पुतलीहरू सौन्दर्यका अप्रतिम विम्ब हुन्।
हामी बाँचिरहेको धरालाई शोभायमान तुल्याउन, हामीभित्र सौन्दर्यका भोक–तिर्खा जगाउन, वन–उपवन, झाडी, बगैँचा र उद्यानमा प्राण भर्न पुतलीका निर्दोष, निश्छल र प्रभावकारी उडान अद्वितीय रहन्छन्, सदैव। अनेक रङले साजसज्जायुक्त पुतलीका सौन्दर्यलाई हरेकका दृष्टिले टिप्छन्। उसको शरीरमा व्याप्त सप्तरङ्गी रङ देखेर मुग्ध बन्छन्।
यो मौसममा म भने केही ‘पुतली’का कथा भन्न चाहन्छु, अभागी पुतलीका कथा। प्रताडीत पुतलीहरूका कथा। अर्थात्, पुतलीका उडानलाई सन्दिग्ध देख्ने नजरका कथा। शासक र पुतलीबीच अन्तर्सम्बन्धित कथा। यो केवल कथा मात्र होइन। दृष्टिभ्रमबाट विमुग्ध, गन्तव्यप्रति विमुख र उदासीन एवं आफ्नै घृष्टता, अहंकार, अभ्यर्थना, खोक्रा उमङ्ग/उत्सवमा रमाइरहेका शासक र पुतलीबीचको अन्तरद्वन्द्वको कथा हो यो।
अचेल शासकले पुतली मन पराउन छाडेका छन्। किन मन पराऊन् त ? कहाँ पुतलीका अवर्णनीय सौन्दर्य, कहाँ शासकका खुइलिएको सौन्दर्य। एक छिटा पनि तुलना हुन सक्दैनन्।
ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’
मैले देखें– उड्दै–उड्दै एउटा पुतली शासकको कोटमा आएर बस्यो। क्रुद्ध देखिए शासक। उनले भने, ‘हटा यो पुतलीलाई। कसले अनुमति दियो यसलाई मेरो यो मुलायम र सुन्दर छटाको कोटमा राज हुनलाई ?’
सम्पूर्ण शक्ति परिचालन गरेर त्यो पुतलीलाई हठात् हटाइयो। फेरि अर्को पुतली आयो र शासकको देब्रे कुमनिर बस्यो। फेरि क्रुद्ध देखिए शासक र पुनः त्यही आदेश जारी गरे, ‘हटा, यो पुतलीलाई पनि। के यसले अरू बस्ने ठाउँ देखेन, यो भूतलमा ? मेरै कुममा बस्नुपर्छ, यसलाई ?’
हटाइयो त्यो पुतलीलाई पनि।
यथार्थतः पुतलीहरू शासकको कोट, कुम, टोपी इत्यादिमा कुनै रहरले बस्न पुगेका भने थिएनन्। तिनीहरू शासकलाई केही कुरा सुनाउन चाहन्थे, केही सुझाव दिन चाहन्थे, शासकलाई सौन्दर्यको पारखी बनाउन चाहन्थे र शासकमा अन्तरनिहित अमानुषिक चरित्रमा परिवर्तनका रङ पोतिदिन चाहन्थे। शासकले भने पुतलीलाई सन्दिग्ध नजरले हेर्न थाले। पुतलीको सौन्दर्यलाई सन्दिग्ध ठान्न थाले। तिनीहरूका उडान, पखेटाका फर्फराहट र एउटा वनस्पतिदेखि अर्को वनस्पतिसम्मको यात्रालाई पनि सन्दिग्ध मान्न थाले।
