१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

वृद्ध चौतारी

लघुकथा

 तुलसीराम खरेल

वयोवृद्ध रणवहादुरको जीवनमा धेरै आशा पलाएर आएका देखिन्थे। प्रत्येक शनिवार वृद्ध चौतारीमा दुइ दर्जन बढी जेष्ठ नागरिकहरू भेला हुन्थे। रणबहादुरलाई वृद्ध चौतारोमा पुग्न बीस मिनेटजति हिँड्नुपर्दथ्यो। बस्तीको माझमा बनाइएको फराकिलो हल,जेष्ठ नागरिक एवम् अपांग मैत्री शौचालय, फूलबारी, अध्ययन कक्ष, पहाडका दृश्यहरू हेर्न सकिने दृश्यावलोकन टावर सहितको उक्त स्थानमा दौँतरीसँग भेट गर्ने सौभाग्य नै मिलेझैं लाग्थ्यो उनलाई।

टिका सर र रीता बहिनीले प्रायः कार्यक्रम संचालन गर्थे। संगीनी, बालन, गीत, कविता र कथा, मुक्तक र चुट्किला, भजनकिर्तन आदि विधाहरूलाई साप्ताहिक रूपमा समावेश गरिन्थ्यो। प्रतेक महिना उत्कृष्ट र सक्रिय जेष्ठ नागरिक छनोट गरेर पुरस्कृत समेत गरिन्थ्यो। आफ्ना जीवनमा घटेका घटनाहरू, राम्रा अनुभवहरूको साटासाट गर्ने अवसर मिलाइन्थ्यो त्यहाँ। उनले पल्लभीलाई फकाएको तरीका सुनाए, मकैबारीमा फक्रिएको प्रेमको लहरो ताने अनि पत्नी वियोगको घाउ कोट्याए। उनका कथाले धेरैलाई एकैचोटि रोमाञ्चित र भावुक बनायो।

रणबहादुर एकल थिए। उनकी श्रीमती  पल्लभीको सोह्र वर्षअघि नै स्वर्गारोहण भैसकेको थियो। बयासी वर्षका रणबहादुरले गाउने ,नाच्ने, कथा, कविता सुनाएर सबैलाई मन्त्रमुग्ध पार्थे। दोस्रो विश्वयुद्धपछिको बर्मेली बस्तीका कथाहरू सुनाउँदा धेरैका आँखामा त्रासले चियाएको देखिन्थ्यो।

 उनी आफ्नो समयका भारतीय सेनाका जागिरे थिए। कथाका केही पुस्तकहरू समेत लेखेका उनको प्रतिभा घरमा मृत थियो। छोराबुहारीको व्यस्तता र नातिनातिनाको मोवाइल, टिभी मोहका अगाडि उनको जीवन्त इतिहास भ्यागुत्तो जाडो मौसममा जमीनभित्र निधाएझैं निधाउन बाध्य भएको थियो। उनको स्फूर्ति वृद्ध चौतारीले बढाइदिएको थियो। सुगर फ्री बिस्कुटको खुत्ते स्वादलाई ‘ग्रीन टी’ले रुचिकर बनाउँथ्यो वृद्ध चौतारीमा। वृद्ध साथीभाइहरूसँग गफिँदा दिन बितेको पत्तै हुन्नथ्यो। यसरी उनको जीवनको बयासीऔं वसन्त रङ्गीन भएको थियो जसरी उक्त चौतारीको बगैँचामा रङ्गीन फूलहरू हाँसिरहेका थिए।

प्रकाशित: १ असार २०७८ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App