिसकेको थियो सरिम र  अनामिकाका हृदयमा।

प्रकाशित: १७ असार २०७८ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App