१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

पासवर्ड जिन्दगी

कथा

 देव’ सागर

 

मलाई हिजो जस्तै लाग्छ दशैं बिदामा घर फर्किँदा उसँगै यस्तै बसमा एउटै सिटमा कुम जोड्दै यात्रा गरेको। तर समय उल्टिइसक्यो। उसँग कुम जोडेर बस्न अरू कोही आइसकेको छ । बिडम्बना, ऊ मेरी हो भन्ने मेरो अधिकार छैन। कुम जोडेर बस्ने अधिकार पाएको मान्छे उसकै आडमा छ। त्यही पनि म विगतलाई पैतालामा कुल्चिन विवश छु, म निरीह छु। मलाई समयले लाचार बनाइदिएको छ।

कन्डक्टरको ‘ढ्याङ–ढ्याङ’को इसारामा नयाँ बसपार्कबाट हुइँकिएको मिनी बस कलंकी पुगेर रोकियो।

बस बसपार्कदेखि नै मानिसले लगभग भरिइसकेको थियो। बाँकी रहेका तिनचार सिटमा मान्छेहरू हतारहतारमै बसिसकेका थिए। खालि मेरो आडको एक सिट मात्र खालि थियो । कन्डकटरले पुलुक्क भित्र हेर्याे, कुरमुरे र गुदपाक बेच्ने दुई फुच्चेहरू गाडीभित्रै थिए। तथानाम गाली गर्दै ओर्लियो र जाऊँजाऊँको इसारामा गाडी कुच्चिने गरी ठोक्यो । तर उसको मुखमा अझै छुटेको थिएन ‘दमौली–पोखरा, पोखरा पोखरा’को आवाज।

मिनी बस कलंकीको जाम छिचोल्दै अघि बढ्दै थियो। कन्डक्टरले ‘ढ्याङ्ङ’ गाडी पिट्यो । गाडीमा लागेको एक मुठी धुलो भुईँमा झर्याे । यतिकैमा हतारिँदै एक जोडी गाडी चढ्यो। कन्डक्टरले उनीहरूलाई भित्र ठेल्दै गाडी फेरि ठोक्यो। कन्डक्टरको हातको इसाराले अल्झाएको गाडीको ब्रेकलाई ड्राइभरले छाडिदियो। गाडी कलंकीबाट पोखराका लागि छुट्यो।

ती  जोडीका दुई थान नजर बसको प्रत्येक सिटमा डुले। तिनीहरूको शरीरबाट निस्किएको पर्फ्युमको वासनाले मेरो नाकसम्मै लात हान्न आइपुग्यो।  जोडीमध्ये पुरुषको नजर सिट खोज्न भौतारिएकै थियो। महिलाको नजर एक्कासि मेरो नजरमा ठोक्किन पुग्यो। उसको नजर एकाएक झुक्यो। उसको अनुहार एकैपटक मेघ गर्जिएर पानी चुहिनै लागेको आकाशझैं कालोनिलो भएर आयो। उसको अनुहारमा रंगिएको सोह्र श्रृंगारले रोकिदिएनन् उसको अनुहारमा आएको कम्पन, उसका आँखामा लगाएको गाजलले छेक्न सकेन उसको आँखामा देखिएको त्रास। ऊ हडबडाउँदै आँखा अन्तै मोडी। उसको श्रीमानको नजर भने अझै गाडीकै सिटहरूमा डुलिरहेको थियो। तर, गाडीमा मेरो आडको एक सिटभन्दा अरू कुनै सिट खालि थिएन।

उसको अनुहारको चमक एकाएक हराए पनि मुस्कुराएको सिउँदोले मलाई हेरिरहेको थियो। उसको हातमा सजिएका चुराहरूले मलाई गिज्याइरहेको थियो । ऊ जति आत्तिई म झनै त्योभन्दा दुई गुणा बढी आत्तिएँ । ऊ त अरू कोही नभएर गत वर्षदेखि भूतपूर्व बनेकी मेरी आफ्नै प्रेमिका थिई। मेरो विगत थिई । उही चाँदनी थिई ।

म उसको अनुहार हेरेरै यतिसम्म सजिलै बुझ्न सकें । ऊ मसँग बोल्नुपर्ने कुनै कारण छैन। उसलाई म चढेकै बसमा आफूहरू चढ्न पुगेकोमा ठूलो पश्चाताप भैरहेछ। उसलाई मेरो अनुहार देख्नै मन छैन।

