१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

कलेजी रंगको गुलाफ

नियात्रा

डा. दामोदर पुडासैनी किशोर

 

एक बिहानमै धेरै रूपमा प्रकट भयो मौसम मस्कोमा । शहरमा जतिजति अनेक किसिमका वेशभूषाका मान्छेहरू देखिन्थें, उतिउति मौसम पनि रंगीचंगी इन्द्रेनी रूपमा प्रकटभइरहेथ्यो । युरोपका धेरै मुलुकहरूमा जस्तै रूसमा पनि तीन कुराको विश्वास हुँदैन भन्दै थिए अलेक्सि निकोलायएन्कोभ । पादोगा (मौसम), पाद्रुगा (केटी साथी) र रावोता (जागीर) क्षणक्षणमै कुन रूपमा प्रकट हुन्छन् र कुन रूपमा हराउँछन्, त्यो भन्न नसकिने अवस्था भौगोलिक परिस्थिति र संस्कार बनेर जागिरहेछ जुगौंजुग अघिदेखि रूसमा । मौसमको द्रुत फेरबदलको छाया मान्छेको आनीबानीमा परेपछि मान्छे नै मौसम बनेर चलखेल गर्न थाल्दछ।

निवासबाट जुवोभ्स्काय उलिना हुँदै जुवोभ्स्की उलवारस्थित विदेश–मन्त्रालय पुग्दा घामले पुलुक्क मुख देखायो । चियाको कपबाट बाफ निस्केझैं हिमागर र हिमशिलाहरूबाट रेशाहरू देखिए वायुमण्डलमा । माघे झरी थामिएपछि टुप्लुक्क देखिएको घाम र उसको वरिपरि झुत्ती खेलिरहेका प्राणीहरू जस्तो भइरहेथ्यो परिवेश।

अघिल्लो दिन बुझाएको राहदानी फिर्ता लिनु थियो विदेशको मन्त्रालयबाट । वैदेशिक कूटनीतिसम्बन्धी काम गर्ने शाखा अघिल्तिर पुग्दा ढोकामै ‘आगन्तुकको प्रवेश निषेध’ लेखिएको सूचना पाटी देखेपछि हामी झसङ्ग भयौं । ‘राहदानी फिर्ता लिन कति   पटक धाउनुपर्ने हो !’ हाम्रो मनमा नराम्रो आशङ्का जन्म्यो । ‘आखिर संसारभर नै नहुने भन्ने केही छैन । हजुरहरू कारमै बस्नुहोस्, म र सचिन भित्र गएर राहदानी फिर्ता ल्याउँछौं” अलेक्सि निकोलायएन्कोभले आश्वासनसूचक वाक्य छर्नुभयो । ‘तर आगन्तुक प्रवेश निषिद्ध लेखिएको छ नि अलेक्सि’ – मैले भनँ । ‘केही फरक पर्दैन, यो कम्युनिस्ट व्यवस्थाको रुस होइन, अनुशासनमा हिँड्न ।’ – अलेक्सि अलि उत्तेजित देखिनुभयो । साँच्चै केहीबेरमै हाम्रो हातमा राहदानी थमाइदिनुभयो उहाँले ।

अन्दाजी पचास–बाउन्न वर्षका अलेक्सि हरेक कुरामा जिम्मेवार र गम्भीर हुनुहुन्छ । उहाँले सोभियत सङ्घ विघटन भएपछि नेपाली दूतावासमा स्थानीय कर्मचारीको रूपमा काम प्रारम्भ गर्नुभएको थियो ।

“कम्युनिष्ट व्यवस्था गएपछि अब रूसमा अनुशासनले पनि डाँडो काट्यो त ?’ – मैले प्रश्न तेस्र्याएँ अलेक्सिलाई ।  

