कविता ढकाल
गरिबीको फाइदा उठाउँदै मुर्गा बनायौ जनतालाई!
बोकेर बन्दुक जङ्गल पस्न बाध्य बनायौ तिनै जनतालाई।।
अबोध बालबालिका अपहरण गरी जंगली बनायौ!
खान नै नपाई तिनै अबोधलाई अहोरात्र शासकसँग लड्न लगायौ!
आफ्नो ज्यानको बाजी राखेर युद्ध गर्न तिनैलाई अघि बढायौ!
आफू चैं मर्नेको डरले भारततिर सहारा माग्दै टाउको लुकायौ।।
केके नै पाउला भनेर ज्यान गुमाउनेको त नामै हरायो!
तिनीहरूका परिवारलाई पनि भिख मागी खाने बनायो ।
लुकीलुकी सिकार मार्ने सिकारी तिनै गरिब जनता नै बनायौ!
मारेर ल्याइदिए शिकार गरिबका सन्तानले स्वाद गरी तिमीले चपायौ।।
जब, युद्ध जितेर आए जनता अनि सिन्दुर पहिरिने भयो नेता !!
तर, विडम्बना चै यो छ कि लुकीलुकी आफ्नू ज्यान बचाउने नेता !
अहिले सत्तामा पुगेपछि ठुलो पदको लोभमा कुर्लदै हिंड्ने तिनै नेता।।
चोक्टा खाने सपना देखाई जनतालाई झोलामा डुबाई मार्यौ!
जनतालाई बलिको बोका बनाई तिमीहरूले चिल्ला गाडी कमायौ।।
सोलुट छ, नेता हो तिमीहरूलाई !
यस्तो तिमीहरूको महान् कार्यलाई।।
आश्रर्यचकित यो छ कि हिजो मर्ने पनि गरिब !
अनि आज चौतर्फी किचिएर मर्ने पनि गरिब।।
खै कहाँ दियौ ? जनतालाई सुख अनि मनमा शान्ति!
फेरि पनि भुक्दै छौ उही कुरा उफ्रीउफ्री ल्याउने क्रान्ति ।।
उफ...!
अब त कति सुन्ने हो तिमीहरूको बकम्फुसे भाषण !
यो महामारीको बेलामा त जनता बचाउन प्रयास गर न।।
गरिबका सन्तानलाई यति दिने भनी लोभमा पार्ने नेता!
बेसरी नाइटो चर्कने गरी भुँडी भर्ने नेता!
दिनैपिच्छे मुड्की बजारेर कुर्लेर हिँड्दै छन् तिनै नेता !
हस्पिटलमा अक्सिजन नपाई चिसो भुईमा खटपटिएर मर्दै छन् जनता।
धिक्कार छ नेपालका नेता तिमीहरूलाई !
देखेका छौ खाना नपाई खटपटिएका गरिब जनताहरूलाई।।
सोलुट छ नेतालाई ।
प्रकाशित: १६ जेष्ठ २०७८ ०७:२६ आइतबार