१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

गल्ती स्वीकार गर्नु सानु बन्नु होइन

सूर्यप्रसाद लाकोजू

 

बाल्यकालको संस्मरणले मनमा आनन्दको संचार हुन्छ । त्यो बेलाको कुरै बेग्लै । साथीहरूसँग खेल्यो, सके पढ्यो, काफल टिप्न गयो, ऐँसेलु खान गयो । अनि साथीहरूसँग खोलामा गएर पौडी खेल्यो। कति रमाइलो ! तर यहाँ रमाइलोभन्दा पनि त्यो समयको एउटा घटना अहिले पनि सम्झन्छु म । रमाइलो त थिएन घट्ना तर शिक्षाप्रद भने थियो।

म ६ कक्षामा पढ्थें । कुरा त्यसै बेलाको हो । त्यो बेला पढाइका साथै खेलकुद पनि हुन्थ्यो । हामी साथीहरू मिलेर एउटा फुटबल किनेका थियौं। हरेक दिन खाजा खाने समयमा हामी फुटबल खेल्थ्यौं। शुक्रबार त झन् शिक्षकहरूसँग खेल्न जाने अनुमति लिएर हामी फुटबल खेल्न जाने गर्दथ्यौं। हामी टाढा जानु पनि पर्दैनथ्यो, स्कुलको आँगन जोडिएको ठूलो सिरान चउर थियो। त्यही सिरान चउर प्यारो थियो हाम्रा लागि । यसरी खेल्न पाउँदा हामी रमाउँथ्यौं । पढ्न भनेपछि गाह्रो।

एक दिनको कुरा हो। सदाझैं हामी फुटबल खेल्दै थियौं । हाम्रो एउटै कक्षाको दुई समूह बीच खेल चल्दै थियो। बल कहिले यता आउँथ्यो कहिले उता जान्थ्यो । खेल रमाइलो गरी चलिरहेको थियो । केही समयपछि विपक्षी समूहले बल हाम्रोतिर ल्यायो। मैले बल छेक्न बल ल्याउँदै गरेको साथीतिर अगाडि बढें। म अगाडि बढेको देखेर उसले भएभरको तागत झिकेर बल मतिर हान्यो। त्यसरी मतर्फ आएको बल मेरो मुखैमा आएर बज्रियो। बल बज्रिएको तोडले मैले त दिउँसै तिरिमिरी तारा देखें। आँखाबाट आगाका झिल्का निस्किए। मैले केही देखिन। रिसको झोकमा आफूलाई नै लक्षित गरी बल हानेको सम्झेर त्यो बल हान्ने साथीतर्फ लम्कें र दनक दिएँ । मेरो दनकले त्यो साथीको नाक फुट्यो। नाकबाट रगत बग्न थाल्यो। नाकबाट रगत आएपछि कसैले सरलाई बोलाउन गए । नकुट्नु कुटिहालें । साथीको नाकबाट रगत पनि आयो। पछि त डर पनि लाग्यो। म उभिएर बसिरहेको थिएँ । मभन्दा ठूलो कक्षामा पढ्ने मेरो छिमेकी दाइ पनि चउरमै रहेछन् । उनले पो सर आइरहेको छ । तिमीले कुटाइ खाने भो भाग भनेर मलाई त्यहाँबाट भगाए।