‘साम्यवादी व्यवस्था गएपछि हाम्रा सबै सुखहरूले डाँडा काटे । सोभियत सङ्घ हुँदा रकेट, गोलाबारुद, हवाईजहाज र किसिम–किसिमका यन्त्र उपकरण बनाउथ्योे देशले । त्यतिखेर कारखाना थिए, काम थियो । काम भएपछि  दाम र मामको दुःख थिएन। समाज अनुशासनमा अडेको थियो । गर्न नहुने काम गर्ने हिम्मत कोही गर्दैनथ्यो । नगर्ने काम कसैले ग¥यो भने उसले सुख पाउँदैनथ्यो । सबैतिर प्रणालीको विकास भएको थियो । साम्यवाद हटेपछि जीवन दुःखै–दुःखको भुमरीमा फसेको छ ।’ जिन्दगीका धेरै वसन्तहरू साम्यवादी व्यवस्थामा गुजारिसक्नुभएका अलेक्सिलाई रूसमा साम्यवाद हट्नु औडाहापूर्ण लागिरहेथ्यो ।

‘शहरमा अरू मान्छेहरू त त्यति दुःखी देखिँदैनन् नि’ – मैले अलेक्सिमार्फत रूसको यथार्थता अरू खोतल्न खोजेँ। ‘मस्कोलाई नियाल्दा देशमा विकास र निर्माण घटेको जस्तो लाग्दैन । तर मस्को बाहिरका गाउँहरूमा पुग्नुपर्छ, रूसलाई बुझ्न । यतिखेर रुसका गाउँहरूको भोकको कालो बादलमा लपटछ । पहिले पचास रुबलले मजासँग एक महिना टर्दथ्यो, अहिलेको नोट नै भए पनि केही गर्न पुग्दैन। रुबल पाउन असाध्य गाह्रो भएको छ । मस्कोमा धेरै विदेशी व्यापारी छन् । त्यसैले यहाँ व्यापारिक र आर्थिक चहलपहल देखिन्छ । तर यहाँ आर्थिक स्थिरता छैन । दिनदिनै धनीहरू अकासिने र गरीबहरू बिलखबन्दमा पर्ने क्रम तीव्र रूपमा बढिरहेछ, अनि कसरी साम्यवादलाई नराम्रो भनौँ हामी !’ अलेक्सिको आवाजमा आक्रोश, असन्तोष र अभावको त्रिवेणी मिसिएको थियो ।

कुरैकुरामा हामीहरू रेड स्क्वायरअगाडि पुगिसकेका थियौं । अघिल्लो दिन रेड स्क्वायर र क्रेमलिन सरसरती घुमे पनि भित्री भाग घुम्न बाकी नै थियो । त्यसमा पनि रूसी महान् राजनीतिज्ञ लेनिनको सुरक्षित शवको निरीक्षण गर्ने मेरो धोको पूर्ण भइसकेको थिएन ।

काला, गोरा, गहुँगोरा, बाल, युवा, वृद्ध जस्ता संसारका सबै रंग जाति–जाति र उमेरको प्रतिनिधित्व भएको हजारौं मान्छेहरूको लहरमा हामी पनि लहर लाम लाग्यौँ, रेड स्क्वायरको बाहिरी पर्खालछेउको ढोकासामु । कमजोर घाम मुटु हल्लाउँदै रल्लिरहेथ्यो मस्को शहरमा । हाम्रो पहिरन ज्याकेट, ऊनी कपडा, सबै काँपिरहेथे जाडोको टोकाइमा।

