१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

विश्वव्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिताको सुरु

किरात राई साँस्कृतिक कलाकार संघले विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिताको सुरु गरेको छ । जेठ २२ गते पर्ने आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर कलाकार संघले खुल्ला विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिता सुरु गरेको हो ।

लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले विनायो वादन खुल्ला प्रतियोगिताको आयोजना गरिएको किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा विनायोको धुन बजाएर विश्वव्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगीताको घोषणासँगै शुभारम्भ गरिएको किरात राई साँस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए ।

विनायो वादन खुल्ला प्रतियोगिता दुई चरणमा सञ्चालन हुने छन् । पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ । छनौट भएका भिडियो संघको युट्युव च्यानल kiratraikalakar मा अपलोड गरिने आयोजकले जनाएको छ । पहिलो चरणमा छनौट भएकामध्येबाट पुनः दोश्रो चरणमा पनि विनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलव्ध गराउनु पर्ने सचिव थुलुङले जानकारी दिए । 

दोश्रो चरणमा उपलव्ध भएको भिडियोको आधारमा फाइनल प्रतिष्पर्धा हुने संघले जनाएको छ । विनायो बजाएको भिडियो कम्तिमा २ मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियो सहितको हुने पर्ने शर्त छ । विनायो वादन प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागि हुन पाउने छन् । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ । विनायो वादन प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए ।  

किरात राई साँस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि किराात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले किराती कलाकारलाई आफ्नो कलाको माध्यमबाट किरात राई समुदायप्रति जिम्मेवार भएर लाग्न आग्राह गरे । कार्यक्रममा किरात राई साँस्कृतिक कलाकार संघका संस्थापक अध्यक्ष जितेन राई, यायोक्खाका महासचिव जनक राई, यायोक्खाका बाग्मती प्रदेश अध्यक्ष सुमन राई, साँस्कृतिक कलाकार संघका पूर्व अध्यक्ष पार्वती राई, निवर्तमान अध्यक्ष राजु एन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कार्यक्रममा किरात राई संगीत सम्मान अक्षयकोषका लागि २ लाख २२ हजार २२२ रुपैयाँ रकम संकलन भइसकेको अक्षयकोषका संयोजक शुशिला राईले जानकारी दिएकी छन् ।

प्रकाशित: २५ जेष्ठ २०७८ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App