९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा

कोरोनाको भयावह अवस्था छ। जिल्लाहरूमा निषेधाज्ञा लागू छ। अनावश्यक रूपमा घरबाट ननिस्कन भनिएको छ। विवाहको लगन छ। भीडभाडको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले अधिकतम २५ जनासम्म जन्ती लग्न नियम पारित गरेको छ। धनुषामा झन् १५ जना मात्र भनिएको छ। बाहिरका कसैलाई नलगे पनि घर–परिवार र कुटुम्ब नै त्यसभन्दा बढ्ता हुन्छन्। तर आदेश मान्ने प्रयास गरिएकै हो।

हो, यसमा जन्ती कम गर्न सकिए पनि विधि–विधान छोड्न सकिने कुरा भएन। र, यी सम्पूर्ण विधि गीतमा आधारित हुन्छ। मैथिली लोकगीतमा दुई पक्ष हुन्छन्। एक–विवाहमा प्रयुक्त हुने, अर्को विवाहको पृष्ठभूमिमा पारिवारिक एवं सामाजिक वातावरणको चित्रण गरिएको। म यहाँ दोस्रो प्रकारको लोकगीतको चर्चा गरौँला, जसले समाजमा छोरीप्रतिको नकारात्मक सोच देखाउँछ। दहेज प्रथाले गाँजिएको समाजको त्यतिबेला के रूप थियो भन्ने देखाउँछ।

लोकगीत लोककण्ठमा परम्परागत रूपमा जातीय जीवनको यथार्थ दर्शन हो। यसको अध्ययनले कुनै पनि देशको सभ्यता, संस्कृति, धर्म–नीति, रीति–थिति, कला–साहित्य, सामाजिक संरचनाको सूक्ष्म अनुभूति हुन्छ। यो शास्त्रीय आडम्बरबाट अलग लोक जीवनको स्वाभाविक उद्गार पनि हो। जन्मदेखि मृत्युसम्मका विभिन्न पक्षबारे यसमा गहन चित्रण गरिएको हुन्छ।  

त्यस्तै एउटा पक्ष हो विवाह। मानिस मात्रका लागि विवाह एउटा अनिवार्य जीवन पद्धति हुन्छ, जसले मानव जीवन चक्रलाई पूर्णता दिन्छ। कोरोना कालमा पनि विवाह कार्य रोकिएको छैन। गाउँ–गाउँमा वैवाहिक कार्यक्रम सम्पन्न भइरहेका छन्। कति ठाउँमा त स्वास्थ्य सुरक्षा अपनाउन नसकेर जन्ती र घरपट्टी पनि संक्रमित भई ठूलो नोक्सानी उठाउनुपरेको छ। तर विवाह जारी छ, जहाँ महिलाहरू परम्परागत लोकगीतको माध्यमबाट एक क्षणका लागि भए पनि कोरोनाको आतंकबाट वातावरणलाई मुक्त गराइराखेका हुन्छन्।

लोकगीतमा विवाह प्रसंग  

लोकगीत मिथिलाका विदेहवंशी राजाकै पालादेखि प्रचलनमा रहिआएको तर्क मैथिल विद्वान्अघि सार्छन्। यता कर्णाट वंशीय महाराज नान्यदेव (१०९७–११३३) को नाउँलाई निकै महŒवका साथ लिइन्छ। सम्भवतः उनी नै मिथिलाका प्रथम राजा थिए, जसले संगीतका विभिन्न राग–रागिनीको निर्माण र विकासमा योगदान गरे।  

परम्परागत गीति रचना, जहाँ लोककण्ठमा अज्ञात रचयिताद्वारा स्थापित भई आए भने विद्यापति समेतका कविहरू पनि लोक भाषामा रचनाहरू गरेर अमर हुन पुगे। अनि नागरिकको रुचि अनुसार लोकछन्द र पद्धतिमा रचित यस्ता गीत पनि त्यत्तिकै लोकप्रिय भएका छन्।  

हजारौं वर्षदेखि लोककण्ठमा वास बस्दै आएका मौलिक लोकगीतमा प्रचलित विवाह प्रसंगलाई यहाँ चर्चा गरिएको छ। दशकौँपूर्व छोरी हुँदा आमाबुवामा आउने नैराश्यता र त्यसपछि दाइजो दिनुपर्ने अनिवार्यता पनि लोकगीतमा बडो सजीव रूपमा आएको छ–