कुरामा भुल्दा भुल्दै हामीहरू क्रेमलिन पर्खाल पार गरेर रेड स्क्वायरभित्र पसिसकेका थियौं। प्रवेश पाएका मान्छेहरू उत्साहित थिए । रेड स्क्वायरभित्र देखिने कलात्मक भवन, घोडचढी सालिकहरू र भर्खर फक्रेका राता कार्नेसन फूलका थुँगाहरूको माझ हिउँका रेशारेशामा चुम्बन गरिरहेथ्यो घामले । कुनैबेलाका रसियाली सेनापति मार्सल जुकोभ एउटा फुर्तिलो घोडामा बसेर आफ्नो ओजपूर्ण व्यक्तित्वको प्रदर्शन गरिरहेथे । त्यो घोडचढी सालिक देख्दा सजीव लाग्थ्यो । शहीदको सम्झनामा एक कुनामा अखण्ड दीप बलिरहेथ्यो । कसैको सम्झनामा अखण्ड दीप जलाइरहनुभन्दा एउटा सुन्दर फूल फुलाउनु बेस हुन्छ जस्तो मलाई लाग्यो । प्राचीन समयमा विद्युत्को अभावले गर्दा उज्यालो कम हुन्थ्यो । अतः रातदिन आलोक छर्न अखण्ड दीप बाल्ने प्रचलन चलेको हुन सक्छ । तर अहिले यत्रतत्र वैद्युत सुलभताले गर्दा छुट्टै टुकी जलाइरहनुको कुनै उपादेयता रहँदैन । त्यसले वातावरणीय प्रदूषण र खर्चको भार पनि बढ्ने हुँदा अझ नकारात्मकताको सिर्जना हुनु स्वाभाविक नै हो । फूल वृक्षको फैलावटले सर्वत्र जीवन्तताको प्रसार हुने र जीवनदायिनी शक्तिको बोध हुने हुँदा कुनै उद्घाटन–समारोहमा पनि दीप–प्रज्ज्वलन गराउनुभन्दा पुष्पवृक्षमा जलसिञ्चन गरेको कति राम्रो हो कति !

तात्कालिक सोभियत सङ्घको निर्माण बलिदान दिने असङ्ख्य वीर योद्धाका सालिकहरू जोसिलो हाउभाउमा उभिइरहेथे लहरै । बीचभागमा एउटा सानो घर छ – चिटिक्कको । लहरका असङ्ख्य मान्छेहरूसँगै हामीहरू पनि पस्यौं । घरबाहिर नै घरभित्र प्रवेश गरेपछि आवाज निकाल्न नपाइने, तस्बीर खिच्न नपाइने, तोकिएको सीमा नाघी हिँडडुल गर्न नपाइने जस्ता नियमहरूको सूची अंकित थियो । ठाउँठाउँमा सुरक्षा–प्रहरीहरू चनाखो रूपमा सबै यात्रुहरूप्रति आँखा लगाइरहेथे । भवनबाहिर–भित्र सबैतिर स्वच्छता र शान्ति थियो ।

मझेरीमा उत्तानो परेर सुतिरहेको लेनिनको शव देखियो । सुटटाइ पहिरेका, दाह्री – जुँघा भर्खर मिलाएका जस्ता, गोरा, हँसिला लेनिन चिरनिद्रामा सुतिरहेका छन् । रसियाको सिम्बिस्र्क (हाल उल्यानोभ) शहरमा सन् १८७० अप्रिल १० तारीखमा जन्मेका लेनिनले विश्वलाई एउटा नौलो विचार मात्र दिएनन्, सारा रसिया र तत्कालिक सोभियत सङ्घका जनताको सामाजिक रूपान्तरणद्वारा अभूतपूर्व परिवर्तन समेत ल्याइदिए । रूसको नदी भोल्गाको किनारमा गरीबीको मार खप्दा भ्लादीमिर इल्यिच उल्यानोभ(लेनिन)का पिता इल्या निकोलाएभिच उल्यानोभ र आमा मारिया अलेक्सान्द्रभ्नाले आफ्ना छोराले संसारभर त्यसरी क्रान्तिको बिगुल फुक्छन् र सारा विश्वको सामु अविस्मरणीय योगदान पु¥याउँछन् भन्ने कल्पना पनि नगरेका हुन सक्छन् । छोटो अवधिभित्रै उल्लेखनीय योगदान दिन सफल भए बोल्सेविक क्रान्तिका नेता लेनिन विश्वलाई साम्यवादतर्फ मोडेर । दृढ निश्चयपूर्वक त्याग र तपस्या गर्ने हो भने मान्छे मानव मात्र नभै महामानव हुन बेर लाग्दैन भन्ने कुराका उदाहरण हुन् लेनिन।

