२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नदेखेको मेलम्चीको दुखेको पीडा

खेमराज पोखरेल

 

मेलम्चीले मेलम्ची बगाइरहेको थियो । नागरिक न्युजका भाइ श्रीराम राईले मलाई भन्नुभयो – दाजु, मेलम्ची बगायो । एउटा संस्मरण लेख्नु न।

सायद उहाँलाई लागेथ्यो होला कि म मेलम्ची पुगेको छु । किनभने उहाँलाई थाहा छ कि म स्वभावले फिरन्ते छु। डुलुवा छु। परिस्थितिले खँदारे पनि नेपालका सबै जिल्लाका राजधानी घुम्ने रहर छ मेरो । लगभग ६५ जिल्ला थोरबहुत पुगेको छु ।तर दुर्भाग्य म मेलम्ची पुगेकै थिइनँ । देखेकै थिइनँ।

हो, अहिले मैले नदेखेको मेलम्ची बगेको छ। मेलम्ची रोएको समाचार र भिडियो हेरेर म आफैँ पनि रोइरहेको छु । दर्दनाक दृश्यले द्रवीभूत भएको छु । अमेरिकामा बसेको छु तर नेपाल बोलेको छु । नेपाल खुसाउँदा म खुसाउँछु । दुःखमा रुन्छु । किनकि नेपाल मेरो हो। मेरो मुटु हो । मेरो म हुनुको बोध हो नेपाल।

मेलम्ची नदी गाउँमा पस्यो कि गाउँ मेलम्चीमा पस्यो भन्ने कुरा यतिबेला प्रधान कुरा होइन । सरकार गतिलो पर्यो कि परेन, त्यो पनि मैले खोजेको विषय होइन । छैन । राजनीतिक पार्टीको अन्त्यहीन गथासा र आरोप÷प्रत्यारोपमा मेरो चासो होइन । जो जता पसेको भए पनि मेलम्ची रोइरहेको छ । सरकार गतिलो परे पनि न परे पनि नेपाली रोइरहेका छन् । राजनीतिक पार्टीले यही मौकामा राजनीति गरे पनि न गरे पनि सारा परिवेश रोइरहेको छ । हो त्यही परिवेशमा म पनि अरूझैँ रोइरहेको छु । साँच्चि भनूँ मेरो वामजस्ताको यो रुवाइ दुःख त हो तर आम हो । किनकि मेरो व्यक्तिगत त्यहाँ केही गएको छैन । त्यहाँ मैले व्यक्तिगत केही गुमाएको छैन । मलाई केही भएको छैन । त्यसैले मेरा लागि त्यो मेलम्चीको रुवाइ पनि आम हो । हो, मैले मेलम्चीका गह्रा, कान्ला तथा अन्तरकुन्तर चहारेको पनि थिइनँ । तर प्रशस्त सुनेको थिएँ कि मेलम्ची साह्रै सुन्दर बजार हो, जहाँ एकपल्ट पुग्नुपर्छ । मेरो योजना त्यहाँ यो पल्ट नेपाल गएका बखत पुग्ने थियो, तर बिडम्वना म त्यहा ँअब मेलम्ची बजार देख्दिनँ। म पुग्नुपूर्व नै मेलम्ची बग्यो। 