नआउनुथ्यो यस्तो समय, नहुनुथ्यो यस्तो संयोग। आखिर समयले मलाई फेरि एकपटक ठूलो धर्मसंकटमा पार्यो । म चुपचाप आफ्नो सिटबाट उठेर केही पछि डन्डी समाएर उभिएँ । कन्डक्टरले ती जोडीलाई सिटमा बस्न लगायो।

मलाई हिजो जस्तै लाग्छ दशैं बिदामा घर फर्किँदा उसँगै यस्तै बसमा एउटै सिटमा कुम जोड्दै यात्रा गरेको। तर समय उल्टिइसक्यो। उसँग कुम जोडेर बस्न अरू कोही आइसकेको छ । बिडम्बना, ऊ मेरी हो भन्ने मेरो अधिकार छैन। कुम जोडेर बस्ने अधिकार पाएको मान्छे उसकै आडमा छ। त्यही पनि म विगतलाई पैतालामा कुल्चिन विवश छु, म निरीह छु। मलाई समयले लाचार बनाइदिएको छ।    

बस आफ्नै रफ्तारमा कुँँदिरहेको थियो। दृश्यमा देखिएका घरहरू, रूखहरू सडकमा हिँड्दै गरेका मान्छेहरूलाई क्रमशः पछि पर्दै थिए । उभिएको देखेर कन्डक्टरले बस्न भनेर मुडा ल्याएर दियो । म यसैमा टुक्रुक्क परेर बस्दैछु।  नचाहँदा–नचाहँदै पनि आक्कलझुक्कल आँखाहरू तिनै जोडीको वरिपरि डुलिरहेछन् ।

कलंकीबाट छुटेको बस थानकोट पुग्दै गर्दा फेरि कुरमुरेवाला गाडीभित्र छिरिसकेका थिए। उनीहरू हात तेस्र्याउँदै तिनै जोडीको अघि आइपुगे। श्रीमानले चाँदनीलाई सोध्यो ।

–कुरमुरे खाउँ है ।

–नाई, खानु मन छैन ।

–के भयो ? टाउको दुखेको छ ? श्रीमानले पुनः सोध्यो।  

उसले ‘छ’ को इसारामा टाउको हल्लाई।

ऊ त्यही केटी हो, कुनैबेला मसँगै यात्रा गर्दा झन्डै आधा दर्जन कुरमुरे सक्काउँथी । म जिन्दगीको बाटो यात्रा गर्न मात्र चुकेको हुँ तर उसँगै कैयौं पटक ती बाटाहरूमा यात्रा गरेको छु । मलाई थाहा छ उसलाई गाडी लाग्दैन। त्यही पनि ऊ  श्रीमानको अघि गाडी लागेजस्तै गरीरहेकी छे। म अनुमान लगाउँछु । अचेल ऊ अभिनयमा पनि पोख्त भैसकिछे।

सारंगी ¥याइँ¥याइँ पार्दै गाइने दाइ बस चढ्न भ्याए। गाइने दाइले एकैछिनमा लोक गीतबाट सुरु गरेर आधुनिक हुँदै पप ¥याप गीतसम्म गाएर सक्काए। गाइने दाइहरू बडो चलाख र मन पगाल्न सिपालु पनि भैसकेका छन्। उनीहरू बस चढ्नुअघि बस कुन ठाउँमा जाँदैछ भन्ने हेरेर चढ्छन् र त्यही बस पुग्ने ठाउँ वरिपरिका मठमन्दिर तथा रमणीय ठाउँको नामबाटै गीत गाउन सुरु गर्छन्। त्यो सुन्नासाथ यात्रीहरू अचम्म लाग्नु स्वाभाविक नै भयो।

गीत गाउन सुरु गरे गाइने दाइ टोपीमा पैसा थाप्दै डुले। श्रीमान चाहिँले  ५० रुपैयाँको नोट निकाल्न खोज्दै थिए। चाँदनीले १०० को नोट निकालेर टोपीमा राखिदिई । सायद चाँदनीलाई लागेको हुँदो हो, मेरो श्रीमानलाई धनी सावित गरिदिऊँ,  पैसावाला देखाऊँ । मेरो त  २० रुपैयाँको रातो नोटले बाहेक अरू नोटले गोजी छोड्न मानेनन् । त्यसैलाई आफ्नो हैसियत सम्झिएर खुसुक्क टोपीमा खसाइदिएँ। एकैछिनमा ‘बाराही देवीले सबैको रक्षा गरून्।’ भन्ने बोलको गीत रेट्दै गाइने दाइ बसबाट ओर्लिए।  