जनवरी १९२४ मा लेनिनको मृत्यु भएपछिदेखि उहाँको शव रेड स्क्वायरमा सार्वजनिक प्रदर्शनीको लागि राखिएको छ । सोभियत सङ्घको विघटनपछि रसियाका प्रथम राष्ट्रपति एल्तसिनले सन् १९९१ देखि १९९८ सम्मको आफ्नो कार्यकालमा लेनिनको अवशेषलाई रेड स्क्वायरबाट हटाउन पटकपटक विफल प्रयास गर्नुभएको थियो । जनदबावले गर्दा त्यो सफल भएन । लेनिनको शव देख्दा मेरा आँखा झिम्केनन् । ती महामानवको कोषकोषमा क्रान्तिका विशाल इतिहासहरू अल्झिरहेकाछन् । भनिन्छ – महामानवहरूको दर्शन त्यसै पाइँदैन उनीहरूको दर्शनले दर्शनार्थीको जीवनमा पनि ऊर्जाका लहरहरू सञ्चारित हुन्छन् । जुरुक्क उठेर ‘कामरेडहरू ! अहिल्यैदेखि यौटा नौलो कामको थालनी गरौँ’ भन्दै कार्यदिशा प्रस्तुत गरिहाल्लान् जस्तो लागिरहेथ्यो लेनिनको शव देख्दा । कपाल, छाला, शरीर, लवाइ केहीमा पनि मृत्युको गन्ध थिएन । केवल श्वास थिएन, आवाज थिएन र क्रियाशीलता थिएन । धन्न रसियालीहरूले युगौयुगदेखि लेनिनको शव सुरक्षित राखे । महान् व्यक्तिहरूप्रति आफ्नो सर्वस्व अर्पण गर्ने उनीहरूको महत्तको प्रशंसा जति गरे पनि कम नै हुन्छ । नत्र हरेक हप्ता करोडौं रुवल खर्चेर एउटा श्वासविहीन जिउँदोपनलाई कसरी जोगाइरहने आँट गर्थे उनीहरू।

लेनिनको दर्शन गर्दा गर्दै अलेक्सिका आँखाबाट बलिन्द्र धारा आँसु बगे । लहरमा रहेका अरू मान्छेका अनुहारतर्फ पनि आँखा दौडाएँ । तिनीहरूमध्ये धेरैको आँखा टिलपिल भएका थिए । धेरै रसियालीहरू त अलेक्सिजस्तै भावविभोर बनिरहेथे । म पनि निस्तब्ध बनेँ।

लेनिनको समाधिस्थलनजिक आफैमा हराएँ म । मान्छेको जिन्दगीको गति रोकियो भने रोकिन्छ सबै चीज । लेनिनको जीवनकालमा उनको सामीप्य पाउन कति कठिन थियो होला ! उनको हरक्षण कति बेफुर्सदी र  महत्ववपूर्ण ढङ्गले बित्यो होला ! उनका आदेश, आज्ञा र घोषणा सुन्न मान्छेहरू कति लालायित हुन्थे होलान् । उनीमा अभैm पनि सबै कुरा छ, फगत छैन अलिकति श्वास र एउटा गति । त्यसैको परिणतिमा उनका विचारको बर्खिलाप हुरी र डढेलो फैल्यो । उनको सामु पुच्छर लुकाउनेहरू पनि बडेमानको सिंह बनेर गर्जन थाले । समयले नै ढालेपछि जस्तोसुकै बलबुताले पनि कहाँ उठ्न सकिँदो रहेछ र हगि लेनिन !

रेडस्क्वायरभित्रको त्यस घरमा भित्रिँदा लेनिनलाई दायाँ र बाहिरिँदा बायाँ पार्ने व्यवस्था मिलाइएको छ । लहरै भित्र पस्दै बाहिरिने नियम भएकाले धेरैबेर रोकिने स्थिति थिएन । मैले धेरैपटक अभिवादन गरेँ । ढोकाबाट बाहिरनेबित्तिकै एउटा कविता लेखिंहालेँ – ‘खाटा बसेको घाउ छामेर’ शीर्षकको । लेनिन साँच्चै यतिखेर खाटा बसेको घाउ बनेका छन् धेरैको लागि ।

