२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

आइसफलले बनाउन लागेको नेपाली फिल्म ‘गुराँस’ ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट फन्ड

सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्तनिर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । आइसफल प्रमुख रामकृष्ण पोखरेलले खबर पुष्टि गर्दै फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराए । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो ।  

पोखरेलका अनुसार कालिम्पोङमुल थलो भएको नेपाली भाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो । त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो ।  

निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए

‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो । बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने सोचमा छौँ ।’

फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहने छ । यो बाहेक संजय गुलाटी पनि यो फिल्मको निर्माणमा साझेदार रहने छन् । आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App