हरिप्रसाद भण्डारी
“यो पक्कै भूत हो ! नत्र यति छिटै कसरी हराउँछ ?”बुवाले भन्नुभयो।
बुवाका कुरा सुनेपछि मेरो छाती ढुकढुक गर्न थाल्यो । नजिक गएँ र बुवालाई समाएर उभिएँ।
लामो सास फेर्दै बुवाले भन्नुभयो, “कस्तो अचम्म ! आज दिउसै भूत देखियो ।”
शनिबारको दिन थियो । म बुवासँग बेसी खेतमा जाँदै थिएँ । बेसी जान, खेतमा डुल्न र वनमा फलेका फलफूल खान मलाई औधी मन पर्छ।
गाउँबाट बेसी पुग्न एक घण्टा ओरालो झर्नुपर्छ । खोलो तर्नुपर्छ र अलिकति उकालो उक्लिनुपर्छ ।
खोलाको नाम छल्दी हो । म धेरैचोटि साथीहरूसँग खोलामा पौडी खेलेको छु । कतिचोटि रहमा डुबेर पानी खाएको छु । ती घटना सम्झिँदा अहिले पनि मेरो छाती ढुकढुक गर्छ।
हामी खोलाको बगरमा पुगेका मात्रै थियौँ, एक जना मानिस भेटियो । ऊ कहिल्यै नभेटेको नौलो मान्छे थियो । उसको कपाल र दाह्री लामो थियो । कपाल कोरेको वा मिलाएको पनि थिएन । शरीरमा लगाएका लुगा पनि झुत्रेझाम्रे थिए । अनुहारमा हेर्दा डरलाग्दो देखिन्थ्यो।
“कस्तो भूतजस्तो मान्छे !” मैले मात्रै सुन्नेगरी बुवाले भन्नुभयो।
बुवाको कुरा सुनेर म डराएँ । उसको नजिक गइनँ।
केही समय बगरको बाटो हिँडेपछि हामी खोलामा पुग्यौँ । बुवासँगै खोलो तरेँ । ऊ पनि हामीसँगै खोलो तरयो ।
पारि पुगेपछि हामी उकालो लाग्यौँ । त्यो मानिसले बडो डरलाग्दो तरिकाले हामीलाई हेर्दै खोलैखोला तलतिर झरयो ।
अलि माथि पुगेपछि बुवाले भन्नुभयो,“त्यो पक्कै भूत हो । कता जान्छ हेर्नुपर्छ ।”
हामी एउटा ढिस्कोमा उभिएर बगरतिर हेरयौँ तर त्यो मान्छे देखिएन ।
“देख्यौ? मैले भनेको थिएँ नि ! हामीलाई देखेपछि त्यो त्यहीँ हरायो ।”लामो सास फेर्दै बुवाले भन्नुभयो, “कस्तो अचम्म ! आज दिउसै भूत देखियो ।”
म डरले लुगलुग कापिरहेकी थिएँ । बुवाले हातमा समाउनुभयो।
“धन्न छलेन ।” बुवाले भन्नुभयो, “त्यसको छायाँ शरीरमा परेको भए छल्थ्यो ।”
“बुवा यो भूत कहाँ बस्छ ? के खान्छ ?” डराई डराई मैले सोधेँ ।
बुवाले भन्नुभयो, “घना जङ्गल वा ओडारमा बस्छ नि ! के खानु, किरा फट्याङ्ग्रा खान्छ । यसो चोर्न पायो भने अनाज पनि खान्छ होला !”
“हजुरले त्यसलाई देख्नुभएको छ ?”
“तिमीले पनि त देख्यौँ । त्यै त हो । त्यसरी भूतै भनेर भेटेको त छैन । आकलझुकल देख्ने त हो ।” केहीबेर रोकिपछि बुवाले भन्नुभयो, “पहिले पहिले भूतले मानिसका घरमै आएर काम गर्थे रे। पछि खै किन हो आउन छोडे रे !”
“आज हामीले देखेको जन्तु पक्कै भूत हो त बुवा ?” मलाई खुलदुल लाग्यो र सोधेँ ।
“सोह्रै आना भूत हो । यसमा त शङ्कै छैन । भूत नभएको भए यति छिटै कसरी हराउँछ । हेर्दा हेर्दै गायब भएको देखिनौ? मलाई लाग्छ त्यो भुत बगरको ठुलो ढुङ्गामुनि पसेको हुनुपर्छ ।”
बुवाको कुरा सुनेर मलाई एकातिर डर लागिरहेको थियो भने अर्कोतिर खुसी पनि थिएँ । किनकि मेरा साथीहरूमध्ये पहिलोचोटि भूत देख्ने मै थिएँ । यो कुरा साथीहरूलाई सुनाउँदा कति मजा आउला भन्ने कुरामा उत्साहित थिएँ ।
कुरा गर्दागर्दै हामी उकालो चढेर नेटामा पुग्यौँ ।
नेटामा बर र शमीका दुईटा रूख छन् । त्यसैको तल चौपारी छ । त्यो ठाउँमा चारैतिरबाट सिरसिर हावा आउँदा जस्तो गर्मीमा पनि शीतल हुन्छ ।
चौपारीमा चार पाँच जना मानिसहरू बसेका थिए । तीमध्ये केहीलाई बुवाले खुट्टामा ढोग्नुभयो । कतिले बुवालाई ढोगे ।
ढोगभेट सकिएपछि बुवाले भन्नुभयो, “छोरी सबैलाई नमस्कार गर।”
लजाई लजाई मैले सबैलाई नमस्कार गरेँ।
सबैले भन्नुभयो, “धेरै पढे, ज्ञानी भए।”
“साच्ची छोरीले कतिमा पढ्छिन् हँ ?” एक जना बृद्ध मानिसले सोध्नुभयो।
“पाँचमा पढ्छिन् । पढाइमा तगडा छिन् । कक्षामा सधैँ प्रथम हुन्छिन् ।”
बुवाले त्यसो भन्दा म गमक्क परेँ । सबैले मेरो प्रशंसा गरे।
पढाइलेखाइका कुरा सकिएपछि लामो सास फेर्दै बुवाले भन्नुभयो, “आज अचम्म भयो !”