रेडस्क्वायर र क्रेमलिन क्षेत्रको हरेक वस्तु प्राकृतिक र ऐतिहासिक रूपमा उच्च महŒवले सजिसजाउ छन् । क्रेमलिन र वरिपरिका पुराना घरहरू नै मन्दिर जस्ता भव्य लाग्ने । प्रायः तहतह परेका शिखर शैलीका भवनहरूमा टुप्पामा सुनौला गजुरहरूको शोभा अलौकिक छ । रेड स्क्वायरमा भने रातो रङ्गको भुइँमा सिमेन्टका ससाना ब्लक छापिएका ।  

मैले सङ्ग्रहालयको कलात्मक भवनको पूर्णतालाई आफ्नो पृष्ठमा पारी तस्बीर खिचाएँ । सन् १८१८ तिर रसियाली राजा र जनप्रतिनिधिबीच वार्ता भइरहेको सालिकले तात्कालिक राजनीतिलाई छर्लङ्ग्याइरहेको छ । हाम्रो देशमा पनि सच्चा जनप्रतिनिधि तयार भएर देशको लागि उनीहरूले केही मात्र गरे पनि कति राम्रो बन्थ्यो होला देश ! सुपरिणामदायी नबनेसम्म हतियार र युद्धले मात्र समाधान निस्कन सक्दैन । हाम्रो देशमा त पेलाइलाई नै खेलाइ ठान्नेहरूको जमातले त्यसो हुन दिएन।

रेड स्क्वायरबाट फर्कने तर्खरमा लाग्दा एक हूल मान्छेहरू आँगनमा अवस्थित वृत्ताकार चित्रमाथि उभिएर तस्बीर खिचाइरहेका थिए । त्यसलाई रसियाको केन्द्रविन्दु पनि भन्दछन् । बाघ, सर्प, जरायो, माछा, चराका चित्रहरू कोरिएका छन् वृत्ताकारमा । रसियाको हरेक शहर त्यस केन्द्रबाट कति दूरीमा छ भन्ने नापो गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । पहिलेपहिले काठमाडौँको केन्द्रविन्दु हनुमान् ढोकालाई मानेजस्तै प्रचलन देखियो त्यहाँ पनि । केन्द्रविन्दु परिधिमा निर्भर गर्ने कुरा हो । फरक परिधिबाट नियाल्ने हो भने केन्द्रविन्दु पनि फरक स्थानमा परिहाल्छ । मान्छेको जिन्दगीको पनि केन्द्रविन्दु कता मान्ने ? उमेर, उन्नति, पीडा र इच्छा – कामना पूरा भएका क्षणमध्ये कुनलाई ? फरक परिवेश र परिस्थितिलाई नापोको आधार बनाउने हो भने केन्द्रविन्दुको अर्थ पनि फरक –फरक लाग्दछ । त्यसैले मैले केन्द्रविन्दुलाई खासै महत्व   त दिइनँ, तर तस्बीर भने खिचियो।

हिँड्दाहिँड्दै तात्कालिक कम्युनिस्ट सेनाको झुत्रो पोशाक पहिरेको एउटा मान्छे रसियाली भाषामा चीत्कार गरिरहेको देखियो । झुस्स दाह्री पालेको, अनुहारभरि अभाव, असन्तोष र असमञ्जसका रेखाहरूले किरिङमिरिङ गरी ढाकिरहेको त्यो मान्छे बेलाबेलामा रुन्थ्यो र कराउँथ्यो । ‘समाजवादी व्यवस्थाको पतनले यो मान्छेको यो गत भयो , अहिलेका बहुसङ्ख्यक रसियालीहरूको प्रतिनिधित्व गरिरहेछ यो मान्छे’ – अलेक्सिले मलाई कोट्याउँदै भन्नुभयो । पन्ध्रओटा समाजवादी गणराज्यहरू समाविष्ट भएको सोभियत सङ्घ हुँदा अमेरिका, जापान, फ्रान्स, बेलायत जस्ता पूँजीवादी खेमाका मुलुकहरूलाई समाजवादी देशहरूको प्रतिनिधित्व गर्ने सोभियत सङ्घ हायलकायल पार्दथ्यो । विश्व नै दुई शक्तिमा विभाजित भएकोमा सोभियत सङ्घ पूँजी, साहित्य, वैज्ञानिक प्रगति जस्ता विविध पक्षको प्रभाव विश्वभर फैलाउने क्रममा थियो । गरीब र धनीको विभेद तात्कालिक जनतालाई थाहा नै हुन्थेन । अरू मुलुकहरूमा गरीब रहन्छन् भन्ने सुन्दा त्यहाँका मान्छेहरू ‘गरीब’ भनेको हेर्न र बुझ्न उत्सुक हुन्थे भन्ने सुनिन्थ्यो । त्यसै रुसमा आज समाजवादी सैनिक पोशाकमा मान्छेहरू क्रन्दनमा डुबेका छन्, दयाको भीख मागेर बाँच्न बाध्य छन् ।

