१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बताससँग जङ्गली फूलको साक्षात्कार

कविता

वन्दना राई

 

निर्भय, स्वतन्त्र

एउटा फूल  

जो गुलाबी –  रंगीन संसारमा

जङ्गली हुन्छे

 

अप्रत्याशित ठाँउमा फुल्नु

बेनियम जिन्दगी जिउनु

सामान्यभन्दा नि सामान्य कुरा

आफूलाई मात्र मान्छे देख्ने मान्छेहरूको

नियम विपरीत हो

जान्दाजान्दै

हिँडिरहन्छे आफ्नै चेतनाको बाटो

पाइला अघि सार्दै गर्दा बिर्सन्छे ऊ अरूजस्तै बन्न

र बनिदिन्छे आफूजस्तै

 

कसैको शिरसम्मको यात्रा गर्न

यहाँ घरेलु हुनुपर्छ, आँगनमै फुलेको

पाउमै घोप्टाउनुपर्ने हुन्छ आत्मसम्मान

र थोरै भए नि कम्ती भएर

हेरेको आँखाहरूले  मात्र ओढ्न पाउनेछ

जूनताराले भेरेको घुम्टो

आफ्नो धर्म सम्झेर

मौसमैपिच्छे क्रमश

फुलिरहनुपर्ने ,  झरिरनुपर्ने

 

ऊ त जङ्गली हुन्छे – निर्भय, स्वतन्त्र  

आफ्नो जङ्गली वासनाले

खिल्ली उडाइदिन्छे

स्वास्नीमान्छेको पिठ्यूँमाथि चढेर हिँडिरहेको युगको

 जबजब शब्दले आफ्नो चित्र कोर्थी

प्रतिबिम्बमा देखिन्थ्यो  (तयामा–खियामा)

योगमाया , फुलनदेवी ,सिमोन दि बुभर आदि

 

नेपथ्यमा भएको एउटा धमिलो चित्र

जसमा देख्थी हजारौं आमाको आकृति

युगौंयुगदेखि उपेक्षित

महत्वहीन तर पूर्ण हुनुको भ्रममा

या त चलायमान हुनुपर्ने भएकाले

लिलामी भइरहने थोक वस्तु जस्तो

 

के यो युगले आफूसँग राख्ने हैसियत राख्दछ  त ?

जङ्गली फूल अंकित चित्र

जहाँ  सुरक्षित महसुस गर्दैन मान्छे

एउटा फूलको स्वतन्त्रतादेखि

हेर्नुस् लगलग कापिरहेछ कोही,

दुरुस्तै अनुहार भएको

निर्भीक भई उभिन्छु भन्दा

आफ्ना लागि ऊ सिर्फ फूल थिई

देख्नेले  सिर्फ जङ्गली देखे

जब ऊ जङ्गली फूल भई

सँगसँगै प्रश्नवाचक चिन्ह भई

उत्तरित हुनुपर्ने

पहिलो सर्त राखेर

 

लामो मौनता तोड्दै

पृथ्वीको गर्भमा लुकेर बसेको एउटा रहस्य बतास

ऊ भएतिर आइपुग्यो

भए जति सम्भावनाका ढोकाहरू

दोहोरो खुला पारेर

जीवनको लयमा लय मिलाउन

सँगसँगै लग्यो उडाएर धमिलो आकृति

यो युगदेखि पर डिस्पोज गर्न

आफू फर्किने बहाना

एउटी  जङ्गली फूल भएको घोषणा गरेर... !

प्रकाशित: ३ असार २०७८ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App