राजा भोजमा जति धीरता थियो, त्यति धीरताका पालुवा पलाउन छाडे, शासकमा। सत्तारोहणको पूर्व पीठिकामा जसरी कैयन् पुतलीले राजा भोजलाई सचेत तुल्याउँदै भनेथे, ‘पख्नोस् महाराज। यो कुर्सीमा बस्नुअघि म एउटा कथा सुनाउन चाहन्छु। तपाईं यो कुर्सीमा बस्नलायक पात्र हुनुहुन्छ कि हुनुहुन्न ? मेरो कथाले निर्धारण गर्नेछ।’
त्यो राजा विक्रमादित्यको कुर्सी थियो। पूर्णतः चामत्कारिक। सिंगो राज्यका जनमन र बलका हृदयमा अटाएका विक्रमादित्यको कुर्सीमा बस्न राजा भोजले बत्तीस थरी पुतलीका कथा सुनेका थिए, ती पुतलीका कथा शक्तिलाई मनन गरेका थिए। अचेलका शासक भने आफ्ना वरपर पुतली फर्फराउन थाले भने सिधै भन्ने गर्छन्, ‘के तिमीहरू मलाई त्यही विक्रमादित्यको कथा सुनाउन आएका हौ ? भो पर्दैन मलाई उनको कथा सुनाउन। म उनीभन्दा हजारौं गुणा बढी सक्षम छु, उनीभन्दा हजारौं गुणा बढी न्यायप्रिय छु, दानवीर छु, परोपकारी छु।’
निरुत्तर हुन्थे, पुतलीहरू शासकको कुरा सुनेर। तर, पुतलीहरू थिए, कर्तव्यपरायण। उनीहरू आफ्नो कर्तव्यको रेखाबाट डगमगाउँदैनथे/डग्मगाउँदैनन्, रत्तिभर। मन परे पनि, नपरे पनि उनीहरू शासकलाई कथा सुनाउन चाहन्छन्। शासकका पाइला नलड्खडाओस् भनेर कथा सुनाउँदै आइरहेका छन्, वर्षौंदेखि। कहाँ त्यत्तिकै अन्त्य हुन्छ र उनीहरूले सुनाउने कथा ?
शासकहरू अनिच्छुक रहँदारहँदै पनि केही पुतलीले उनीहरूलाई विक्रमादित्यको एउटा कथा सुनाए। कथाको सार यस्तो थियो–
‘एक दिनको कुरा हो, राजा सिकार खेल्न जङ्गलतिर गए। सिकारका लागि दौडधुप गर्दागर्दै उनी एउटा पहाडमा पुगे। त्यो पहाडमा एकजना साधु तपस्यारत थिए र राजाले त्यो दृश्य देखे। तर, साधुको तपस्यामा कुनै असर नपरोस् भनेर राजा मात्र अभिवादन गरेर फर्किन चाहे।
फर्किन लागेको देखेपछि साधुले उनलाई रोके र भने, ‘पुत्र, तिम्रो शिष्टाचार देखेर म अति प्रशन्न र द्रवीभूत भएँ। म तिमीलाई आशीर्वादस्वरूप एउटा फल दिन चाहन्छु। जसले यो फल खान्छ, उसले पुत्रलाभ गर्दछ।’
साधुले फल दिए, उनलाई। फल प्राप्तिपछि राजा साधुप्रति श्रद्धानत भए।
राजा फर्किंदै थिए। बाटोमा उनले एउटी युवतीलाई देखे। ती युवती पूरै बेहाल अवस्थामा थिइन्। राजाले उनको अवस्थाबारे बुझ्न चाहे, उनी भने राजाको कुरा सुन्न छाडेर नजिकैको पोखरीतिर दौडिन थालिन्। आत्महन्ता–प्रवृत्तिकी ती युवतीलाई राजाले रोके र सोधे, ‘तिमी किन आत्महत्या गर्न चाहिरहेकी छौ ?’
ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’
युवतीको कुरा सुनेपछि राजाले उनलाई केही समयअघि आफूले पाएको त्यही फल दिए, जुन फल खाँदा पुत्रलाभ हुन्थ्यो। राजाले भने, ‘तिमी यो फल खाऊ, तिमीलाई पुत्रलाभ प्राप्त हुनेछ।’
त्यो फल लिएर युवती आफ्नो घरतिर लागिन्।
केही दिनपछि एक ब्राह्मण दरबारमा आए। उनले राजालाई एकान्तमा भेट्न चाहे। एकान्तमा भेटेपछि ती ब्राह्मणले एउटा अचम्मको फल राजालाई दिँदै भने, ‘महाराज, तपाईं हाम्रा राजा हुनुहुन्छ, मैले यो चमत्कारी फल फेला पारें। यदि यो फल तपाईंले सेवन गर्नुभयो भने तेजस्वी पुत्र प्राप्त हुनेछ।’
ती ब्राह्मणलाई राजाले सोधे, ‘तिमीले यो फल कहाँ फेला पार्यौ ?’। ती ब्राह्मणले कुनै विलम्ब नगरी उक्त फल आफ्नी प्रेमिकाबाट प्राप्त गरेको बताए। उनले भने, ‘मलाई मेरी प्रेमिका असाध्यै माया गर्छिन्, उनले नै मलाई स्नेहपूर्वक यो फल दिएकी हुन्।’
ब्राह्मणलाई यथेष्ट दान–दक्षिणा दिएर राजाले बिदाइ गरे।
राजाले त्यो चमत्कारी फल रानीलाई दिए। तर, रानीको प्रेम कोतवालसँग थियो र उनले त्यो फल कोतवाललाई दिइन्। कोतवालको प्रेम थियो– एउटी चर्चित गणिकासँग। ती कोतवालले गणिकालाई दिए, त्यो फल। अत्यन्तै दूरदर्शी थिइन्, गणिका। उनले सोचिन्, ‘यदि यो फल मैले नखाएर राजालाई दिएँ भने राजा र जनता दुवैको कल्याण हुनेछ।’
ती गणिका राजाकहाँ फल लिएर गइन् र राजालाई त्यो फल दिइन्। राजाले तिनलाई सोधे, ‘तिमीले यो फल कोबाट पाएकी हौ ?’ ती गणिकाले कोतवालबाट पाएको कुरा निर्धक्क बताइन्।
राजाले रानीलाई सोधे, ‘मैले तिमीलाई दिएको फल कता राख्यौ ?’
रानीले भनिन्, ‘महाराज, त्यो फल त मैले तपाईले दिनुभएको दिन नै खाएँ।’ जब राजाले त्यो फल रानीलाई देखाए, रानी चकित। रानी जुन ठाउँमा उभिएकी थिइन्, ढलिन् त्यहीं।’
पुतलीहरूले कथा सुनाए। एउटा मात्रै होइन, फेरि अर्को कथा पनि सुनाए।
‘राजा विक्रमादित्यले नयाँ महलमा दरबार बनाए। एक मध्याह्न राजा दरबारको शयन कक्षमा निदाइरहेका थिए। जब उनी ब्युँझिए र आँखा खोले– सामुन्ने महालक्ष्मी उपस्थित थिइन्। राजाले लक्ष्मीलाई प्रणाम गरे। त्यसपछि लक्ष्मीले राजाको पूरै महलमा धन–सम्पत्तिको वर्षा गरिन्। त्यो देखेर राजाले भने, ‘देवी, आज मसँग जेजति सम्पत्ति छन्, ती सबै हजुरकै कृपाले प्राप्त भएका हुन्। मलाई अब कुनै वस्तुको अभाव छैन। यदि हजुर चाहनुहुन्छ भने मेरो दरबारमा होइन, पूरै राज्यमा धन–सम्पत्ति वर्षा गरिदिनुस्, म आफ्नो राज्यको हरेक नागरिक सम्पन्न भएको देख्न चाहन्छु।’
‘तथास्तु,’ आशीर्वाद दिएर लक्ष्मी अन्तर्ध्यान भइन्।
भोलिपल्ट उज्यालो नहुँदै राज्यभर हल्ला फैलियो– गएको राति राज्यभरि धनको वर्षा भयो। यो खबर राज्यका एक मन्त्रीले राजालाई सुनाए। राजाले आदेश दिँदै भने, ‘सबै धन राज्यकोषमा राख्नू, यो धन जनताको हितमा खर्च होस्।’
ती मन्त्रीले सोधे, ‘महाराज, राज्यमा धनवर्षा भएको विषयमा तपाईंको के हुकुम छ ?’
राजाले सोधे, ‘धनवर्षा भएको विषयमा जनताको कस्तो प्रतिक्रिया छ ? केही बुझेका छौ तिमीले ?’
मन्त्रीले भने, ‘धनवर्षा हुँदा जति धन बर्सिएका थिए/छन्, त्यसमा राजाको अधिकार हुन्छ भनेर जनताले भनिरहेका छन्। जनताले त अहिलेसम्म एउटा पनि धनमा हात लगाएका छैनन्।’
राजाले भने, ‘निश्चय नै, इमानदार जनता पाएर हामी धन्य भएका छौं। यदि बर्सिएको धनमा जनताले...।’
मन्त्रीले सोधे, ‘महाराज, हाम्रो राज्यमा यस्तो चमत्कार चाहिँ कसरी भयो ?’
