टंक भट्टराई
म त्यस्तै सात वर्षको उमेरदेखि होेला स्कूल जान थालेको । गाँउमा त्यो बेला पढ्नुपर्छ भन्ने मानसिकताको विकास भर्खरै हुन थालेको थियो । मभन्दा बढी उमेरका दाइहरू धेरैजसो स्कूलै जाँदैनथे । वस्तु गोठालो, घाँस–दाउरा, मेलापात गर्नमै उनीहरूको दिल चित्त थियो । उस्तै चेतनशील परिवारका मात्रै नत्र छोरीहरू पढाउने चलन थिएन । बरु, छोरीचेलीहरूलाई चाँँडै पराईघर अन्माउने चलन थियो। यही सोचले नै होला दिदीलाई चाहिँ स्कूल पठाइएन मचाहिँ जान थालेँ।
खाल्लेको पहिलो स्कूल शीतला स्कूल हो । त्यसपछि हाम्रै घरछेउ कात्तिकेमा कर्णबहादुर राईको प्रयासस्वरूप कालिका प्राविको स्थापना भयो । प्राविमा शिशु कक्षादेखि तीन कक्षासम्मको पढाइ हुन्थ्यो त्यो बेला। मेरो औपचारिक शिक्षा त्यही स्कूलबाट प्रारम्भ भयो । घरेलु कपडाको सर्ट र इँजार भको कट्टू लाएर खाली खुट्टै फुत्रुङ–फुत्रुङ म स्कूल झर्थें । मलाई हात समातेर क, ख चिनाउने पहिलो गुरु हर्क नारायण श्रेष्ठलाई म कहिल्यै बिर्सन सक्दिनँ । हामी हर्के मास्टर भन्थ्यौं उहाँलाई । वर–पीपलका ठूला–ठूला रूखको फेदमा स्कूल थियो । स्कूल छेवैमा सिम्ले खोलाबाट ल्याएको खाम्खुवाली राईको कुलो छङछङ बग्थ्यो । हामी भुराभुरी त्यो कुलामा खेल्थ्यौँ । पानी छ्यापाछाप गर्थ्यौं ।
हिमाल, पर्वत, रुद्र, शुक्र, जनक, कुमार, बलराम, प्रेम, ठाकुर, नारान, फणिन्द्र, गोविन्द, दीर्घ, हरि आदि मेरो जीवनका पहिला सहपाठी साथीहरू हुन् । केटीहरूमा डाँडाघरकी भोटी, प्रेमकुमारी, देवी आदि थिए । केटाकेटी सँगै बस्न त परै जावस् केटीसँग बोल्यो भने अरूले जिस्काउँथे त्यसैले त्यति बौल्दैनथ्यौँ । हरेक शुक्रबार गोबरले कक्षा लिप्नुपर्थ्यो । टर्चलाइटका बेटारीले कालो पाटी पोत्नुपथ्र्यो । कसैले पानी बोक्ने, कसैले गोबर ल्याउने र कसैले बेञ्ची सार्ने, मिलाउने आदि कामको जिम्मा हुन्थ्यो । आफ्नो जिम्माको काम नगर्नेलाई सरले भाले पार्थे । उँधो मुण्टो लाएर ठाडो चाक पारी घुँडामुनिबाट हात छिराएर कान समातेपछि भाले भइन्थ्यो।
त्यो बेला पढ्ने भनेको आफ्नै लागि हो, पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने सोच नै थिएन हाम्रो । बाउ–आमा र गुरुको डरले जबर्जस्ती पढ्थ्यौं । पढ्नभन्दा उपद्रै गर्न मन हुन्थ्यो । हिमाल, पर्वत, लक्ष्मण मेरा उपद्र्याहा साथी थिए । हामी कहिले स्कूलबाट भागेर तल खाम्खुवा रिट्ठा टिप्न जान्थ्यौं र खोप्पी खेल्थ्यौं । वैशाख, जेठको बेला कुनै–कुनै रूखहरूमा लटरम्मै वर पाक्थे । रूख चढ्ने साथीहरू हाँगा–हाँगा चहार्दै वर झार्थे । नसक्नेहरू भुइँमा झरेका वर बटुल्थ्यौं । खान्थ्यौं । आरुबखडा, आरु, किम्बू पाक्नै पाउँदैनथे । हरियै टोक्थ्यौं । अरूका बगैंचामा पसेर आँप चोरेर काँचै खान्थ्यौं । काँक्रा टिपेर कुद्थ्यौं । अर्काका छानामाथिका फर्सी र कुभिण्डा लडाउँदै हिँड्थ्यौ । ती फलफूलहरू नपाकीकन काँच–काँचै खाएकाले केही समयपछि रगतमासी पर्न थाल्थ्यो । खुट्टा गल्न थाल्थ्यो । जतिखेरै जहाँ पनि निद्रा मात्र लाग्ने गर्थ्यो ।
एकचोटि हाफछुट्टी भएपछि हामी तीन–चार जना बिजुले बढाउका बारीमा अम्बक चोर्न गयौँ । तिनले हामीलाई लखेट्तै स्कूलसम्म ल्याए र सरलाई किन छाडा छोडेको भनेर कराउन थाले । हर्क सरले भाटै भाटाले हानेर चार बजेसम्म गिरानमा भाले पारे । हामी रालसिंगान भएर पुर्लुक–पुर्लुक ढल्थ्यौं । हर्क सर आएर चाकमा बजार्थे।
हर्क सरको त्यो सजायपछि म त्यति चोर्न छोडे। त्यसपछि त्यहाँ तीन कक्षा सकेर माथ्लो स्कूलमा पढ्न थालियो।
त्यतिखेर माथ्लो स्कूल (शीतला निमावि) मा कक्षा सातसम्मको पढाइ हुन्थ्यो । चार कक्षादेखि सात कक्षासम्म पढ्दाका केही साथीहरू तल्ला स्कूलका नै थिए । केही नयाँ साथीहरू थपिए। तल्ला स्कूलमा हर्क सरको कुटाइपछि पढ्नमा अलि चासो त बढ्यो तर, साथीहरूको सङ्गतले उपद्रो गर्न भने छोडिएन।
गर्मीको याममा स्कूलबाट भागेर धेरै साथीहरू तल सिम्ले खोलामा पौडी खेल्न जान्थे । कहिलेकाहीं रहरले म पनि जान्थें । उनीहरू काली दहमा माथिबाट झ्वाम्म हामफाल्थें र फेदमा पुगेर ढुङ्गो निकाल्थे । काली दह हेर्दै डरलाग्दो । मलाई भने पौडी खेल्न सा¥है डर लाग्थ्यो । काली दहमुनिको सानो दहमा खुट्टा टेकेर पौडी खेल्थें । साथीहरू सिकाइदिन्थे । मैले कति चोटि पानी खाएँ तर, पौडी खेल्न भने कहिल्यै सिकिनँ । नसिकेकोमा मलाई अहिले पछुतो लाग्छ ।
त्यस्तै पाँच–छ कक्षामा पढ्दा होला । भर्खर कुखुरे बैंस चढ्दै थियो । टिपिन भएपछि सबै जना बाहिर निस्के । कक्षाकोठामा खेमकुमारी (नाम परिवर्तन) र म मात्र भयौं । मैले उपयुत्त मौका ठानें र “हेर् खेमकुमारी ” भनेर ‘मनपरी देखाइदिएँ । त्यसपछि ‘तँलाई पख् है त भनेर खेमकुमारी अफिसतिर हिँडी । अब मार्छन् भनेर म भाग्ने दाउ हेर्दै थिएँ डिल्ली सर यत्रो भाटो बोकेर आए र ‘किन त्यसो गरिस्’ भन्दै भाटैभाटाले हान्न थाले । मैले अब गर्दिन भनेर माफ मागेँ । खेमकुमारी ‘खाइस्खाइस् भन्दै गिज्याउन थाली । सबैका अगाडि मेरो बिजेत भयो।
