२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मलाई असार चाहिन्छ

कविता

सुनिता गिरी  

 

 

हरियो पहिरनमा  

तीव्र पाइला चालिरहेको असारलाई  

लगातार पछ्याउँदैछु म ...

तर –

सिमसिमे पानीको रेसमी बाछिटाहरूमा  

निमग्न भिजिरहेको उसले  

मलाई –

भर्खरै टाँगिएको इन्द्रेनी देखाएर  

प्रेमिल आवाजमा

अब मलाई नपछ्याऊ भन्दै छ  

आफन्तको आग्रह भुलेर  

अब त्यसरी कहिले नदौड भन्दैछ ...

तर हतारहतार भागिरहेको त्यो असार  

मलाई चाहिन्छ।

 

कुहिरोको सेतो पछ्यौरी ओढेर

परपर गइरहेको असारलाई  

आफैसँग कैद गर्न चाहन्छु म ...

फेरि –

घामको धारमा टेकेर  

धमिलो खोला तर्न लागेको उसले  

मलाई  

चराहरूको सुमधुर आवाज सुनाएर

अब तिमी यो गाउँ छोडेर  

व्यर्थै मेरो मायामा नभुल भन्दैछ  

तर

म कसरी बिर्सूँ उसलाई  

प्रतीक्षामा भिज्दै कुर्नेछु  

एक हूल वसन्तलाई अँगाल्दै  

उसकै यादमा लछप्पै रुझ्नेछु  

तर,

जान्छु नभनी पाइला सार्दै गरेको त्यो असार  

मलाई चाहिन्छ !

प्रकाशित: १६ असार २०७८ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App