‘म नेपाल आएँ भने तपाईंले नै घुमाइदिनुपर्छ है’ – अलेक्सि बोल्नुभयो ।

‘किन हामीले घुमाइदिए हुन्न ?’ –जुम्रानोभ(जनार्दन)जीले पक्रनुभयो । ‘साहित्यकारहरू हृदयका कुरा बोल्छन्, इतिहास, भूगोल र राजनीतिक परिवेशलाई केस्रा केस्रा पारेर छोडाउँछन् र अरु मान्छेलाई सही दिशातिर डो¥याउन सक्छन्, त्यसैले म उहाँसँगै घुम्न चाहन्छु ।’ – अलेक्सिले जनार्दनजीलाई जबाफ फर्काउनुभयो र मपट्टि फर्केर अङ्ग्रेजी र रसियालीभाषा मिसिएको वाक्य प्रस्तुत गर्दै मुस्काउनुभयो – ‘यु आर खरोसो म्यान (तपाईं राम्रो मान्छे हुनुहुन्छ) ।’

‘ओचिन्राद’ (म धेरै खुशी छु) – मैले मुस्कानमा मुस्कान थपेँ ।

‘तपाईंहरू साइतमा यहाँ आउनुभएछ । ऊ हेर्नुहोस् त लेनिन र पुटिनसँग पनि भेट्न पाउने हुनुभयो’ – अलेक्सि दाँत ङिच्च पार्दै हाँस्नुभयो र बोल्नुभयो – ‘लेनिन भित्र निद्रामा हुनुहुन्थ्यो, बिउँझेर बाहिर आइसक्नुभएछ ।’ साँच्चै लेनिन र पुटिनको अनुहार, वेशभूषा सबै कुरा ठ्याक्कै मिल्ने दुई व्यक्ति बेन्चमा बसेर वार्ता गरिरहेका थिए । सबै पर्यटकका आकर्षण भएका थिए उनीहरू । ‘लेनिन समाजवादी, पुटिन प्रजातन्त्रवादी, तैपनि कुरा मिलेछ हैन यहाँ ?’ – मैले अलेक्सिसँग हाँसो गरेँ । ‘लेनिन देश बिगार्नु हुँदैन भनेर पुटिनलाई सम्झाउँदै होलान् ।’ – अलेक्सिको जवाफले हामी सबै हाँस्यौं । मान्छेहरू सय रुवल तिरेर ती नकली लेनिन र पुटिनसँग तस्बीर खिचाइरहेथे । उनीहरूसँग तस्बीर खिच्ने चाहना हुँदाहुँदै पनि त्यति धेरै रकम भुक्तान गर्ने ममा इच्छा जागेन । अलिपर हिँडेजस्तो गरेर मैले क्यामेराको लेन्स घुमाउँदै उनीहरूको दूरतालाई नजिक तानेँ र तस्बीर लिइछाडें।

