खेमराज पोखरेल
१) पराई
बाउले लगाइदिएको अंशको कुरो झिकेर भाइले अनावश्यक भन्यो– ‘अंशमा दाइले किचलो गर्यो।’
परिणाम – पानी बारबार।
श्रीमतीले वार्निङ दिइन्– ‘जाबो एउटा जन्तर पनि लाउन नपाउनू ?’
परिणाम – मन मुटाव।
बाबुआमाले भने– ‘सुको कमाएन, योचाहिँ कुपुत्रै निस्क्यो।’
परिणाम – हेला।
काकाकाकीले भने– ‘खुब सरकारी जागिरे भन्थे, केही लछारपाटो लाएन ।’
परिणाम – काखी बज्यो ।
साथीभाइले भोज नखुवाएकोमा पाखा लगाए र भने– ‘साला तन्नमप्रसाद, मक्खीचुस।’
परिणाम – असामाजिक ।
मायालुहरूले उहिल्यै छोडेकै हुन् । भन्थे– ‘टाटबहादुर ! ’
परिणाम – रेला।
छोराछोरीले सधैँ फि तिर्ने बेलामा भनिआएका छन्– ‘उही खर्दार प्रवीण अङ्कलको त्यस्तो राइँदाइँ छ, उही खर्दार हाम्रा बाको टोपी टालिएन । फि तिर्ने बेला भो जहिले पनि घरमा रूवाबासी !’
परिणाम – तनाव।
दिदीबहिनी पनि भन्दै आएका छन्– ‘अरू बेला त हात उठेनउठेन, वर्ष दिनमा आएको चाडमा पनि उस्तै । हल्लनटट्टु ’
परिणाम – कुवचन।
ससुराली जहिले पनि छोरीलाई सुनाउँछन् रे –‘झन् खर्दार भा पनि सरकारी जागिरे भनेर छोरी दिएको त कस्तो हुतिहारा रहेछन् जुवाइँ त !’
परिणाम – हेपाइ।
साह्रै दिग्दारीले सुतेँछु । तन्द्रामा प्रभु आएछन् ।
प्रभु दयालु भएर भन्दै थिए– ‘वर माग मनुष्य !’
मैले हतारहतार भनेँछु–
‘आफन्तबाट रक्षा गर प्रभु, पराईसँग त म आफैं जुध्छु ।’
२) लादीको रोइला
ऊ र म एउटै गाउँमा जन्मियौं । बढ्यौं। पढ्यौं। मास्टर गर्यौं । समान पदमा जागिर पनि खायौं । पिएचडी पनि गर्यौं ।एउटै विश्वविद्यालयबाट । हाम्रो पढाइ पनि एउटै काँटको थियो । कहिले ऊ उन्नाइस, कहिले बीस । राजनीतिक विचार पनि एउटै थियो । केही फरक थिएन। गुनासाहरू थिएनन् । तँतँ –ममको लगौंटिया यार।
हेर्दाहेर्दै ऊ फेरिन थाल्यो। उसले राजनीतिक विचारभन्दा पार्टी समायो। पार्टीभन्दा गुट समायो। गुटभन्दा उपगुट समायो । उपगुटभन्दा नेता समायो। समयअनुसार नेता फेरि फेरि समायो। पढाइभन्दा ढोका कुर्न मजा मान्न थाल्यो । उसको बसउठ फेरियो । स्तर फेरियो । गफ फेरियो । पढाइको कुरो छाडेर नेता र पार्टीको कुरो गर्न थाल्यो । देश अरूले बिगारेको तर्क गर्न थाल्यो।
