१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

विपतमा मान्छे

कविता

कोरोनाले सतायो भन्छन् मान्छे  सबै थुनिए घरभित्र

विश्व सारा हाहाकार भयो कतै पनि रहेन पवित्र

कति मरे बालवृद्ध कति मरे दुखी

पौरखमा बाँच्नेहरू भए आशामुखी

स्कुल कलेज बन्द भए बन्द भए गाउँ

निसासियो विश्व सारा छैन जाने ठाउँ

 

कोरोनाले हल्लाएपछि दुनियाँको स्वरूप फेरियो

फूल समान उज्यालो संसार आँधीसरी दुःखले घेरियो

 

मन्दिर, मस्जिद, गुम्बा, चर्च सुनसान खाली

कता भागे जिसस, अल्लाह कता गइन् काली

बुद्ध पनि मौन भए मान्छे  रोयो सारा

न त बाँचे पुँजीपति न त सर्वहारा

 

कोरोनाले चिनेन भन्छन् राजा रङ्क सबैलाई सतायो

मै हुँ भन्ने बादसाह, अमिर, किसान्, मजदुर सबैलाई अत्यायो

 

सहर बजार सुनसान भए छैन खैलाबैला

सडक पेटी खाली कतै छैन फोहर मैला

वायुमण्डल उज्यालियो धुवाँधुलो छैन

घरभित्र लुक्यो सारा छोडी सुख चयन

 

कोरोनाले भनेन अमिरी गोलीगठ्ठा देखेर डरेन

बेकाम भयो ओखतीमुलो विज्ञानले टारेर टरेन

 

नाकमुख पाखुराले छोप हाँच्छ्यूँ गर्दा

स्वास्थ्य संस्था जानू सास फेर्न गाह्रो पर्दा

ज्वरो आए खोकी लागे गर सावधानी

हात धुन प्रयोग गरौं सबले साबुनपानी

 

कोरोनाको ओखती छैन आफूआफू सतर्क बन्दैछन्

राख्नुपर्छ सामाजिक दुरी सूचना र सञ्चारले भन्दैछन्

 

भोका नाङ्गा मजदुर किसान छैन कामधन्दा

बिहान खाए भरै के खाउँ पर्याे ठुलो फन्दा

हुनेखाने मोजमस्ती गरिबलाई सास्ती

कैलेसम्म चल्ने होला कोरोनाको गस्ती

 

धेरै कुरा के गर्नु दुखको लुकाउनलाई छैन रे कतै ठाउँ

संसार खायो अगति रोगले छैन खाली भागेर कता जाउँ?

 

मर्ने बाँच्ने टुङ्गो छैन छैन ज्यानको आस

स्वर्गजस्तो नेपाल हुने भयो मसानघाट ।

मान्छेसित मान्छे हुन थाले परपर

विश्व भयो कोलाहल भुत बस्ने घर

 

के रैछ र मान्छेको ताँदो कर्कलाको पानीझैं  बिलाउने

प्रकृति नै असली कलाकार घटीबढी तौलेर मिलाउने

 

नपाइन्छ टहल गर्न नपाइन्छ छुन

पाइँदैन मलामी भै मसानघाट जान

आफन्तलाई अन्तिम घुटको पानी पिलाउन

सकिँदैन ममताले हात मिलाउन

जीवन प्यारो हो भन्नलाई अब कसी लगाउन परेन

भाग जता काल आउला भनी जानुपर्छ अवश्य मरेर।

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App