‘दाइ ! हजुरहरूलाई औद्योगिक प्रदर्शनीको अवलोकन गर्ने निम्ता पनि छ नि बिर्सनुभयो ?’ – भाइ शचीन्द्र वज्राचार्यले सम्झाउनुभयो । ‘हो त नि ढिला नगरौँ ।’ झटपट मस्को शहरको माझमा भइरहेको औद्योगिक प्रदर्शनी स्थलमा पुग्यौँ । हाम्रो स्वागतको लागि पश्मिना होम प्रोस्पेक्ट मस्कोका निर्देशक केशव तिमिल्सिना । प्रदर्शनीको आयोजक संस्थाका उपप्रमुखसँगै मूलद्वारमै प्रतीक्षा गरिरहनुभएको थियो । मूलद्वारमै घ्याम्पोजत्रो रंगीचंगीबेलुनले ढाकिएका दुई युवतीहरूले स्वागत गरे।

प्रदर्शनी–स्थलमा हीराजडित हार, फूल, गमलाजस्ता घर सजावटका सामग्री, काठ र बाँसका कलात्मक भाँडाकुडा, हस्तिहाडका सामग्री, हाते कागजद्वारा तयार पारिएका उपहार, ऊनी र छालाका वस्त्र, घडी आदिका आकर्षक कक्षहरू थिए । भीड खचाखच थियो । प्रदर्शनी–कक्षहरूमा रहेका आधाजसो सामग्रीहरू हाते सीपद्वारा सजिएका थिए । हामीकहाँ बाँस, घाँस, काठपातको त्यति अभाव हुँदैन । तिनीहरूको सदुपयोग गरेर कलात्मक उत्पादन गर्ने हो भने रोजगारी र रकमको कुनै अभाव हुँदैनथ्यो ।

प्रदर्शनी–कक्षको बीचभागमा नेपाली झन्डा फहराइरहेको पश्मिना–प्रदर्शनीकक्षमा भेटियो । दुईजना रसियाली बहिनीहरूले धमाधम नेपाली पश्मिना कपडाका बखान गर्दै बेचिरहेका थिए । ‘दोव्रेदेन’ (दिउँसोको नमस्कार) – मैले चिनारीको औपचारिकता सुरु गरेँ । ‘नमस्ते’ उनीहरूले अभिवादन फर्काए । केशव तिमिल्सिनाजीले आपसमा चिनाजानी गराउनुभयो ।

प्रायः सबै प्रदर्शनी–कक्षमा हसिला युवतीहरू नै थिए । उनीहरू हरेक आगन्तुकलाई ‘द्रास्भिचे (ए, हजूर !)! शब्दले सम्बोधन गर्दथे । सामानका राम्रा नराम्रा सवै पक्ष सविस्तार बताइदिन्थे । मूल्य घटाउन राम्रैसँग मोलमोलाइ हुँदोरहेछ त्यहाँ । पसलमा पसेपछि कुनै न कुनै सामान नकिनी बाहिरनै मन नलाग्ने । बिक्रीकलामा पोख्त थिए ती युवतीहरू ।

 ‘तपाई इरानी हो ?’ – एउटी चुलबुले विक्रेताको प्रश्न मेरो कानमा रोकियो।

‘कसरी इरानी ठान्नुभयो ?’ – मेरो सोधाइ।

‘तपार्इंको अनुहारको वर्ण र उचाइले मलाई इरानीजस्तो लाग्यो ।’

‘हैन म नेपाली हुँ’ – मैले सीधा उत्तर दिएँ।  

उनी अकमक्क परिन् । ‘कहाँ नेपाल भनेको ?’ – उनको प्रश्न ।

‘चीन र भारतको बीचमा, जहाँ सगरमाथा छ ।’ – बल्ल अडकल काटिन् उनले ।

धन्न सगरमाथा एउटा नभएको भए आफूलाई चिनाउन नै गाह्रो पर्ने । मैले मनमनै सगरमाथालाई प्रणाम गरेँ ।

‘तपाईको नाम नि ?’ – मेरो परिचयपछि मैले सोधेँ ।  

‘फेङ् चोउ – उनले हाँस्दै पत्तीले चिरेजस्ता चिम्सा आँखा नचाउँदै जवाफ दिइन् । म  चिनिया मूलकी हुँ मेरा पुर्खा यता आएर बसेका ।’ – उनले थपिन् ।