ऊ नजरमा पर्यो । उसको प्रमोसन भयो। फेरिफेरि रोजीरोजी राजनीतिक नियुक्तिहरू पायो। एकताक हामी हिरो साइकल चढ्थ्यौं। म हिरो मोटरसाइकल चढ्ने भएको छु । ऊ एम्बेस्डर चढ्न थाल्यो।
दुर्भाग्यवश यसपल्टको फेरबदलमा उसले कुनै नियुक्ति पाएन र तिर्मिराएर मलाई भन्यो–‘साला, यो पार्टी खतम भयो। यो सरकार चल्दैन। कार्यकर्ताको मूल्याङ्कन नै छैन । २५० जना नियुक्ति हुँदा मजस्तो अनुभवीको कदर भएन।’
मैले अनायासै भनेंछु–‘आन्द्रा पनि खायौ, भुँडी पनि खायौ त। अब के रोइला गाउँछौ यार? मरिजाने जिन्दगीमा खान पुगेन भने साथीको नाताले एक बोरा चामल म किनी दिउँला। तर, अब लादी पनि खाने विचार त छोड।’
३) चित्रगुप्तको डायरी
डल्ले मेरो दौंतरी थियो। शरीरको खाइलाग्दो थिएन। पुड्को थियो । सुन्दर थिएन। तर धनी बाउको एक्लो छोरो थियो । खानदानी सामन्तको छोरो थियो । बोर्डिङ पढ्थ्यो । सामुन्नेमा उसलाई सबै गाउँले निरञ्जन बाबुसाहेब भन्थे। म गरिव बाउको छोरो थिएँ। सरकारी स्कुल पढ्थेँ। गाउँले मलाई हेप्थे र भन्थे – शरीर लरक्क परेर के गर्नु भाग्य लिएर नआएपछि । मेरो भाग्य नहुनू भनेको गरिब कुलमा जन्मनु थियो । जसमा मेरो कुनै भूमिका थिएन र समाज मलाई हाकाहाकीमै टिंगरिंगे भन्थ्यो।
अरूजस्तै डल्ले पनि मलाई जहिल्यै हेप्थ्यो। मेरो गरिवीको खिल्ली उडाउँथ्यो र भन्थ्यो–
‘गरिब थियो, पढ्न सकेन।’
‘गरिब थियो, खान पाएन।’
‘गरिब थियो, लाउन पाएन।’
‘गरिब थियो, स्वास्नीले छोडी ।’
‘गरिब थियो, उपचारबिना त्यसका बाउआमा मरे।’
‘गरिब थियो, छोराछोरी बँधुवा राख्यो।’
हुन त उसले पनि पढ्न सकेको थिएन। रोगले डल्लिएको थियो, खान केही हुँदैनथ्यो । उसकी पनि स्वास्नी पोइल हिँडेकी थिई। उसका पनि बाउआमा मरेका थिए। भएका छोराछोरी पनि शहरमा बोर्डरमा राखकोथियो।
समयकालमा ऊ पहिले मर्यो । म पनि मरेँ । मैले पाप गर्न मौकै पाएकै रहेनछु । मेरो आत्मा काउचमा रहेछ । चित्रगुप्तको डायरीमा उसले धेरै खानदानी पाप गरेको देखिएको रहेछ। उसको आत्मा कुम्भीपाकमा रहेछ।
उसको आत्माले मेरो आत्मालाई देखेर भन्यो–‘अहो,तँ काउचमा ?
मेरो आत्माले उत्तर दिएछ–‘सम्पत्तिले मृत्यु टार्न सकिँदो रहेन छ र मात्र, नत्र मलाई भन्थ्यौ होला हगि गरिब थियो ।, त्यसैले मर्यो !’