बस आफ्नै रफ्तारमा हुँइकिएकै थियो। ‘यु’कारका घुम्तीहरूलाई ड्राइभरले एकएक गरेर पछि पार्दै थियो। तिनै घुम्तीसँगै म बसेको मुडा पनि सँगै बग्न खोजिरहेछ। म सम्हालिँदैछु, यताउताको सिटहरू समातेर जसोतसो थामिइरहेछु।

सबैभन्दा अघि बसेको ड्राइभरले हरेक सेकेन्ड गाडी आफ्नोे नियन्त्रणमा हिँडाइरहेछ । बसको पुछारसम्म लटरम्म बसेका पचासौं यात्रुहरूलाई सम्हालिरहेछ । म भने मेरो नाथे मन सम्हाल्न समेत सकिरहेको छैन । मेरो आफ्नै आँखालाई नियन्त्रण गर्न सकिरहेको छैन। र त घरी–घरी उही जोडीहरूतिरै ठोकिन पुगिरहेछ।

चाँदनीलाई देखिपछि म आफैंले  महसुस गरिरहेछु । म त भूपू बनेकी प्रेमिकालाई देख्न मात्रै पनि आत्तिएको रहेछु । सम्झें, उसँग बिछोडिएको त्यो वर्ष दिन, ऊ पराई बनेकी त्यो समय, त्यो वर्ष दिनभित्र मैले बिताएका कहालीलाग्दा प्रहरहरू, छटपटी र अनिदै बिताएका रातहरू, भतभत पोलेको मेरो छाती, एकोहोरिएको मेरो दिमाग । अहो ! मेरो आँखा एकाएक भरिएर आउँछ ।

आखिर जति नै ठुलो चोट लागे पनि निको हुनै कर लाग्ने रहेछ । सहयात्रीले बिचमै छाडे पनि जिन्दगीको रथ एक्ले भए पनि गुुडाउनै पर्नेरहेछ। तर बाहिरी घाउ निको भए पनि भित्रभित्रै बल्झिरहेने रहेछ । दुखिरहने रहेछ ।

मैले घुम्तीमा बस पुग्दै गर्दा चाँदनीलाई पुलुक्क हेरेँ। घुम्तीमा बस कोल्टिएसँगै चाँदनीको श्रीमानले चाँदनीको टाउकोलाई आड दिने प्रयास गरिरहेको थियो। उसले आफ्नो अँगालोमा भर्न खोजिरहेको थियो तर चाँदनी भने केही सशंकित देखिन्थी। एकैछिनमा फेरि पुलुक्क हेरेँ, चाँदनीको शिर उसको श्रीमानको अँगालोमा भरिइसकेको थियो । म हत्तपत्त नजर हटाएँ ।  

‘ल सबैले भाडा दिनुहोस्।’ भन्दै कन्डक्टर मेरै अघि आइपुग्यो। मैले भाडा दिन पर्स निकाल्दै थिएँ। पर्सको एक पत्र पल्टियो र चाँदनीको फोटो झ्याप्प देखियो। कसो कन्डक्टर र अरूले देख्न भ्याएनन् । हत्तपत्त लुकाएँ।

विगतमा कुनैबेला चाँदनी अहिले कसैको अँगालोमा भरिएजस्तै मेरो अँगालोमा भरिएकी थिई। त्यही बखत त्यो तस्विर कैद गरेको थिएँ। आफैंलाई अत्याधिक मन परेको उक्त फोटो सानो साइजको बनाएर पर्समा बोकेर हिँड्ने गरेको थिएँ । उसले त मेरो साथ छोडिदिएकी पनि धेरै भैसकेको थियो तर यो फोटोले साथ छोडेको थिएन। आज झन्डै बित्यासमा पारेको थियो । मन ढुकढुक भयो ।

यतिकैमा चाँदनीको फोन आयो । उसले मोबाइल निकाली र फोन उठाई ।

–हेल्लो, आमा !

...। (उताबाट आएका आवाज सुनिएको छैन ।)

अँ, ज्वाइँ र म आउँदैछौं । बसमा छौं ।

... ।

हजुर, डेढ महिनाको बिदामा आउनुभएको हो रे ।

...।

हिजो दूतावासको कामले आउन पाइएन । आज बिहानै हिँडेको ।

...।

हुन्छ आमा, आएसी बोलौंला।

चाँदनीको फोनको सम्बाद सकियो । मलाई अनुमान गर्न गाह्रो परेन । उसका श्रीमान विदेश रहेछन् र डेढ महिनाको छुट्टीमा घर आएका रहेछन् ।  