स्कुलबाट त भागें। अब कहाँ जाने घरमा जानु भएन । तिनताका भिडियो देखाउने चलन थियो पनौतीमा। विशेष गरेर हिन्दी सिनेमाहरू देखाइन्थ्यो । विशेष प्रकारको डेकमा फिल्मको चक्का राखेर चलचित्र देखाइन्थ्यो । त्यहाँ पनि चिनेकै दाइ थियो । कहिलेकाहीँ उनलाई सहयोग पनि गर्थें म । त्यसैले फिल्म हेर्नलाई मलाई पैसा लिंदैनथे । त्यो दिन म फिल्म हेर्न गएँ। मिथुन चक्रवर्तीको वारदात फिल्म हेरेर घर फर्कें । यो कुरा घरमा पनि थाहा भएछ। मेरो कुटाइ खाने साथी र उनको काका घरमा आएर बुबालाई भने छन् । बुबाले गाली गर्नुभयो, सम्झाउनु पनि भयो । भोलिपल्ट बिहान एक जना साथीले तिमीलाई सरले आज पिट्छु भन्नुभएको छ भनेर तर्साए। स्कुल गए कुटाइ खानुपर्ला भनेर त्यो दिन म स्कुल गइनँ। अर्को दिन पनि घरैमा बसें । यसरी दुई हप्तासम्म स्कुल जान सकिनँ। एक दिन स्कुल नगएपछि जानै मन नलाग्ने हुँदोरहेछ। बुबाले अब आइतबारदेखि स्कुल जानुपर्छ, बरु म गएर सरलाई भनौला भन्नुभयो।

तर मेरो मनमा भने सरको डरभन्दा पनि साथीलाई त्यसरी हात हाल्नु हुन्नथ्यो कि भन्ने परेको थियो । रिस अन्धो हुन्छ भन्थे हो रहेछ । एउटै कक्षामा पढ्ने, सँगै खेल्ने साथीलाई कुटेर गल्ती गरेछु जस्तो लाग्यो। हामी एकै ठाउँका पनि, ऊ माथ्लो टोलको, म तल्लो टोलको । स्कुलमा पनि त्यति नमिल्ने साथी पनि होइन। बरू उसैलाई भेटेर सरी भन्नु राम्रो होला जस्तो पो लाग्यो मलाई।

आफूले गल्ती गरे क्षमा मागिहाल्ने तर गल्ती नगर्दा झुक्दै नझक्ने मेरो बाल्यकालदेखिकै बानी हो। आफूले गल्ती गरेपछि माफी माग्नुपर्छ । क्षमा माग्दा कोही सानो हुँदैन भन्ने मेरो मान्यता छ । तर जानेर गल्ती गर्नु भने हुन्न । अनि एक पल्ट गरेको गल्ती फेरि सकेसम्म दोहोरयाउनु  पनि हुन्न भन्ने मेरो विचार छ।

शनिबारको दिन थियो। दिउँसोतिर म तिनै साथीको घरतर्फ गएँ उनलाई भेट्न। साथी घर बाहिर खेलिरहेको रहेछ । मैले साथीलाई बोलाएँ । ऊ पनि बोल्यो । दुई हप्ता अगाडिको घटना भएर होला साथीको अनुहारमा त्यति धेरै रिस देखिनँ मैले। उसले केही कुरा भन्नुभन्दा अगाडि नै मैले सरी यार मैले अस्ति तिमीलाई हात हालेर गल्ती गरें। त्यो सबै आवेगमा भएको हो । म त तिमीलाई भेटेर सरी भन्न आएको । त्यो बेला बलले लागेर आँखा तिर्मिरायो। तिमीले जानाजान मलाई बलले हानेको जस्तो लाग्यो । मलाई रिस उठ्यो अनि त्यो घटना भयो। मेरो कुरा सुनेर उसले पनि सहजै छोड त्यो कुरा भन्यो । साथीले त्यति भनेपछि म ढुक्क भएँ। हामी दुई केही बेर गफियौं । उसले स्कुल किन नआएको भनेर पनि सोध्यो । मैले भने, भोलि हामी सँगै स्कुल जाऔं न हुन्न?’ उसले हुन्छ भन्यो । भोलिपल्ट स्कुल जानलाई मलाई पर्खेर बसेको   रहेछ । हामी दुवै जनासँगै स्कुल गयौं । कुट्ने र कुटाइ खाने दुवै जना सँगै स्कुल आएको देखेर अरू साथीहरू जिल्ल परे। त्यो दिनदेखिको हाम्रो मित्रता आज पनि दरिलो छ।  

प्रकाशित: १२ जेष्ठ २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App