१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बिहेपछि

लघुकथा

धर्म सापकोटा राजु

 

बिहे भएको एक महिनापछि श्रीमतीले भनी – ‘गाउँमा बसेर प्रगति होलाजस्तोे लागेन। बरु शहरतिर जाउँ। दुवै जनाले काम गरौंला, टन्न पैसा कमाउँला।’

श्रीमतीको कुरा उसलाई मुनासिव नै लाग्यो। बन्दोबस्त मिलाएर उनीहरू शहर झरे। शहरका रमझममा रमाए। धेरथोर पैसा पनि कमाए। सानो घर बनाए।  छोराछोरी पाए, त्यतै हुर्काए। वर्षमा एकदुईपटक गाउँमा पाइला पनि टेके।

श्रीमतीको माइतीघर शहर नजिकै थियो। हरेक हप्ताजस्तो बाआमालाई भेट्न उनी गइरहन्थिन्। कहिलेकाहीँ श्रीमतीको पछि लागेर ऊ पनि जान्थ्यो। श्रीमतीको माइती मोह देखेर उसलाई दिक्दारै लाग्थ्यो। सोच्थ्यो – ‘हैन हाम्रो आमा त यसरी हप्तैपिच्छे माइत गएको त कहिल्यै थाहा पाइएन। वर्ष दुई वर्षमा बल्ल जानुहुन्थ्यो। गाउँका अरू आइमाई पनि वर्षमा एकदुईपल्ट जस्तो माइत जाने गर्दथे। अचेलका आइमाई त के हो? घरमा भन्दा माइत बढी।’

एकदिन श्रीमती माइत जाने तरखरमा थिई। उसलाई यो कुरा चित्त बुझिरहेको थिएन। अब त अति भयो र भन्नै पर्यो भन्ने सोचेर उसले मुख फोर्यो–हैन कति जान्छ्यौ हँ तिमी माइत पनि। तिमी जस्तो माइत   कुँदिरहने  आइमाई त मैले आजसम्म देखेको छैन।’

पुगेन काण्ड? आइमाईलाई लोग्नेले माइत नजाउ भनेसी? 

श्रीमतीका आँखा एकाएक  बेलनुझैं फुलेर ठुला भए त्यतिबेलै पड्केलान् कि जस्तो। मुखबाट गोली निस्क्यो– ‘तिमी लोग्नेमान्छेहरूलाई के थाहा हामी आइमाईको व्यथा। तिमीहरूले पनि हामीहरूले जस्तै बिहेपछि आफ्ना बाआमा छोडेर अर्काको घर आउनपरेको भए बल्ल थाहा पाउँथ्यौ। कहिलेकाहीं नियाँस्रो लागेर यसो बाआमासँग बस्न जान्छुभन्दा पनि केको किचकिच गर्या होला ?’

ऊ केही बोलेन। भन्न त मन लागेको थियो तर उसको भनाइको कुनै मूल्य होला जस्तो पनि लागेन। चुप लागेर अर्कोतिर फर्कियो र मनमनै सोच्यो– ‘लोग्नेमान्छे भएर पो के र? आफू पनि त बिहेपछि बाआमासँग कहाँ बसेको छु र?’

प्रकाशित: २५ जेष्ठ २०७८ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App