पूर्णिमा जी शाह
सीमित परिधिभित्र
कहालीलाग्दो परिवेश
उराठमय क्षण
एउटा व्याकुल मन
रातजस्तै दिनमा नै
विलीन हुँदै गरेकी
पर्खालभित्रकी कैदी म।
जाउँ कहाँ जाउँ ?
लम्पसार छ सडक
शासक बनेर।
धुलोको तकिया बनाई
सिङ्गो आकाश ओढेर
चकमन्न दिनमा
मस्त निदाइरहेछ।
त्यही सीमित परिधिभित्र पनि
हातखुट्टा बाँधिदिएको
बेरोजगार
योजनाविहीन
जिउन जीवन बाध्य म।
असजिला परिवेशमा
भित्रभित्रै पिरोलिरहेछ
र पनि
मनभरिका सपनाहरू
नाघ्न खोज्दै छन्
बर्लिनका पर्खालहरू ।
उसबेला
नवदुलहीझैं थियो समय
भरिभराउ थिए सडक
साँचेका थिए आम्दानी
कुनै अनिकालका लागि ।
तर आज लक्ष्मणरेखाभित्र
अपराधविहीन अपराधी
न त कुनै तारिख मिल्छ।
न त कुनै स्वतन्त्रता नै।
भन्छन्, ‘मानवलाई बदला लिन।’
ढोकामा छेस्किनी लगाए पनि
झन् रूप परिवर्तन गरेर तयार
माल्थसका उडुसहरू
मानवलाई नै आक्रमण गर्न।
यही समय
‘आऊ मसँग ।’ रित्तो पेटले भन्छ
र संवाद गर ।
बोलाइरहन्छ क्षणक्षण।
तर म निःशब्द छु
मसँग छैनन् कुनै मागहरू
आफ्नै परिवेशसँग संवाद गर्ने।
त्यसैले
मेरा लागि
नदी रोकिएको छ।
पेन्डुलम रोकिएको छ।
समय नदीजस्तै भए पनि।
अक्षरका भिक
न त भिखारीझैं माग्न सक्छु।
तर पनि रित्तो पेटले
बोलाइरहन्छ क्षणक्षणमा।
तर म निःशब्द छु
मसँग छैनन् कुनै विकल्पहरू
आफ्नै परिवेशसँग सम्वाद गर्न।
बितिरहेछन् दिनहरू
कैदीझैं तारिखमा।
फेरि कहिले बिउँझेलान् ?
कुम्भकर्ण सडकहरू।
साँघुरिएको क्षितिजबाट
फेरि कहिले हराउलान् ?
माल्थसका उडुसहरू।
अनि
फेरि कहिले उठौंला ?
हत्केलामा सगरमाथा लिएर
इन्द्रेनी सपना बुन्दै म।
प्रकाशित: १६ जेष्ठ २०७८ १२:५७ आइतबार