अर्जुन थापा
‘अचेल म्याडम देखिनु हुन्न नि ?’
‘तपाईंलाई पनि घरमै बढी देख्छु ?’
‘डिभोर्स भएको हो तपाईंहरूको ?’
‘म्याडमले घर छोडेर गएको रे भनेर व्यापक हल्ला छ नि ?’
‘तपाईंहरूको विवाह भएको त धेरै पनि भएको छैन होइन र ?’
यी सब निरर्थक प्रश्नहरूको जवाफ मैले केवल नकारात्मक मुन्टो हल्लाइले दिइरहेँ । वास्तवमा सत्यता के थियो भन्ने सबैलाई भन्दै हिँड्न अब मलाई मनै थिएन । सबैले आआफ्ना तरिकाबाट जेजे अड्कल लगाउँछन् त्यो अब तिनीहरूकै जिम्मा लगाई दिइसकेको छु । एउटै अनुहारका मान्छेहरूको भेटेपिच्छे सोधिने एकैखाले प्रश्नहरू । प्रश्न र विवादहरूले बौलाहाजस्तो भइसकेको म।
कहिलेकाहीँ मान्छे मान्छेबीचको सम्बन्ध अति बीभत्स भएर टुंगिन्छ । हो, हाम्रो सम्बन्ध पनि त्यही नियतिभित्र प¥यो, कसको के लाग्छ अब ?विवाह भएको छ महिनामा नै सबै कुरामा पूर्णविराम लाग्छ भनेर कहाँ पो सोचेको थिएँ र मैले । आफूले सकेको प्रयास गर्दागर्दै पनि नसकेपछि उनीलाई बन्धनमुक्त पारिदिएको थिएँ । खुला आकाशमा उड्ने उनको चाहनालाई मात्र साथ दिएको थिएँ मैले।
उनको र मेरो केही कुरामा मेल खाँदैन थियो । हामीहरूका सोचाइ, विचार र फ्युचरप्रतिका धारणाहरू नितान्त फरक थिए । उनलाई मैले धेरै पर्खें, बुझेँ र अन्तमा यो जाने कि उनका लागि एउटा लोग्नेको रूपमा हुने व्यक्ति हुँदै होइन रहेछु म भनेर । उनी खुसी भएको बेला, दुःखी भएको बेला अथवा नर्मल अवस्थामा पनि उनको एउटै चाहना थियो कि छुटकारा मबाट। मैले उनको तिनै अवस्थाबाट सर्सर्ती बुझ्दा यो पाएँ कि मसँग विवाह हुनु नै उनका लागि ठुलो भुल थियो। उनको नजरमा कुनै अस्तित्व नै रहेनछ मेरो । उनले किन र कसरी मसँग विवाहका लागि मन्जुरी गरिन् भन्ने विषयलाई कोट्याउनु भन्दा पनि अब कसरी उनको फेसमा खुसी ल्याउन सक्छु भनेर नै उनलाई हाम्रो यो लोग्नेस्वास्नीको सम्बन्धबाट मुक्त पारिदिएको थिएँ ।
अब फेरि एक पटक उनको फेसमा चमक आएको, रमाएको देख्न पाउँदा मलाई भित्रैबाट खुसी लागेको छ । त्यो छ महिनाको बीचमा कहिल्यै नदेखिएको खुसी मबाट अलग भएपछि उनमा देख्न पाउँदा एउटा छुट्टै आनन्द लागेको छ मलाई पनि । घर, आफन्त र यो समाजले के भन्छन् भन्नुभन्दा पनि उनी खुसी छिन् त्यो नै ठुलो कुरा हो मेरा लागि । के मायामा पाउनु मात्र ठुलो उपलब्धि हो र ? उनी अहिले मसँग छैनन् तर पनि उनी खुसी भएको देख्न पाउनु मेरो ठुलो उपलब्धि हो ।
कसैलाई भित्री मनबाट प्रेम गर्दागर्दै पनि त्यस प्रेमको टुसा पलाउनुपूर्व नै चटक्क अलग्याउनुको पीडा कस्तो हुन्छ त्यो मलाई थाहा छ । तर यी सब कुराहरूको व्याख्या गर्दै हिँड्न म चाहन्नँ थिएँ । तर किन यति व्याकुल हुन्छन् अरूका पर्सनल कुरा जान्नलाई मानिसहरू ?
