१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

अतृप्त इच्छा

लघुकथा

गंगा खड्का  

 

‘ओहो, भ्यागुताको ट्यारट्यार आवाजले नि निदाउनै नसकिने भो बा ।’ अनुपमाले कोल्टे फेरेर सुत्ने कोसिस गरी । निद्रा आएन। पुलुक्क छोराको मुखमा हेरी। छोरो मस्त निद्रामा थियो।

झ्याल उघारेर बाहिर हेरी। आकाश धुम्मिएको थियो। मनमनै आफूलाई धुम्मिएको आकाशसँग तुलना गरी अनि लामो निश्वास लिँदै ओछ्यानमा पल्टी। कोरोनाले आक्रान्त भएर उन्नाईस दिनदेखि अस्पतालमा भर्ना भएका लोग्नेको पिरलोले फेरि निद्रालाई चोरयो।

‘आज त आधा पेट खाएर भए पनि छोरालाई टन्न खुवाउन पाएँ। भोलि के गर्ने होला ?’ उसले रित्तिएको चामलको भाँडो सम्झी।

अस्पतालमा पैसा खेपेर भ्याएको छैन भनेर जेठाजु गुनासो गर्नुहुन्छ ।मर्ने बाँच्ने ठेगान छैन। यता रासनको भाँडा सबै रित्तिँदै छन् । छरछिमेकसँग सरसापट गर्न नि कोरोना लागेको घरको मान्छे भनेर बोल्नै डराउँछन् ,सरसापटको त कुरै छोडौँ।’ उसको मनमा औडाहा भयो।

‘बहिनी ढोका खोल त।’ सँगै कोठामा बस्ने देवकीले ढोका ढकढकाइन् ।’

‘दिदी ! यति राति?’ अनुपमाले प्रश्न तेर्साई ।

‘दिउँसो त घरभेटीले भेट्न दिनु नि परयो नि ।’ देवकीले आफूसँग ल्याएको हटकेस दिँदै भनिन्।

‘आहा ! दिदी मासुभात पो रहेछ।’

अनुपमाले खुसी व्यक्त गरी– तिम्रो कोठामा आज कुकरमा सिट्टी लगाएको नि सुनिनँ, भोकै सुत्यौ होला भनेर लुकाएर राखिदिएकी। वरपरका सबै सुतेपछि मात्रै पुराउन आएकी।

भकाभक भात मुसेर खान लाग्दा झसङ्ग छोरालाई सम्झी ।

‘छोराले पनि मासु खान नपाएको धेरै भयो।’ उसले सोची।

‘बाबु मासुभात खान उठ।’  

छोरालाई बलपूर्वक झकझकाई।

‘आमा ! सपना देख्नुभयो कि क्या हो?’ छोराले निद्रामा बर्बराइरहेकी आमालाई सोध्यो।

प्रकाशित: ११ असार २०७८ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App