दीपेन्द्रसिंह थापा
नितान्त नवीन युगको
एउटा पुरातन नायक
आज किन
सडकै ढाक्ने गरी हिँड्न खोज्छ
आज किन
आफैंमा यस्तो विरोधाभास
आज किन
आफैंमा यस्तो बकबास!
कस्तो व्यंग्यचित्रजस्तै
कस्तो हँस्सीमजाकजस्तै
चढेको छ
पाषाणकालीन मानसिकताको बिर्खे घोडा
र, बजाउँदै छ
एकदमै नसुहाउँदो गरी
अहंकारै अहंकारका टापहरू मात्र
पहिरेको छ
पुरानो न पुरानो धङधङीको असामयिक पोसाक
र, छाड्दै छ
एकदमै चित्त नबुझ्दो गरी
अपशकुनै अपशकुनका छापहरू मात्र।
केवल विडम्बनाहरूबीच
केवल विसङ्गति र बिब्ल्याँटाहरूबीच
थाहा भएर पनि थाहा छैन झैं उसलाई
थाहा नभएर पनि थाहा छैन झैं उसलाई
आजको समय
उसको आदिम घोडचढीभन्दा
धेरै गुनाले छिटो हिँड्न सक्छ
आजको समय
उसको गतिहीन गणितभन्दा
अथाह गतिले टाढा बढ्न सक्छ।
समय त आफैंभित्र तेजिलो गति पनि हो
अघि बढ्छ – बढ्छ
समय त आफैंभित्र
नवीताको अन्तहीन आयाम पनि हो
अघि बढ्छ –बढ्छ
आज किन
एउटा पुरातन नायक बाटो छेक्न तम्सदै छ!
चेतनाको यो बिहानमा
उज्यालोको यो आगमनमा
साँच्चै सम्भव छ र
यस्तो असमयको भास?
साँच्चै सम्भव छ र
यस्तो फैलावटबिनाको आकाश?
प्रकाशित: १२ जेष्ठ २०७८ ०८:०९ बुधबार