एक चोटि म शनिबारको दिन तिर्पालीका धारातिर घाँस काट्न गाको थिएँ । बर्खाको बेला थियो । खेतका हरिया मकैमा भर्खरै जँुगाबस्न थालेका थिए । पारिगाउँकी बिमली (नाम परिवर्तन) मकै घारीभित्र गीत गाउँदै घाँस काट्दै थिई । म पनि उसकै नजिक गएर बात मार्दैैै घाँस काट्न थालें । निकैबेरपछि खोई के बुद्धि आयो बिमलीलाई त्यस्तै के मनपरी कुरा भनेर जिस्क्याएँ । बिमलीले अब तँलाई मार्छु भन्दै हातमा हँसिया बोकेर लखेटी । म डोको–सोको छाडेर खेतैखेत हामफालेर भागें । लखेट्दा–लखेट्दै नभटेपछि बिमलीले ढुङ्गो टिपेर टुनुनु–न हानी । मेरा टाउकैमा लाग्यो र भलभली रगत आयो । म रुँदै थचक्क बसें । बिमली डराई र मेरो छेउमा आएर किन त्यसो भनेको त ? भन्दै वनमारा निचोरेर टाउकामा लाइदिई । रगत लागेको कपाल मजेत्रोले पुछिदिई । अनि सँगै घाँस काट्न थाल्यौँ । बिमलीले मलाई पनि घाँस काटिदिई । त्यसपछि हामी सँगै घर फर्कियौं । मैले त्यो चोट कसैलाई देखाइनँ । पछि आमाले जुम्रा हेर्दा ठूलो खत देख्नुभएछ । ‘हन के भको टाउकामा ? केले चोट लाग्यो ?’ भनेर सोध्नुभयो । मैले अस्ति नै लडेर चोट लागेको हो भनेर ढाँटे। यस्तो हुँदा पनि किन भनिनस् ? भनेर आमाले कराउनुभयो । म भने बिमलीलाई सम्झेर मनमनै हाँसे।
एक दिन चार बजेपछि हामी निकै जना साथीहरू हातमा किताबकापी बोकेर हान्निदै घरतिर झरिरहेका थियौं । अलि पछाडिपट्टि केटी साथीहरू आइरहेका थिए । मलाई के बुद्धि आयो कुन्नि बाटाको धुलोमा पिसाप फेर्दै एक जनाको नाम लेखिदिएँ । उनीहरू त्यहाँ आएपछि त्यो नाम देखेछन् । त्यसपछि उनीहरूले मलाई ढुङ्गाले हान्दै लखेटे । म बारीका गरा–गरा हामफाल्दै मतानका घरनेरि पुगें । भोलिपल्ट धुलोमा मैले जसको नाम लेखिदिएको थिएँ, उसैले स्कूलमा पुग्नेबित्तिकै सरलाई भनिदिई । मैले दुई–चार झापट राम्रै भेटें।
बाँसझ्याङ हुँदी मनपरी कुरा त कति लेखियो कति । सम्झी साध्य छैन।
म कक्षा सातमा पुगेको थिएँ । अब माथ्लो स्कूल छोडेर दिक्तेल धाउने बेला भएको थियो । दश बजे घण्टी लागेपछि हामी सदाँझै गिरानमा लामबद्ध भयौं । म खाल्लेका होम बस्नेतको ठीक पछाडि उभिएको थिएँ । मेरो आँखा उनले लाएको कट्टूमा प¥यो । उनको कट्टू कम्मरमा लाबर (रबर) भएको तन्किने खालको थियो । त्यतिखेर इलास्टिक भएको कट्टू कसै–कसैले मात्र लाउने गरेका थिए।