‘पोथिया जे खसल बनारस हो बाबा,

बेद सब गेल भुलाए हे।  

बेटी नेने झँखथि बाबा से कओन बाबा,

कोना क करब धिया दान हे।  

(मैथिली संस्कार गीत, सं–राधाबल्लभ शर्मा, २००० ई.।)

छोरी भएपछि कसरी बिहे गरिदिने भन्ने चिन्तामा व्यथित बुवाको पीडा त बुझिन्छ, तर छोरी जन्मदै आमाको दिकदारी यति बढ्छ कि उनी भन्न थाल्छिन्– मलाई छोरी जन्मिन्छन् भनेर थाहा भएको भए गर्भावस्थामै मरिच पिँधेर खाइहाल्थेँ, जसको पिरोले गर्भमै छोरी मरिहाल्थिन्। कत्रो क्रूर विचार ल्याउन बाध्य थिए त तत्कालीन समाजका आमाहरू। यो एउटा पक्ष हो, आज पनि अल्ट्रासाउन्ड गराएर छोरी भए गर्भपतन गराउने सम्भ्रान्त घरानाका परिवारको चलन नभएको होइन। तर, लोकगीतमा वर्णित तत्कालीन समाजका आमाको अभिव्यक्ति अत्यन्त कठोर सत्य भएर आएको छ, जसले जिउ नै सिरिङ्ग पारिदिन्छ।  

प्रसंग हेरौं–

‘पुतर जे रहितें बेटी बजितइ बधाबा

धीआकेर जनम उदास हे।’

छोरा भएको भए बधाई, उल्लास हुन्थ्यो, छोरीको जनम नै चिन्ता र विरक्तिको कारण भयो। आमाको यस भनाइप्रति आपत्ति र आक्रोश व्यक्त गर्दै छोरी भन्छिन्– यदि यस्तो थियो भने मलाई किन जन्माएको ?  

‘कथीले आहे अम्मां धिया केर जनम देल,

कथीले एतना उदास हे।’

आमा भन्छिन्, ‘पहिले जे जनितउँ धिया रे जनम लेत

खएतउँ मरिच पचास हे

मरिचक झाँस धिआ दुरि जाइत

छुटितइ धिआक संताप हे।’

मलाई थाहा भएको भए छोरी जन्मिन्छन् भने म गर्भावस्थामै मरिच पिँधेर खाइहाल्थेँ, जसको पिरोले गर्भमै छोरी मरी हाल्थिन्। आजको महिला सशक्तीकरणको युगमा महिलाले अधिकार पाउनुपर्ने माग भइरहेको र सम्पत्ति समेतमा अधिकार सुनिश्चित गर्ने विधेयक पास भइसकेको प्रसंग त छँदै छ। पैतृक सम्पत्तिमा हक सुनिश्चित भएको छ। त्यस बखत छोरीद्वारा आफ्नो अंश माग्दा बुवा विचलित हुन पुगे र भन्छन्– यदि तिम्रो दाबीबारे पहिले नै जानकारी हुन्थ्यो भने नदीमा भएको कुनै पुरानो नाउँमा राखेर बाल अवस्थामै पानीमा मिल्काइदिन्थेँ। दहेज र छोरीलाई दिनुपर्ने अंशबाट विक्षुब्घ बुवाको यो अभिव्यक्ति आजको सन्दर्भमा कत्रो असंवेदनहीन लाग्छ ?  

‘लिखियो गे वेटी, भेजू बावूजी क पास।

तोहरो कमइया हो बाबा, मोरो अंसधारी।। १।।

जौं हम जनिती गे बेटी, होएबो अंसधारी,

ओझरी ओ नइया ग बेटी, दीती भसिआई।।२।।

त्यस बखतको समाजमा दाइजोकै कारण पनि अनेकौँ परिवार विस्थापित हुन पुगेका अनेकौँ प्रसंग लोकगीतकै माध्यमबाट आएका छन्। तर सबै परिवार यस्तै थिएनन्। आफ्नी छोरीको विहे भव्यता साथ गर्ने अर्थात् मोटो दहेज दिने उत्साही बुवाहरूको पनि कमी थिएनन्। आफ्ना पतिको सेवा गर्दै पत्नीले छोरीको बिहेमा के दिने दाइजो ? भनी सोध्दा पति दम्भले भनेका छन्, ‘हाथी, घोडा र रूपैयाँका साथै आफ्नी सर्वगुण सम्पन्न छोरी पनि दिन्छु। छोरीलाई सानले डोलीमा चढाई बिदाइ गर्नेछु।’