थोरै बेरमा मन धेरै कुरामा उनीसँग बाँडियो । ‘बेच्न राखिएका सुन्दर प्लास्टिक फूलहरू राम्रा कि उनी ?’ – मलाई छुट्याउन धौधौ परिरहेथ्यो । साथीहरू बाहिरिसकेका थिए । ‘हस् त म जान्छु है’ – मैले बाहिरने अनुमति मागें । ‘फूलदानी वा फूलका गुच्छा, जे भएपनि लैजानुहोस् न’ – उनको नरम स्वरमा आत्मीयता दर्शियो । ‘मैले केही पनि नकिन्ने निर्णय गरेँ, मैले मुख फोरेँ, ‘किन्नुपर्दैन । तपार्इंलाई यो सित्तैमा उपहार ।’ कमसेकम यो गुच्छा देखेपछि त मलाई सम्झनुहोला नि” फेङ् चोउले एउटा कलेजी रंगको गुलाफको गुच्छा मेरो हातमा थमाइन् । ‘लिऊँ कि नलिऊँ’ म अन्यमनष्क भएँ । रकम भुक्तानी गर्छु नि त’ – खल्तीमा हात हालेँ । ‘पर्दैन–पर्दैन भनेपछि पर्दैन’ – फेङ्ले जिद्दी गरिन् मानौं उनी र मबीच धेरै अघिदेखि गाढा सम्बन्ध थियो । मैले उनको मन नै त्यस  गुच्छामा सरेजस्तो ठानेँ । ‘म त तिमीलाई यो गुच्छाका पत्रपत्रमा सङ्गालेर लैजादैछु ।’ फूलसँगै मन दिने सुन्दरीलाई अलिकति आफ्नो मन सुम्पेँ । ‘सधैँभरि सँगै राख्नु है’ – उनी अरू खुलेर हाँसिन् । ‘दश्वेदानिया ! (फेरि भेटौला)’ – म हात हल्लाउँदै बाहिरिएँ । ‘सरलाई त्यो जेबुस्का(युवती)ले त यतै राख्न खोज्दै थिई नि’ – केहीबेर हाम्रो कुरा सुन्नुभएका शचीन्द्रले कोट्याउनुभयो गाडीमा चढेपछि । 

फर्कदा रसियाली संसद् डुमाको भवनलाई बायाँ पारियो । तात्कालिक सोभियत सङ्घको जासूसी संस्था के.जी.बी.भवन(जहाँ सङ्घीय सुरक्षा–कार्यालय बसेको छ)अघिल्तिर पुगेपछि म झस्केँ । ‘खोई मेरो फूलको झुप्पा ?’ – अनायास मेरो ओठबाट आवाज निस्क्यो । ‘ल, रेष्टुरामै छोड्नुभयो होला, कसको हातमा परयो अब ।’ शचीन्द्रले दिक्दारी पोख्नुभयो । ‘कति रुवल परेको थियो ?’ – अलेक्सि अलि हतास हुनुभयो । ‘रुवलको कुरा होइन, अमूल्य थियो अलेक्सि त्यो फूलको झुप्पा ।’ – उदास र हताशताको आँधी मेरो शरीरभर मडारियो । मैले फेङ चोउ मेरैसामु फेरि उभिएझैं लाग्यो । अनुहार  सम्झेर र सम्झे – ‘सधैंभरि सँगै राख्नू है’ – भन्ने उनको प्रणयसूचक आवाज कानको जालीभरि गुन्ज्यो ।

साँझ झमक्क परयो । मस्को शहर जगमगायमान थियो रंगीविरंगी बत्तीहरूले । हिउँमा बत्तीको प्रकाशले फरकफरक रंग प्रक्षेपित हुँदै थियो । महान् भोल्गा रंगीविरंगी थियो ।

मस्को, रूस

प्रकाशित: २५ जेष्ठ २०७८ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App