‘तिमीभन्दा पछि बिहे गरेको रोशनले छोरा पाएर पनि आज तीन वर्षको भइसक्यो छोरा ।’ पहेँलो दाँत देखाएर हाँस्छ विशाल र सबै उसैका साथ दिन्छन्।
‘कामधाम त्यागेर स्वास्नीको माला जपेर बस्ने सधैं अब तिमी?’ अर्को साथी मलाई बेस्कन धाप मार्दे माया जटाउँछ ।
फेरि सबै उन्मुक्त भएर हाँसे । यहाँ अकारण हाँसिदिन्छन् कारणले पनि हाँस्न नसकेका विक्षिप्त अनुहारहरू । हाँसो यहाँ निकै सस्तो छ । कति हलुंगो भएको छु सबैको अगाडि आज म । म आफैँमा एक पत्र खुम्चेर बस्नुपर्ने बाध्यता भएको थिएँ सबैको माझ । यति स्वीकार गर्नुपर्थ्यो यहाँ केही पनि महँगो छैन । साथीहरूसँग रमाइलो गर्न भनेर आएको म तर यहाँ भुस्याहा कुकुरजस्तो निर्धो भएर वातावरण सहन गरिराख्नु पनि मेरो कुन पुरुषार्थ हो । कुनै दिन मसँग बोल्न समेत हच्किने साथीहरू । तर, आज तिनीहरूकै अगाडि कति सस्तो हुन पुगेको छु म।
टाउको फुट्लाजस्तो गरेर दुख्नथाल्यो । बियरको नशा त साथीका प्रश्नहरूले गर्दा लाग्न नै पाएनन् । यतिका जमघटमा उसमाथि पनि उकुसमुकुस भएर बस्नुपर्ने मनैदेखि मस्तिष्कसम्म गह्रुँगो बनाएर । उनीहरू एक आपसमा कुरा गर्थे, हाँस्थेँ, गिज्याउँथे मलाई । मलाई त्यस माहोलबाट कतिखेर भागुँला भइसकेको थियो । झण्डै रातको साँढे एघार बजेसम्म म बिनाउद्देश्य र बिनाकारण आफूलाई पूरै नंग्याएर एउटै ठाउँमा बसिरहेँ । बाहिर निस्कँदा समयको एउटा विशाल भाग आफ्नो एकोहोरोपनमा खण्डित भएझैँ लाग्यो । भित्रको तुलनामा बाहिरको दुर्गन्धजस्तै नलाग्ने, भित्र फेरिएको सास र बाहिरको फुकापन मानिकै ठुलो अन्तर थियो ।
बिहानै निद्रा खुल्दाममा मेरो आफ्नोपन थिएन । कताकता केही दुखिरहेको थियो । आजसम्म मलाई कसैले नयाँपन दिएको छैन तैपनि विश्लेषण गरिरहन्थे । म जो भोग्छु र सोच्छु के त्यसैबाट जीवनलाई मूल्यांकन गर्न सकिन्छ, के यति नै हुन् जीवनका सीमाहरू परिवेशहरू ?मनमा खुलदुली भइराख्यो । हुन सक्छ मलाई अस्तित्वबोध भइरहेको थियो । हिजो पार्टीमा सबैले भनेका कुराहरू, मानौँ म भुस्याहा कुकुर हुँ, मेरो मिल्ने साथी निर्धक्क भएर मलाई धाप माथ्र्यो र उपहास गथ्र्यो मानौँ मेरो कुनै व्यक्तित्व नै छैन।
मेरो आफ्नैबाट, साथीभाइहरूबाट र छिमेकीबाट मलाई कति खेलाइयो र म आफूलाई अब एउटा फुटबल सम्झिन थालिसकेको थिएँ । विगतका केही वर्षहरूबाट मान्छेहरूले गरिने उपहासबाट मलाई केही असर हुन छाडिसकेको थियो अथवा बानी पर्न थालिसकेको थियो।
‘बिचरा छ महिनामा नै स्वास्नीले छोडेर गई ।’
‘त्यत्रो काम छोडेर बेरोजगार भएको छ अहिले ।’
‘यो उमेरमा अझै बच्चा भएको छैन।’
‘विवाह गर्न खोजे पनि कसले दिन्छ छोरी ?’