४) पत्नी पीडित
पढ्न मन लाग्थ्यो । तर एसएलसी दिनेबित्तिकै मेरो बिहे भएको थियो । त्यतिबेला मेरा श्रीमान् हाईस्कूलमा शिक्षक हुनुहुन्थ्यो।
मैले घरका सबै काम गरेँ । भात पकाएँ । चुलोचम्को पोतेँ । लुगा धोइदिएँ । भाँडा माझें। आइरन लाइदिएँ। जुत्तामा पालिस लाइदिएँ। सासूससुरा पनि हुनुहुन्थ्यो। सेवा गरेँ। बुहार्तन खेपेँ । दाइजो कम भो भनेर वचन पनि खाएँ। छोराछोरी पाएँ। स्याहार गरेँ । हुर्काएँ ।
श्रीमान् ढिलो उठ्नुहुन्थ्यो । ओछ्यानमै चिया टक्य्राएँ । घरैमा साथी बोलाएर तास खेल्नुहुन्थ्यो । खाजा बनाएर खुवाएँ । सबै कुरा उहाँले चाहेजस्तै गरेँ। ठिक चलेको थियो । गजब कुलकी बुहारी भन्थे घरकाले । परकाले। आफन्तले ।
मैले प्राइभेट जाँच दिएँ । मास्टर गरेँ। जागिर खान थालेँ । घरको सबै काम सकेर जागिर खाएर पैसा घरमा ल्याउँदा जीवन सजिलो भयो।
तर घरको काम भ्याइएन। मैले श्रीमान्लाई सघाउन लगाएँ। घरमा तास खेल्न छुट्यो। टक्य्राउने काम छुट्यो । जोसँग समय भयो उसैले काम गर्नुपर्ने भयो।
एकदिन उहाँलाई उहाँको साथीले भनेको सुनेँ–‘धनहर्क सर त पत्नी पीडित हुनुभयो !’
म एकाएक कराएँछु–‘पत्नीले अलिकति मुन्टो उठाउन थाले भने पत्नी पीडित हुन्छ लोग्ने ?’
५) खोजी
आमा एकदम खराब मुडमा हुनुहुँदो रहेछ । एकाबिहानै कराउन थाल्नुभयो–‘इन्जिनियर केटो आएको छ, बिहे गर !’
मैले उत्तर दिएँ– ‘गर्दिनँ अहिले।’
आमाले झन् रिसाएर भन्नुभयो– ‘किन ?’
मैले आमातिर नहरेरै भनेँ– ‘मलाई लोग्ने चाहिएको छैन।’
आमाले झन् जङ्गिएर भन्नुभयो– ‘तेरा उमेरमा मैले लोग्ने सुमरेर ३ वटा पाइसकेकी थिएँ।’
मलाई पनि झोक चलेछ र भनेँ– ‘तपाईँले आफू जलेर लोग्ने पाउनुभो !’
आमाले आगो निल्दै भन्नुभयो– ‘तेरी दिदीले पनि त पढेकी छे, बिहे गरी त ।’
मैले फेरि भनें– ‘र त उसले नजले पनि आफू सकिएर श्रीमान् पाई ।’
आमाले सल्लाह दिँदै भन्नुभयो– ‘धेरै जान्ने न हो। पछि फेरि लोग्ने नपाउलिस् !’
मैले सहज पारामा उत्तर दिएँ– ‘लोग्ने र श्रीमान् बन्न त समाजमा लाम लागेका हुन्छन् पुरुष !’
आमाले छक्क परेर सोध्नुभयो– ‘अनि किन बिहे गर्दिनस् त तँ हँ ?’
मैले सुस्तरी जवाफ दिएँ– ‘किनकि मलाई लोग्ने र श्रीमान् चाहिएको छैन !’
आमा त बिचैमा जङ्गिनुभयो– ‘अब के चाहियो त तँलाई, बुढीकन्ने बस्लिस् ?’
मैले पनि चिच्याएरै भनेँछु– ‘ए आमा, तपाईंले पाएकोजस्तो लोग्ने र दिदीले भेटेकोजस्तो श्रीमान् मैले खोजेको होइन, मैले पूर्ण जीवनसाथी खोजेको हो। साँच्चि छ कोही त्यस्तो पुरूष तपाईँको नजरमा ?’
(खेमराज पोखरेलको ‘ईश्वरको मृत्यु’ लघुकथा सङ्ग्रहमा सङ्गृहीत!)
प्रकाशित: १४ जेष्ठ २०७८ ०८:५८ शुक्रबार