तारा केसी
‘प्रभात! क्षितिज! तिमीहरू छिटो तयार भएर निस्क है। आज हामी मेलिना आन्टीको घरमा खाना खान जाँदै छांै। म बाबालाई पनि फोन गर्छु उतै आउनु भनेर।’ काव्या फोनमा कुरा गर्न लागिन् श्रीमानसँग।
‘म उता आउन भ्याउँदिनँ काव्या! तिमी छोराहरू लिएर जाऊ। मेरो खानाको चिन्ता गर्नु पर्दैन तिमीले। आज म बाहिरै खाएर आउँछु।’
श्रीमानले फोन राखेपछि काव्या श्रृङ्गार गर्न थालिन्। निलो सारी लगाइन्। निलो रंग उनलाई मनपर्ने रंग थियो। साधारण गहनामा सजिइन् । श्रृङ्गार नगर्दा पनि सुन्दर लाग्ने रूप छ हाम्री काव्याका मान्छेहरू भन्थे।
‘मिलेका दाँत। काला ठुलाठुला आँखा। कलरफुल केश।’ देख्ने –भेट्ने मान्छेहरू प्रशंसा गर्दै भन्थे– ‘रूप मात्र हो र शीलस्वभाव पनि राम्रो छ काव्याको। पूर्ण रूपमा सुन्दर नारी ।
चिटिक्क परेर काव्या छोराहरूको कोठामा पुगिन्। छोराहरू अझ तयार भैसकेका रहेनछन्। ठुलो छोरा प्रभातले रुन्चे अनुहार पारेर भन्यो–‘मामु! हजुर र भाइ गइस्यो । म जादिन क्या!’
–किन?
‘मलाई मेनिला आन्टीको घरमा जान मन लाग्दैन मामु! गत वर्ष हामी जाँदा मेलिना आन्टीले अरू मान्छेलाई भन्दै थिइन्। प्रभात त काव्याको सौताको छोरा हो । कहाँ उसको आफ्नै छोरा हो र?’ जुन कुरा म सुन्न चाहन्न त्यहीँ कुरा किन सुनाउँछन् मान्छेहरू मामु!’
प्रभातको कुरा सुनेर काव्या झसङ्ङ भइन्। प्रभात एक वर्षको हुदाँ बितेकी रहिछिन् आमा। त्यो परिवार तनावमा भएकै बेला प्रभातको बाबासँग विवाह गरेकी थिइन् काव्याले। प्रभातको सम्पूर्ण जिम्मेवारी उनले नै लिएकी थिइन्। कहिले महसुस हुन दिइनन् उनले प्रभातलाई उसको आमा अरू कोही थियो भनेर।
आज प्रभातको कुराले उनलाई नरमाइलो लाग्यो। प्रभातलाई छातीमा टाँस्दै उनले भनिन्, ‘बाबु ! तिमी मेरो छोरा हौ। मुटुको टुक्रा हौ। अरूले भनेर हुन्छ? त्यस्ता मान्छेको कुरा सुनेर कहिले मन नदुखाऊ है।’
आमाको स्नेहमा फुरुङ्ङ हुँदै प्रभातले मनमनै भन्यो, ‘धन्य भगवान्, मलाई यति धेरै माया गर्ने आमा दिएर तिमीले मलाई टुहुरो हुनबाट बचायौं ।
प्रकाशित: ३ असार २०७८ १३:२७ बिहीबार