नत्र, इँजार भएको तलसम्म झुन्डिने कट्टू हुन्थ्यो सबैको । उनको त्यो तन्किने कट्टूमाथि केही दिन अघिदेखि नै मेरो ध्यान जान थालेको थियो । इँजार बाँध्नुपर्ने, बाँध्दा कहिले गाँठो पर्ने, कहिले चुडिँने जस्ता समस्या बेहोरिरहनुपथ्र्यो हामीले । लाइनमा गोडा फार सत्रक चल्दै थियो । मलाई तत्काल के छाँटा चढ्यो कुन्नि यसो विचार गरेँ ‘होमको कट्टू तानेर तलसम्म पुरयाउनुपरयो ।’ मैले पनि यताउति हेर्दै उनको कट्टू फुत्त तानेर घुँडा मुन्तिरसम्म पुरयाइदिएँ । लाइनमा हाँसोको फोहोरा छुट्यो । उनको ‘मनपरी’ पूरै देखियो । उनले पख्लास् भन्दै लखेटे । उनको त्यत्रो बेइजेती हुँदा सहून् पनि कसरी ? अब मार्ने भए भनेर म पनि हामफाल्दै उँधो भागें । सरहरूले पनि मेरो बद्मासी थाहा पाएर अरू केटाहरूलाई भनेर मलाई समातेर ल्याउनका लागि पठाए । तल च्यानडाँडा पुगेपछि मैले पक्राउ खाएँ र डरले काम्दै स्कूल आएँ । त्यसपछि गिरानमा उभ्याएर नरे सरले मलाई भाटैभाटाले हाने र एक घण्टासम्म भाले पारे । अहिले तिनै होम बस्नेतकी बहिनी (काकाकी छोरी) मञ्जु मेरी भाइबुहारी भएकी छिन् ।
यसरी सानामा मेरो उरन्ठेउलोपन र बद्मासी कम्ती थिएन । कहिले आफ्नै मनले अ¥हाएर त कहिले अरूले उक्साएर यस्ता काम मैले धेरै गरेको छु । गोरु चराउन जाँदा खेतबारीका भित्तामा तास खेल्ने, आरुका बियाँको कौडा बनाएर जुवा खेल्ने, खोपी, ढुस आदि खेल्ने, पैसा चोर्ने, स्कूल जाँदा चामल, मकै, भटमास जे पाइन्छ त्यही चोरेर फोकु नेवारकी बूढीलाई बेच्ने जस्ता फट्याइँ त कति गरियो कति लेखेर साध्य छैन । भनेर साध्य छैन।
यसरी पहाडी गाउँ–ठाउँका झर्रा र टर्रा बोली व्यहोरासँगै बिताएका स्कूले जीवनका ती उत्ताउला र उरन्ठेउला क्षणहरू अहिले पनि हरेक सपना र विपनाहरूमा जिस्क्याउन आउँछन् । ती प्रिय साथीहरू जसलाई मैले त्यस्तो व्यवहार गरें । उनीहरूले चाहिं ती कुरा सम्झेका छन्, छैनन् कुन्नि । हुन त, केटाकेटी बेला त्यस्ता घटनाहरू हामीलाई सामान्य लाग्थे । एक–दुई दिन बाझो, जुधो, मनपरी बोलो । त्यसपछि मिलो । खेल खत्तम । कुनै लामो रीस, इबी नै रहँदैनथ्यो । भर्खर अघिका कुरा पनि हावासरी बिलाएर जान्थे ।
ऊ बेलाका कति साथीहरू त बिते । रहेका भएकाहरू पनि को कता, को कता भेट हुनु पनि हम्मे छ । यदि नमरी बाँचे कुनै बेला भेट भइहाल्यो र उनीहरूले ती पुराना दिन कोट्याएछन् भने अनजानमा भएको गल्तीवश कान समातेर उठबस गर्नुपर्ला ।
प्रकाशित: ४ असार २०७८ १२:०१ शुक्रबार