टीभीका पर्दामा मेलम्चीको बाढीलाई हेरिरहेको थिएँ । पक्का घरहरू भकाभक ढल्दै गरेका र बग्दै गरेका दृश्यहरू थिए । रुँदै गुहारगुहार भनेका मेलम्ची आर्तनादहरू सुनिन्थे । टीभीका पर्दामा  मेलम्ची भेल भएर हुँडारिँदै थियो । मान्छेको चिहिलबिहिलले भगवान् भाक्दै थियो । त्यसैले मेलम्चीको बग्दै गरेको भेलमा त्यहाँका नेपालीको भाग्य बगेको अनुभूत गरेँ । त्यहाँ जिन्दगीका विजोग थियो । उफ, कहाँ थियो र जिन्दगी मेलम्चीको ? त्यो त बग्दै थियो मेलम्चीको भुल्काभुल्कामा । यही बेला म अलि स्वार्थी भएँ र त्यहाँ मेरा चिनारु व आफन्त पो कोही परे कि भनी थप चिन्तित हुन थालेँ । दिमागमा लघुकथा कुनोमा भेटिएका र चिनारु भएका मेलम्चीका बालकृष्ण गजुरेलको याद आयो । याने कि साहित्यमा स्माइल गजुरेलको याद आयो । किनभने उहाँको लघुकथाको सङ्ग्रह सम्पादन गर्दै हेर्दै थिएँ म । सिन्धुपाल्चोक चौताराका साहित्यकार तथा कलाकार अमित घिमिरेलाई सो ग्रन्थको आवरण पृष्ठ बनाउन अनुरोध पनि गरेको थिएँ सायद।  

हो,मैले नदेखेको मेलम्चीकोे भेल बगिरहेको बेला स्माइल गजुरेललाई मेसेज गरेँ । वैदेसिक रोजगारीमा रहनुभएका उहाँले बल्लबल्ल मेसेजको जवाफ दिनुभयो – घर लग्यो । सम्पूर्ण खेत लग्यो । मेलम्चीको ड्याम फुटेर नदी १ किमीमाथि आयो। असम्भव हदभन्दा माथि आयो। घरबार, खेतबारीविहीन बनायो। बल्लतल्ल भूकम्पपछि घर बनाएको १ वर्ष पनि कटेन। जोगी बनायो। हालसम्मका सम्पत्ति जग्गाजमिन सकियो। सय मुरी धान फल्ने खेत तथा घर पानीमा बगे।

यसपछि भने म मेलम्चीसँग मनले, दिमागले र हृदयले एकाकार भएँ । रुँदै गरेका मेलम्चीबासीसँग रुन थालेँ । यही बेला डिलमा बसेर मेलम्चीबासी आफ्नो बग्दै गरेको घरखेत हेर्दै थिए । एकाएक करोडपतिबाट शून्यमा झर्दै थिए । सयौँ वर्षको आफ्नो पैतृक सम्पत्ति गुमाउँदै थिए। स्वदेशमा तथा विदेशमा कमाएर मेलम्ची बजारमा चार आना जग्गा किनेर घर बनाएका थिए । त्यही घरमा आफ्नो सुदूर भविष्य सुन्दर देख्दै थिए । तिनै खेतका गह्रामा लहलहाएको धानका बुटा हेर्दै थिए । 

भौतिक रूपमा मैले नचिनेका मेरा मित्र लघुकथाकार बालकृष्ण गजुरेल विदेशका ताता घाममा छाला डढाउँदै हुनुहुन्थ्यो । एउटा सुरक्षित भविष्यको डिल उक्लनै लागेको अनुभूत हुँदै थियो सायद । जिन्दगी गल्र्याम्म ढल्यो । उहाँकै शब्दमा जोगी बनायो । यो कस्तो नियति हो मान्छेको ?

हो, मलाई थाहा छ कि मान्छे, यो श्रीसम्पत्ति, यो वैभव सबैका सबै नाशवान् छन् । शास्त्र त्यस्तै भन्छन् । तत्वज्ञानले त्यसै भन्छ । अध्यात्मले  पनि सुखदुःख सनातनीय हुन् भन्छ । यो मैले बुझेको कुरा हो । तर गाउँ नै स्वाहा भएको पीडादायी दृश्यले यो कुरा मान्दैन। यो कहर भोगेका मान्छेको आत्माले यो डाँडाका डिलमा बसेर सुकिलो भएर अघाएका बेलामा भनिएको तत्वबोधलाई आत्मसात् गर्न सक्दैन।