राजाले सबै वृत्तान्त ती मन्त्रीलाई बताए। त्यसपछि राजाले आदेश दिँदै भने, ‘हिजो राति नागरिकहरू बस्ने ठाउँमा जुन धनवर्षा भयो, त्यो सबै सम्पत्ति नागरिककै हो। यदि अरू कसैले नागरिकको त्यो धनमा हात लगाउँछन् भने उसले कडा राजदण्ड भोग्नुपर्नेछ।’
राजाको आदेश सुनेर नागरिक प्रशन्न भए। बर्सिएको धनलाई देवीको प्रसाद ठानेर सभ्य, सौहार्द र प्रेमपूर्वक नागरिकले स्वीकार गरे।’
कथा वाचनपछि शासकका प्रतिक्रियाको धरालत बुझ्न चाहन्थे, पुतलीहरू। तर, शासकका अनुहारको भावभंगी पूर्णतः बिथोलिएको थियो। शासकको स्वभाव त्यस्तै हुन्छ आखिर। आफ्नो इच्छा विपरीतका कथा श्रवण गर्ने बानीमा अभ्यस्त हुँदैनन्, तिनीहरू। शासक आफ्नै रुचि र बखानका कथा सुन्न पाए मात्र रमाउँछन्।
कथा सुनेपछि आंशिक रूपमा क्रुद्ध देखिएका शासकले पुतलीलाई सोधे, ‘हे पुतलीहरू। तिमीहरूले यो कथा मलाई किन सुनायौ ? अकारण किन सुनायौ, यही कथा ? मलाई कथा सुनाउने तिमीहरूका तीव्र लालसा थियो भने के संसारमा अरू कथा थिएनन् ?’
एउटा पुतलीले विनीत हुँदै भन्यो, ‘यो कथाबाट हजुरले केही शिक्षा ग्रहण गर्नुहुन्छ कि भनेर सुनाएका हौं। अरू कुनै उद्देश्य वा प्रयोजन जोडिएको छैन।’
शासकले चारैतिर नजर घुमाए र उत्तेजित एवं उपेक्षापूर्ण हाँसो छर्दै भने, ‘हे पुतलीहरू, एउटा कुरा बुझिराख, म राजा विक्रमादित्यजस्तो वैराग्य ग्रहण गर्ने शासक होइन। म यो कुर्सीमा कुनै वैराग्य प्राप्त गर्न आएको पनि होइन। म सत्ताको भोग, सुख र चरम आनन्द बटुल्नका लागि आएको हुँ। यो कुर्सी प्राप्तिका निम्ति मैले पार गरेका संघर्षका उबडखाबड गल्छेडासँग तिमीहरू परिचित छैनौ सायद। ती गल्छेडा मैले कसरी नाघें ? मलाई छिर्के हानेर लडाउन आफ्नै वृत्तका भद्रजन कति सक्रिय थिए ? तिमीहरूजस्तै कैयाैं पुतलीले बाह्य घेरामा उभिएर मलाई कुर्सीमा आसिन हुनुपूर्व कति कथा सुनाउन तम्सिएका थिए। तर, म जसरी भए पनि सत्ताको चरम स्वाद लिन चाहन्थेँ। हे पुतलीहरू, नसुनाऊ मलाई कुनै पनि ज्ञानबर्द्धक कुरा। नपढाऊ कुनै नैतिक शिक्षाका पाठ। म विक्रमादित्य बन्न राजनीतिको मैदानमा ओर्लिएको पात्र होइन।’
केहीबेर मौन रहे, पुतलीहरू। मौनताको तगारो नाघेर फेरि बोल्न थाले, पुतलीहरू, ‘हे शासक, हामीले तिमीलाई केही कथा सुनाउनैपर्छ। तिमीले ती कथा ध्यानपूर्वक सुन्नैपर्छ। तिमी अहिले जुन ठाउँमा विराजमान छौ, त्यो ठाउँमा पुर्याउन हाम्रो पनि भूमिका छ, लघु रूपकै भए पनि। हामीले उचालिदिएर नै तिमी त्यो ठाउँमा, त्यो शीर्षासनमा आसीन हुन पुगेका हौ। के तिमीले अब हामीलाई उपेक्षा गर्न सुहाउँछ ? के तिमीले खोला तरेपछि लौरोलाई बिर्सन मिल्छ ?’
