स्वर्गीय सुमन
को मान्छे हो त्यो ?
मेरो कोप्पाजस्तै देखिने
प्रत्येक रात मेरो सपनामा आएर
अनेकौ अनुत्तरित प्रश्नहरू सोध्ने गर्छन् ?
तिमीले आवाद गरिआको भूमि कसको हो ?
तिम्रो शिरको आकाश कसको हो ?
तिम्रो खुट्टाले चुमेको माटो कसको हो ?
तिमीलाई गन्तव्यसम्म पुयाउने बाटो कसको हो ?
तिम्रो अगाडि उभिएको हिमाल कसको हो ?
कहाँ छ ?
साकेला थान
उँधौली र उँभौलीमा बज्ने ढोल–झ्याम्टा
सिलिमी, पोमी, बिनायो र मुचुङगा
जीवनमुखी मुन्धुमका अध्यायहरू
सिक्दासिक्दै जलाएका लिपीको स्वर्ण वर्णहरू
तायामा –खियामाको तान बुन्ने राशि
रैच्छाकुले र यलम्वरको धनुकाँड
तिम्रो मेचलुमको तीन चुला र मोछाम्मा
अनि तिम्रो पुर्खाले आर्जेको
पसिना र रगतको गर्विलो विरासत
कैयौं प्रश्नहरूको पहाडले थिचेर ऐंठन पार्छ
सपनामा कसैले !
त्यसैले हुनसक्छ
म बिउँझिंदा आगोजस्तै बनिसकेको हुन्छु
उठ्दा आँधीको रूपमा उठ्छु
हिम्ड्दा तुफानको आवेगसँग हिाड्छु्र
ओ शासकहरू हो !!
सक्छौ भने रोकेर देखाऊ
मेरो यात्रालाई !
मैले त लेख्नु छ –
तिम्रो संविधानऐनमा नअटाएको आफ्नो इतिहास
खोज्नु छ–
अज्ञात मान्छेले सोधेर गएको प्रश्नको सत्यता !
यतिबेला
म सिमेभूमे र साकेला थानको कसम खाएर भन्छु
ए ! कथित मुलधारे डाँफेहरू हो !!!
भन्दिनू तिम्रो सिहंदरबारलाई
अब रोमीपोमीहरू वालाखामा बिसाउँदैन
ऊ आउँदै छ...
आँधीको वेगसँगै
गाउँदै – गाउँदै रिसिया
नाच्दैनाच्दै चासुङ र नारावा सिली
एकैपटक माग्नेछ
तिमीसँग सयौं प्रश्नहरूको उत्तर
अनि खोज्ने छ
पुरानो हिसाब किताब।
प्रकाशित: २५ जेष्ठ २०७८ ०८:४० मंगलबार