यही विन्दुमा म घोरिएको छु । यो संसारमा पन्पिएको मानव सभ्यता प्रकृति र मान्छेको बीचको लडाइँको प्रतिफल हो । मान्छेले विज्ञानको विकास गर्यो । विज्ञानले विकासको चमत्कार गर्यो । विज्ञानले गरेको विकासको चमत्कारलाई मान्छेले बेइमान तर चतुर खेलाडी भएर समुद ्रथुनेर बस्ती बसायो । खोला बाँधेर बस्ती बसायो । प्रकृतिमाथि धावा बोल्यो मान्छेले । यो क्रममा कहिले मान्छेको विकासले प्रकृतिलाई जित्यो । कहिले प्रकृतिको रिसाहा झोँकले मान्छेलाई जित्यो । कहिले विकासले विनाश निम्त्यायो । कहिले विनाशले विकास निम्त्यायो । यो संसारमा गौर गरेर हेर्ने हो भने मान्छेले न त प्रकृतिलाई गुदान्यो, न त प्रकृतिले नै आफ्नो बाटो छोड्यो।

यसरी मान्छेले निर्माण गरेको विकास मोडेल र प्रकृतिको विनाश मोडलका बारेमा हामीले याने मान्छेले, याने सरकारले याने अन्तर्राष्ट्रिय संस्थाले केही सोच्ने हो कि भन्ने लागेको छ । प्रकृति र विकासलाई सन्तुलन गरेर वैज्ञानिक आधारमा अवधारणा बनाउने हो कि ? नत्र त नेपालका गाउँहरू यो अघि पनि प्राकृतिक प्रकोपको सामना गर्न नसकेर निमिट्यान्न भएका छन् । यो यथार्थ नेपालको इतिहासले बताई नै रहेको छ । अव्यवस्थित  विकास भन्नु अविकास हो । यो कुरा बुझ्नु जरुरी छ।

यो कुराको विषयलाई मध्यविन्दुमा राखेर पनि यो विपदको बेला ‘खोलामा बस्ती कि बस्तीमा खोला’जस्ता मेलम्चीलाई प्रत्यक्ष दुख्ने विषयमा बहस नगर्ने हो कि जस्तो लाग्छ मलाई । चहर्याएको घाउमा नुनचुक नलाउने पनि के मानवीयता होला र ? तर पनि यो मान्छेको नियत र विकास मोडेल प्रतिप्रश्न भने उठेको छ अहिले । विज्ञान पनि सहमत छ कि यो ब्रह्माण्ड भन्नु मान्छेको पेवा होइन । यसमा मान्छे, जनावर, वनस्पति तथा समग्र प्रकृतिको साझे हक लाग्छ । यो साझे अवधारणा अरू पक्षले त बुझेकै छ तर मान्छे भने अबुझ भएको छ । ऊ वन फाँड्छ, बस्ती बसाउँछ । खोला थुन्छ, बस्ती बसाउँछ । डाँडा काट्छ, बस्ती बसाउँछ । मान्छेले जताततै डोजर कुदाउँछ । प्रकृतिले पहिरो कुदाउँछ । त्यसैले मेलम्चीले एउटा सन्देश दिएको छ कि मान्छे, प्राणी तथा प्रकृतिको बीचमा भइरहेको यो युद्ध अब विराम गर्नु पर्छ । युद्धको विराम अब मान्छेले नै गर्नुपर्छ।

फेरि पनि मेलम्ची रोइरहेको छ । सबै मिली मेलम्चीको आँसु पुछ्नु अहिलेको पहिलो कुरा हो । फेरि मित्र बालकृष्ण गजुरेललाई सम्झेको छु । उहाँ त्यसपछिको एउटा लघुकथामा लेख्नुहुन्छ –

‘किन पिरोलिएको बाबु ?’

मैले आँसु  पुछ्दै  भने – घरखेत सबै गुमाउँदा चिन्ता नभएर के हुन्छ त ?

उनी नजिकै आए र भने – अब उठ्नुभयो भने कहिल्यै लड्नु हुन्न बाबु।

हो मेरा मित्र बालकृष्णको यो आँटलाई सहारा लिँदै म समस्त मेलम्चीलाई भन्छु कि अब उठ्नुस्, कहिल्यै नथाक्नुहोस् । जिन्दगी भनेको यस्तै हो ।  

सानमार्केस, अमेरिका

प्रकाशित: ९ असार २०७८ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App