जमुना पौड्याल
हरेराम बाजे सनातन संस्कृतिलाई राम्रोसँग मान्थे । पूजापाठ गर्नु, लामो धर्को तानेर निधारभरिको टीका लगाउनु , धोती फेरेर खानु आदि संस्कार छोडेका थिएनन्। यो महामारीले बाजेलाई पनि छोडेन। आत्तिएर छोराहरूले अस्पताल भर्ना गरे। बाजेलाई कसरी उठाउने हो भन्ने चिन्ताले परिवारमा बेचैनी छायो।
“बा, हजुर निकै गल्नुभयो । म सिकारको सुप ल्याउँछु, नाइँ नभनी खानुहोस् ल !” जेठो छोराले बिन्ती बिसायो।
“रामराम ! यो के भनेको ? ईश्वरका कानमा नपुगोस् । छरछिमेकमा मुख देखाइसक्नु होला र फेरि ? यस्तो कुरा नगर छोरा ! ” बाजे कष्टले बोले।
डाक्टरले सबै बिरामी हेरेर जाने बेलामा रञ्जनलाई तागतिलो खानेकुरा र मासुको सुप बाजेलाई खुवाउने सल्लाह दिए ।
“डाक्टरसाब , त्यो सुप त ज्यान गए पनि खुवाउन सकिँदैन के गर्ने होला ? अरू सबै खुवाएको छ ।” निराशाको सुस्केरा फ्याँक्दै रञ्जनले भने।
“ तपाइँ बनाएर ल्याउनुहोस् म खुवाउँछु । नत्र बिरामी उठाउन गाह्रो छ ।” डाक्टर यति भनेर बाटो लागे।
रञ्जनले हतारहतार सुप बनाएर ल्याए अनि डाक्टरको जिम्मा लगाए ।
“बा, यो सुप खानुहोस् । हजुर छिट्टै निको हुनुहुन्छ ।” बाजेलाई खुवाउन खोज्दै डाक्टरले भने।
“ज्यादै हस्को आयो बाबू ! खान सकिँदैन होला ।” नाक खुम्च्याउँदै हरेरामले भने।
“डाक्टर भनेका भगवान हुन् । लौ बाबू बचाउनु पर्यो, भन्नुभएको होइन ? खान नमानेपछि कसरी बचाउने र ? आज्ञापालन गर्नुपर्यो नि बाँच्न त ! नत्र माथिका भगवानसँग पुगिन्छ बा !” डाक्टरले बाजेलाई खुवाएरै छोडे ।
प्रकाशित: २२ जेष्ठ २०७८ १७:२४ शनिबार