अद्भुत जाँगर, जोस र उत्साह, प्रशन्नता साथ छोरी बिदाइ गर्ने यस्ता पिता त्यत्ति बेला पक्कै कम थिए होलान्–

‘इटबा मे काटि–काटि, कोठबा उठए लउँ हे।

ताहि कोठा सुतलनि, कनियां दाइ क वाप हे।।  

हंसि हंसि अपन अम्माँ, बेनिया डोलाय हे।

केतना दहेज देबइ, बेटी केर वाप हे।।

हाथी देबइ, घोडा देबइ, टकबा पचास हे।

कओन सनक बेटी देबइ, डोलिया फनाइ हे।।

(सबै पूर्ववत् )

मैथिली लोकगीतमा विवाह प्रसंगको अत्यन्त विस्तारले चर्चा गरिएको छ। विभिन्न समय र विधिको रोचक प्रसंग अत्यन्त सजीव ढंगले गीतहरूमा प्रस्तुत गरिएका छन्। विवाह गीतमा भगवान् शंकर र पार्वतीको बिहे प्रसंगको चर्चा रोचक, रोमाञ्चक र हास्य उत्पन्न गर्ने खालका हुन्छन्। महाकवि विद्यापतिको प्रसिद्ध रचना ‘आजु नहि रहब हम एहि आंगन, जं बूढ हयत जमाए गे माइ’ अर्थात् ज्वाइँ बूढो भए म अब यहाँ बस्ने छैन भनी पार्वतीका आमा मैनाको बिलौनाजस्ता गीतभन्दा निकै वर्षपूर्व मैथिली लोकगीतमा आएको यो रोचक प्रसंग हेरौँ–

“गिरहीसं वहार भेला पीढि चढि बैसला,

नगरहिं परल हकारे जी।

नगरक लोक सब देखन आए,

महादेव चरन पखारे जी।।१।।

चरण पखारि मानस घर गेला,

तिमन देखल सचारे जी।

ई सब तिमन मनहु न भावे,  

आक, धतुर फलहारे जी।। २।।

सैह सुनि मनाइन खसलि मुरुछि घर,

गाइन गेल पराइ जी।

केहन बर जोहि लएला हेमत रिसि,

खन खन धरे धेआने जी।। ३।।  

(पूर्ववत)

मिथिला संस्कृति अनुसार कुनै अतिथि घर आउँदा खुट्टा पखाल्न लोटामा पानी दिने चलन छ, महादेव आफ्नो ससुराली पुग्छन्। पिँढीमा बसालिन्छन् र खुट्टा धोएपछि भान्साघरमा भोजनका लागि लगिन्छन्। सासु मैना विभिन्न किसिमका परिकारले सजिएका टपरी, थाल ज्वाइँ अगाडि सार्छिन्। सजिसजाउ खाद्य सामग्री देखेर महादेव जिल्ल पर्छन् र भन्छन्– हैन, यो खाना मलाई मनपर्दैन। म त आक, धतुरा पो मन पराउँछु। यो सुन्दै ज्वाइँको इच्छा र अनुहार, व्यवहार देखेर सासु मैना बेहोस हुन पुग्छिन्। उता ज्वाइँ आउँदा स्वागतमा गीत गाइरहेका महिला त्रसित भएर भागे। पार्वतीका लागि यस्ता दुलाहा खोजेर ल्याएकाले पितालाई सबैले गाली गर्न थाले।

मैथिली लोकगीतभित्र यस्ता रोचक प्रसंग निकै छन्। अब यी गीत गाउँघरमा मात्र सीमित हुन पुगेका छन्। केही सिपालु क्यासेट कम्पनीहरू गीत रेकर्ड गरी बजारमा ल्याएका छन्। मौलिक स्वाभाविक मिठास भन्ने त्यसमा हुँदैन। यसलाई मौलिक रूपमै लोककण्ठमै संरक्षित, संवद्र्धित गर्न आवश्यक छ।

प्रकाशित: २२ जेष्ठ २०७८ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App