“के भयो ?” सबैले सामूहिक प्रश्न गर्नुभयो।
बुवाले भन्नुभयो, “तल साँघुका रहमा भूत भेटियो ।”
“भूत ?”
“भूत ! हामी उताबाट आइरहेका थियौँ । बगरमा भेटियो । वारिसम्म हामीसँगै आयो । वारि आएपछि हामी यता लाग्यौँ । ऊ तल झर्दै थियो, हेर्दा हेर्दै गायब भयो ।”
“देख्यौ ? यो ठाउँमा भूत छ भनेर मैले भनिरहन्छु नि । तिमीहरू पत्त्याउँदैनौँ । आज कान्छाले देखेछ ।” एक जना बृद्धले भने । “त्यसको छायाँ त परेन नि ?” अर्काले सोधे ।
बुवाले भन्नुभयो, “कहाँ छायाँ पर्न दिनु, हामी टाढा टाढा भएर हिँड्यौँ नि ।”
“छायाँ नपरेको भए केही हुन्न । तैपनि भरे यो नानीलाई यसो सुनपानी छर्केर सातो फर्काउनु ।” पहिलेकै मान्छेले भने।
हामी लामो समय त्यै चौपारीमा बस्यौँ । बसाइका क्रममा बुवाहरूले त्यै भूत, प्रेत र बोक्सिनीका कुरा गर्नुभयो । म डराईडराई सुनिरहेँ।
हाम्रो खेतमा पुग्न त्यहाँबाट पनि अलिकति हिँड्नुपर्थ्यो। हिँड्ने तरखर गर्दै थियौँ । त्यस्तैमा अलि परबाट एक जना मानिस आएको देखियो । मैले हेरेँ, त्यो मान्छे अघि खोलामा भेटिएको मान्छेजस्तै थियो।
“बुवा भूत !” म एक्कासि चिच्याएँ र बुवाका काखमा टाँसिएँ।
“के भन्छे यो ?” सुरुमा बोल्ने बृद्धले भने ।
त्यो मान्छे हाम्रा नजिक आयो । मैले राम्ररी हेरेँँ, त्यो अघिकै मान्छे थियो । त्यसलाई देखेर बुवा पनि अक्कनबक्क हुनुभयो ।
ऊ सबैलाई नमस्कार गर्दै चौपारीमा बस्यो।
“जगत भाइ धेरै दिनमा देखियौ त, कहाँ हराएका थियौ ?” सुरुमा बोल्ने बृद्धले भने ।
“यता आउने कामै परेको थिएन, त्यसैले नआको नि । हिजोआज बाख्रापाठाको खासै कारोबार पनि छैन ।”उसले भन्यो ।
“दाइ, उहाँ को हो र ?” डराईडराई बुवाले बृद्ध मानिसलाई सोध्नुभयो।
“गुर्वाकोटे कान्छो के त, चिनिनस् र ?” वृद्धले भने, “खसीबोका किन्न आउँथे । अहिले त आउनै छोडे ।”
बुवा केही बोल्नुभएन।
अघि भर्खरसम्म हामीले भूत भनेको व्यक्ति अहिले हामीसँगै बसेर कुरा गरिरहेको थियो ।
‘भूत कसरी मान्छे भयो ?’ मेरा मनमा कुरा खेल्न थाले, ‘अहिलेसम्म बुवाआमाले सुनाएका भूतप्रेतका कथा सबै झुटा हुन् त ?’
एक दिन दया मिसले भनेको कुरा सम्झेँ । उहाँले भन्नुभएको थियो, ‘अहिलेको युगमा पनि हाम्रो समाजले धेरै अन्धविश्वासी कुराहरूप्रति विश्वास गरिरहेको छ । हामी त्यसबाट मुक्त हुनुपर्छ ।’
मैले लामो सास फर्दै चारै तर्फ हेरेँ । हामीले भूत ठानेको मान्छे हाँसीहाँसी कुरा गरिरहेको थियो । मेरा बुवासमेत सबैले ध्यान दिएर उसका कुरा सुनिरहनुभएको थियो ।
प्रकाशित: २३ जेष्ठ २०७८ १३:३३ आइतबार