बस नौबिसे गएर उही पुरानो गन्हाउने होटल अघि रोकियो। म त बसमा झर्ने चढ्नेको बाटै रोकेर मुडामा बसेको थिएँ। म झर्दै थिएँ, चाँदनीको श्रीमान् मभन्दा एक पाइलाअघि ओर्लियो । पिसाबले अत्याएको थियो। पिसाब फेर्न जाँदा पनि होटलभित्र पसेरै जानुपर्ने र फर्कदा केही खाजा खाएर फर्कनुपर्ने होटल व्यवसायीहरूको पोलिसी । सोही अनुसार ट्वाइलेटतिर सोझिएँ ।

फेरि पनि पफ्र्युमको वासनाले मेरो नाक बिथोल्यो । हेरें,  मेरो अगाडि उही चाँदनीको श्रीमान् रहेछ । मेरो नाकलाई उही विदेशी पफ्र्युमले बिथोलेको रहेछ । ट्वाइलेट नजिकै पुगिसक्दा विदेशी पफ्र्युमलाई स्वदेशी ओरिजिनल पफ्र्युम(पिसाबको गन्ध)ले जित्यो । नाक नै थामिनसक्नु गन्हायो।  

खाजा खान भोक त लागेको थियो। झल्याँस्स सम्झिएँ अस्ति नै टेलिभिजनमा देखिएको दृश्य। जुन दृष्यमा देखाइएको थियो नौबिसेकै होटलमा छापा पारेको। कुहिएका कुखुराहरू पकाइएको, खानेकुराहरूमा स्याउँस्याउँ किरा चलिरहेको। अहँ, मलाई होटलभित्रको खानेकुरा केही हेर्नै मन लागेन । चुपचाप गएर रोकिराखेको बसमा चढें। म बस चढ्दै गर्दा चाँदनी मात्रै बसमा थिई, अरू सबै यात्रुहरू ओर्लिएका थिए । चुपचाप गएर मुडामा बसेँ ।

केहीबेरसम्म बसमा पनि सन्नटा छाइरह्यो । मैले मौनता चिर्दै बोलेँ ।

‘ढिलै भए पनि वैवााहिक जीवनको शुभकामना छ। वर्ष दिनपछि आज देखेँ, खुसी लाग्यो।’  

अहँ, चाँदनी केही बोलिन। उसले धन्यवादसम्म पनि बोल्न चाहिन । म केहीबेरसम्म कान थापेर सुनिरहेँ। तर उसको मुखबाट कुनै आवाज निस्किएन। ऊ घोसे मुन्टो लगाएर बसिरही । उसको मनसाय बुझेर म पनि फेरि बोल्ने चेस्टा गरिन्। बसभित्र पुनः मौनता छाइरह्यो । केहीबेरमा सबै यात्रुहरू बस चढे र बस पुनः गुड्न सुरु गर्यो।

प्रसव वेदनाले छटपटाएको आकाशबाट सूर्य उदाएर धेरै माथि पुगिसकेको थियो। ऊ तन्नेरी हुँदै थियो भने मेरो आँखा अघिकी चाँदनी अरू कोही वृक्षलाई छहारी दिइरहेकी थिई। अरू कसैलाई माधु¥र्य छरिरहेकी थिई।

चाँदनीको त्यो मौनता देख्दा घरिघरि मनमा अनेक विचार आउँथ्यो। बेसरी डाँडाखोला थर्किने गरी चिच्याएर भनिदिउँ चाँदनी मेरी हो । तर खै केले रोकिन्दिथ्यो मलाई र चुपचाप हुन्थें।

बस गुड्दै कुरिनटार आसपास पुग्यो । तुर्लुङ्ग लठ्ठामा झुन्डिएका केवलकारहरू दौडिरहेका थिए । नचाहँदानचाहँदै पनि त्यही दिन सम्झें, जुन दिन त्यही झुन्डिएको केवलकारमा चढेर मनकामना दर्शन गर्न गएको दिन। कलेज हापेर बिहानै गएर बेलुकी काठमाडौं फर्किने सहमतिमा मनकामना पुगेका थियौं। मनकामना पुगेसी एक्कासि मन बदलियो। त्यो दिन काठमाडौं नै  

 नफर्किएर त्यहीँ मनकामना मन्दिर नजिकैको होटलमा बसेर भोलिपल्ट फर्किएका थियौं। मेरो मोबाइलमा अझै पनि चाँदनीका थुप्रै फोटाहरू सुरक्षित थिए।

