२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

राम्रो पनि राम्रै देखिन्छ

कविता

पौडेल केशवप्रसाद

 

 राम्रो पनि राम्रै देखिन्छ

झन् राम्रै अझै राम्रो

त्योभन्दा पनि राम्रो

झन् नराम्रो देखिन्छ (१)

छुट्याउन नसकेको हो कि

भ्रममा परेको

पारेको हो कि  

पर्न सिकेको

झन् राम्रो भन्दा राम्रो

झन् नराम्रो देखिन्छ (२)

अनैतिकता, अनुशाससनहीनता

अभद्र, तुच्छ र निकृष्टता

बेइमानी, धुर्त्याइँ र ठग गुण

झैंझगडा, रिस र आक्रोशहरू

गड्याङगुडुङ गर्दै गडगडाउँछन्

आकाश– जमीन थर्काउँदै

जन–जनमा चट्याङ चटकाउँदै

अपशब्द, अपमान र अश्लीलताको

श्रग्धधारा बर्साउँदै  

आइदिन्छ  

फेरि

चातुर्यतापूर्ण तरीकाले बहुलाउँछ

मोहनी भाकामा, सम्मोहनको गाथामा

सबै नतमस्तक पारिदिन्छ

बोल्यो कि पोल्यो बनाउँदै

कहिले डरको डण्डा बर्साउँदै  

त  

कहिले हलालीय दम्भ प्रस्तुत गर्दै

वास्तवमै मारिदिन्छ  

निम्छरोको कठालो समातेरै  

र पनि  

अनि पनि क्या दामी देखिन्छ र भइदिन्छ होई

सबैभन्दा राम्रो

ठ्याक्कै त्यसैलाई उल्ट्याइदिऊँ न

अनि देखिन्छ

जवाफदेही, उत्तरदायी र अनुशासित

इमानदार, नैतिकवान् र सर्वभद्र

सुशासनको उच्चतम सर्वोत्तम आसन

साँच्चै

त्यसैलाई पल्टाइदिऊँ न

क्या दामी देखिन्छ है

स्वर्गको त्यो खस्रो ग्रेगरिलो बाटोभन्दा  

नर्कको त्यो पिचाइलो सफा सडक

त्यो उकालो, भिरालो, खोली र गल्छेँडाभन्दा  

उत्तम

आहा !

त्यो सम्माइलो सिधा बाटो

 अलिअलि घुमाउरो कहिले  

कु आकारमा त कहिले ऊ आकारमा

कहिले क्ष आकारमा त कहिले ज्ञ आकार

क्या मिठो छ है

अमिलो त्यो आँपभन्दा  

चिनाइलो त्यो विषाइलो जुस

चाहे उत्तर घुस वा

चाहे दक्षिण घुस

पूर्व, पश्चिम सके जति

सबै जम्मै चुस

जम्मै सबै मुछ

जम्मै खुस

सबै हुस ।।

प्रकाशित: ३ असार २०७८ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App