१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बेवास्ता

लघुकथा

जमुना पौड्याल

 

शान्तिराम घाँस काट्न खेतमा पुग्दा बालक रोएको आवाज सुने। यताउता आँखा डुलाए। खोल्साको छेउमा एउटा बिर्को नभएको बाकस देखे। उनको छाती ढुकढुक भयो। छेउमा भैंसी चराउँदै गरेको केटालाई बोलाएर  गाउँमा खबर पठाए। क्षणभरमै सबै भेला भए। पूर्णिमा पनि आइन्।  

 निकैबेर खैलाबैला भयो तर कसैले बच्चा लाने कुरै उठाएनन्। शान्तिरामले महन्त साहुलाई अनुरोध गरे तर विफल भयो। पूर्णिमा अघि सरिन्। घरमा दुःख थियो तर के गर्नु कोही मनकारी भएनन् । त्यो बालकलाई त्यही खोल्सामै छोड्ने कुरा पनि भएन।

एउटाले बालगृहमा छोड्ने सल्लाह दिए। पूर्णिमाको मातृत्व सलबलायो। उनले बालकलाई आफ्नै घरमा ल्याएर पालनपोषण गरिन् । घरकाले नदुखेको टाउको डोरी लाएर के दुखाएको होला भन्दै सरापे । उनले कसैको कुरा वास्तै गरिनन्।

शन्तिरामले कानुनी रूपमा आफ्नै छोरा बनाए। अब कसैले हकदाबी गर्न नपाउने भयो। छोराछोरीहरू पनि लाखापाखा लागे। अहिले सुयोग उनीहरूको सहारा बनेको छ। जहाँ गए पनि पूर्णिमाले सँगै लिएर हिँड्छिन्।

उता महन्त साहु एक्लै छन। त्यत्रो सम्पत्तिको रेखदेख गर्ने कोही छैन । बिरामी पर्दा पानी दिने मान्छे घरमा छैनन्। एउटा छोरा त सँगै बस न बाबै भन्दा पनि एउटैले टेरेनन्। सुयोगलाई देख्दा उनको मन कुँडिन्छ।  

उनी मन मनै सोच्छन्, “ईश्वरले मेरै लागि उपहार पठाएका रहेछन्। त्यो बेला बेवास्ता गरें । हरे शिव ! सम्पत्तिले त केही लछार्दो रहेनछ। किन निर्दयी बने त्यो बेला ?”

प्रकाशित: १५ जेष्ठ २०७८ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App