‘पक्कै पनि केटामा नै केही दोष थियो होला र त छोडेर गई ।’ आदिआदि।
हुन पनि मान्छेहरूले भन्नु र अवस्था पनि त्यस्तै भइदिएको थियो । निःसन्देह यस्तै किसिमले ममा समय बित्दै जान्छ र समय बित्नुको नाउँमा मसँग विगतको एउटा लामो अनुभवसिवाय केही छैन ।
मनबाट पहिलो पटक कसैलाई प्रेम गरेँ। मनबाटै अपनाएर विवाह पनि गरे । तर, थोरै समयमा नै हामी अलग भयौँ । भइराखेको नोकरी जानीजानी छोडेँ र विगत तीनचार वर्षदेखि बेरोजगार भएर बसिराखेको छु । जजसलाई मनबाट विश्वास गरेँ तिनीहरूबाटै हरेक पटक ठगिएँ पनि।
अब मलाई बाटोमा तथा कहीँ पार्टीहरूमा मान्छेहरूसँग बोल्न डर लाग्न थालिसकेको छ । म आफैँलाई थाहा छ कि म अहिले जे छु, त्यो म नभएर अर्कै कोही हो । मनमा अनेकौँ गलत विचारहरू खेलिरहन्छन् सायद एउटै कोठामा बसेर त्यसमा केही गर्नलाई कामन भएर पनि हुन सक्छन् । मलाई जीवनमा आफूप्रति घृणा हुनुको तीखो अनुभवले सताउन थालेको थियो । निरूपाय म बाहिर सडकमा निस्केर सधैँ जाने बाटोभन्दा विपरित हिँडिदिन्छु बाइक नचढेर।
लमतन्न पस्रिएको सडक, रातबिरात हिँड्ने भुसिया कुकुरहरू र म बाटो काटाकाट गर्दै अघि बढिरह्यौँ । मनले योचाहिँ रहेको थियो कि जानुपर्ने कतै नहोस्, यही बाटोमा हिँड्दाहिँड्दै महाप्रलय भइदियोस् र खर्लम्म निलिदेओस् आफ्नो अस्तित्वलाई । आखिर फरक त केही छैन सडक र ममा। एक प्रकारको सडक नै त हुँ म, ममाथि सबैजना निर्विघ्न हिँड्छन् । छोडेको स्वास्नीदेखि सबै जना ममाथि आआफ्ना शरीरका मैला झार्छन् र मेरो व्यक्तित्वमाथि थुकेर हिँड्छन् ।
‘भाइ तिमी त श्रीमती कामको सिलसिलामा विदेश गएको छौ भन्थ्यौ त । तर उनले त अर्कैसँग विहे गरेर पनि ७ महिनाको छोरी भइसकेछ त । हिजै भेट भएको थियो तिम्रो ‘एक्स–वाइफ’लाई ।’ भनेर सँगै घर जोडिएको दाइले भनिरहन्छन् ।
अपमानको अर्को भयानक प्रहारले म रन्थनिएको थिएँ तर भाग्ने ठाउँ थिएन । स्वीकार गरे निकै दरिद्र मानिस भएको छु म, यस्तै त हो नि दारिद्रय भनेको । थाहा नपाई म उही बाटो फर्कें, लाग्छ उसले म हिँडेको छु –छैन जानकारीसम्म लिएन ।
प्रकाशित: २५ जेष्ठ २०७८ ०८:०४ मंगलबार