नवराज शर्मा
मत्र्यलोकमा आफ्ना शापित सन्तानहरूको अवस्था बुझेर नन्दी प्रभुको दर्शन गर्न उपस्थित भए । मुसुक्क हाँसेर शिवजीले नन्दी र तिनका सन्तानको कुशलमंगल सोध्नुभयो। प्रतिउत्तरमा नन्दी खिस्रिक्क अनुहार लाएर बिन्ती गर्न लागे ’ प्रभु ! के भन्नु ! हजुरको आदेशको उल्टो कुरो मनुवालाई तीन समय खानु एक समय नुहाउनु भन्दा आजसम्म मेरा सन्तानले नपाउनु दुःख पाइरहेछन् प्रभु !
भोल बाबा मुसुमुसु हाँसिरहनुभयो ।
’ प्रविधिले हलोलाई विस्थापित गरेपछि मनुवाहरूले बाच्छालाई हेला गर्न लागे। गोठमा बस्न दिएनन्। सडकमा लघारे। सडक दुर्घटनामा परेर ती अगति पर्नलागे प्रभु ! ’
शम्भोको मुस्कान यथावत् उस्तै थियो।
‘पुस्तौं मनुवाको सेवा गरेका मेरा सन्तानले कहिले मुक्ति पाउलान् प्रभु ?’
‘मत्र्यलोकमा अवलोकन भ्रमण गर्दा लघुशंका लागेपछि के गरेका थियौ रे ?’ भोलेले हाँस्दै प्रतिप्रश्न गर्नुभो।
शम्भोलाई ठट्ठाको भावमा देखेर नन्दीले भने, ‘मनुवाले मेरा सन्तानलाई त के आफ्ना कुटुम्बलाई समेत भोकलाग्दा खाना र तिर्खालाग्दा पानी दिंदा रहेनछन् । त्यसैले शौचालयको व्यवस्था पनि नगरेका रे। भएकामा पनि आफ्नै सुखसुविधाका लागि दस्तुर लिंदारहेछन्। त्यही भएर पुनः आफ्नो स्वरूपमा आई मैले लघुशंका गर्नु परेको थियो प्रभु ।’
लामो सास फेरेर नन्दीले पुनः सोधे, ‘मेरा लालाबालाले कहिले मुक्ति पाउलान् प्रभु ?’
मुसुमुसु हाँस्दै शिवजीले भन्नुभो, ‘मुक्ति पाइसके तिम्रा ती लालाबालाले।’
‘खै प्रभु ! उनीहरू यहाँ आइपुगेनन् त !’
‘अहिले आफ्नो सेवा र दुःखको प्रतिफल उपभोग गर्दैछन्।’
‘कसरी प्रभु?’
‘सडक दुर्घटनामा परेपछि तिनका आत्मा सत्तासीनहरूको शरीरमा प्रवेश गर्छन् अनि दीन दुनियाँको वास्ता न गरी मस्त रहन्छन् ; सत्तासुख भोग्छन्।’
‘मैले केही मेसो पाइन प्रभु !’
‘नन्दी ! मेरो प्रिय भक्त ! तिमीले मेसो नपाउनाको कारण तिनको मनुवा रूप हुनु , तिनका प्रवृति साँढे जस्तो हुनु र मतिचाहिं गोरु जस्तो हुनु हो।’
‘कहिलेसम्म तिनले राज्यभोग गर्नेछन् प्रभु ?’
‘जहिलेसम्म शासित मनुवाहरूले हाम्रो छाडी राम्रो रोज्दैनन् र वर्ण जात केही होइन हामी सबै मानिस हौँ भनी सोच्दैनन् , त्यतिन्जेल। ’
‘त्यति सोच्न भूलोकमा प्रलय नै आउनुपर्छ होला प्रभु !’
‘प्रलय भूलोकमा होइन वत्स ! प्रलय तिनका मथिंगलमा आउनुपर्छ। ’
भोलेबाबा मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो।
नन्दी पनि मुसुक्क हाँसे।
प्रकाशित: ६ असार २०७८ ०८:४८ आइतबार