ध्रुवकृष्ण ताम्राकार
१)
निर्लिप्त नै छन् जताततै बेइमानी बजार यहाँ,
इमानको खडेरी लाग्यो झुठो छन् हजार यहाँ।
सत्य माउ खोज्छ्न ढोंगी दाउ खोज्दै हिँड्छन्,
गरिबीलाई झुपडी आफू खोज्छन् दरबार यहाँ ।
२)
घुमाउरो बाटो त धेरै थियो तर म सिधा हिंड्छु,
कुरा फेर्ने बानी छैन तर जे देख्छु म सिधा बोल्छु।
बेरंगीको दुनियाँमा रंग बदल्नेहरू धेरै छन् यहाँ,
कानोको बस्तीमा ऐना व्यापारीहरूको भीड देख्छु ।
३)
खरानीमा उमारेर सकिंदैन रहरहरू,
बालुवामा त बनाउन सकिंदैन घरहरू।
संघर्ष हो कान्लो र ढिस्को फोर्दै जाउ,
भोक र युद्ध नभएको हुँदैन शहरहरू ।
४)
सायद नजर खोज्छन् हजार सम्झनाका तेरेलीहरू,
डुबेछुं पलपल अझै उघ्रिरहुन आँखाका परेलीहरू।
दूरका बादल बर्षेर प्यासी सावन रुझाउन थाल्यो,
तपतप पानी भिजेर लोलाउँछन् मनका मझेरीहरू।
५)
रातले अँध्यारो काटेपछि त बिहानी हुन्छ,
हार हैन डटेर यहाँ जितको खजानी हुन्छ।
फूल र काँडा पनि सँगसँगै भएजस्तै साथी,
जिन्दगीमा सुखदुःख सधैं घामपानी हुन्छ।
प्रकाशित: १७ असार २०७८ ०६:१३ बिहीबार