‘तर अचेल तिमीहरूको गतिविधिप्रति म सशंकित छु। तिम्रा गतिविधि सन्दिग्ध छन्। मलाई पुतलीहरूले सन्दिग्ध क्रियाकलापमा आफूलाई सामेल तुल्याएकोप्रति क्षुब्धता छ।’ शासकले पुनः चारैतिर शासकीय दृष्टि फ्याँक्दै भने।
एउटा पुतलीले भन्यो, ‘हरेक शासकले सत्ताको ताला–चाबी ग्रहण गरेपछि हामी पुतलीहरूलाई यस्तै सोच्छन्, हामीप्रति यस्तै–यस्तै घटिया दृष्टि राख्छन्। पहिला–पहिलाका शासक पनि हामीलाई मन पराउँदैनथे। हाम्रा गतिशील उडानमा उनीहरूले प्रतिबन्ध लगाए। हाम्रा रङहरू देखेर उनीहरू तिल्मिलाए। हाम्रा भद्र, नम्र र आत्मीय स्वभाव देखेर उनीहरू हिच्किचाए। आखिर, शासक पुतलीप्रति किन यति धेरै असहिष्णु बन्छन् ? अमर्यादित बन्छन् ?’
‘किनभने, पुतलीहरू सन्दिग्ध लाग्छ मलाई।’ शासक मुस्कुराए।
‘हामीलाई सन्दिग्ध देख्ने नजरको विकास शासकमा सत्ताको शिखरमा पाइला टेकेपछि उत्पन्न हुन्छ। तर, सत्तारुढ हुनुअघि शासकहरू हाम्रो सौन्दर्यको बखान गरेर थाक्दैनन्। हामीलाई आफ्नो कोट, कुम र टोपीमा आएर बसिदेओस् भन्ने चाहना पाल्छन्। बस्थ्यौं हामी तिम्रा कोटहरूमा, तिम्रा टोपीहरूमा। त्यो बेला हामीप्रति कति नरम र लचिला हुन्थ्यौ। तर, अहिले ?’
शासक र पुतलीहरूबीचको संवाद निकै तन्किँदै थियो। एउटा पुतलीले जबर्जस्ती अर्को कथा सुनाउन चाह्यो। उसले भन्यो, ‘हामी कथा सुनाउने प्राणी हौं। कथा सुनाउने जातका प¥यौं। म फेरि अर्को कथा सुनाउन चाहन्छु। जबसम्म हामीलाई सन्दिग्ध देख्न छाड्दैनौ, तबसम्म कथा सुनाइरहन्छौं हामी।’
‘मलाई तिमीहरूको कथा सुन्ने फुर्सद छैन। तिमीहरूका कथा सुन्न थाल्दा मलाई राजकीय कार्यमा व्यवधान उत्पन्न हुन्छ। म राजकीय काम गर्न आएको हुँ। तिमीहरूको कथा सुन्न यो आसनमा बसेको हुँ र ?’
‘कथा नसुन्ने शासकका पतनको कथा पनि निकै दुःखदायी छ। संसारमा जेजति शासकले स्थानच्युत हुने सुवर्ण अवसर पाए, तिनीहरूले हामीजस्ता असंख्यौं पुतलीका कथा सुन्न चाहेनन्। अन्ततः तिनीहरूको शासकीय कथाको अन्त्य दुःखद् र त्रासदिपूर्ण ढंगले भयो,’ एउटा पुतलीले भन्यो।
‘भए होस् मेरो पनि। म तिमीहरूका कथा सुन्न चाहन्नँ।’ अहंकारले भरिपूर्ण हुँदै शासकले पुतलीका कथालाई ललकारे। र, सिधै भने, ‘सन्दिग्ध पुतलीसँग म सदैव सचेत रहँदै आएको छु। अब त झनै
सचेत हुनेछु।’ पुतलीहरू कथा सुनाउन चाहन्छन्, शासकलाई। शासकमा भने राजा भोजमा जति पनि धैर्यता छैन, राजा भोजजति पनि सहिष्णु छैनन् र राजा भोजजति पनि विवेकवान् छैनन्। शासकहरू पुतलीका कथालाई बहिष्कार गर्छन् र सयौंपटक उच्चारण गर्छन्, त्यही वाक्य, ‘मलाई सन्दिग्ध पुतलीहरूका कथा सुन्न आवश्यक छैन।’
प्रकाशित: १२ असार २०७८ ०३:०७ शनिबार