मेरो मोबाइलमा अझै पनि उसैको फोन नम्बरको सेक्युरेटी कोड थियो । उसैको नामको छुट्टै फोल्डर थियो। त्यहाँ पनि सेक्युरेटी कोड उसैको फोन नम्बरको थियो। मेरो मतलब, म जति पटक फोन हेर्थें त्यति नै पटक चाँदनीलाई सम्झिरहेको हुन्थें । तर आज उसँगको यो प्रत्यक्ष भेट भएदेखि मलाई पछुतो लागिरहेछ। म मात्रै व्यर्थै उसको सम्झनामा तड्पिइरहेको रहेछु । उसलाई त मेरो केही मतलव नै रहेनछ। एक्कासि झोंक चलेर आयो। मोबाइलमा भएभरको उसका फोटोहरू एकै पटकमा डिलिट गरिदिएँ। फेरि एकपटक चाँदनीलाई हेरेँ। चाँदनी उसको श्रीमानको काखमा मस्त निदाइरहेकी थिई।

कलकल बगिरहेको मस्र्याङ्दीको बुई चढेर बसेको पुलको माथिबाट बस मुग्लिङ छोडेर तनहुँ जिल्ला प्रवेश गर्दै थियो। कताकता त्यही पुललाई आफूसँग तुलना गर्न मन लाग्यो। म पनि त्यही खम्बा थिएँ जुन मेरो जिन्दगीको खम्बामा टेकेर अरू कसैको जिन्दगीमा चाँदनी प्रवेश गरेकी थिई। यात्रु बोकेर गुडिरहेको बस त बरु आज पुल छोडेर गए पनि भोलिपल्ट त्यही पुल सम्झेर फर्कथ्यो। तर बिडम्बना, उसले त छोडेर गएदेखि कहिल्यै सम्झेकी समेत थिइन। आजबाट त झनै छर्लङ्ग भयो । ऊ कहिल्यै सम्झने छैन । कहिल्यै फर्किएर आउने छैन ।

एक्लेफाँट पुग्दै गर्दा बाटोभन्दा माथितिर लटरम्म सुन्तलाहरू फलेका थिए। ती सुन्तलाका रूखहरुले चाँदनीकै झल्को दिइरहेछन् । चाँदनीको जिन्दगी त तिनै सुन्तलाहरू जस्तै फूल खेलेर फल लाग्ने तरखरमा थियो। तर मेरो जिन्दगी भने ...अहो ! फूल खेल्दाखेल्दै चट्याङ परेर सुकेको रूखजस्तो। ठ्याक्कै ऊ त्यही सुन्तला घारीको बिचमा सुकिरहेको रूख जस्तो । त्यति नै बेला मेरो जिन्दगीसँग मेल खाने रूख देखापर्याे।

चाँदगीको जिन्दगीले त सायद म  एउटालाई छोडेर हुँइकिएको थियो तर आज काठमाडौं छुटेदेखि कति मान्छेलाई यस बसले छोडिहिँडयो होला? कति जना बाटामै छुटिगए होलान्। अहँ, कुनै लेखाजोखा छैन । आखिर ती सबै रोकिएका होलान् त ? ती सबै निरास होलान् त ? पक्कै पनि छैनन्। आखिर सबैले आफ्नो–आफ्नो जिन्दगी जिउने हो। त्यही दौडानमा कति भेटिन्छन् कति छुट्टिन्छन्। सम्झिएर, तड्पिएर साध्य हुँदैन। चुपचाप मन बुझाएँ।

एकनासले हरेक मोडहरूमा हर्न बजाउँदै कुँदिरहेको बसलाई कन्डक्टरले ‘ढयाङ’ले बजायो। दमौलीको गेटैनेर पुगेर बस रोकियो। अघिसम्म अँगालोमा बाँधिइरहेका  जोडी एकाएक उठे । मलाई कता–कता मन अमिलो भएर आयो। वर्ष दिनपछि अकस्मात मेरो आसपासमा उदाएकी चाँदनी एकाएक अस्ताउन खोज्दै थिई। आकाशमा उदाएर अस्ताएको चाँदनी त अर्को दिन पक्कै उदाउँथ्यो। तर मेरी चाँदनी अब कहिले उदाउँछे कुनै टुङ्गो थिएन ।

म चाहेको थिएँ, चाँदनी झर्द ैगर्दा भए पनि एकपल्ट पुलुक्क हेरोस्, इसारामै ‘म झरें, तिमी राम्रोसँग गए ह।’ भनोस् । तर मेरो त्यो चाहना पनि अधूरै रह्यो । ऊ एकाएक सिटबाट उठी र हेण्डब्याग टिपी । एक पटक पनि मतिर नहेरी ऊ बसबाट ओर्लिई । ऊ मेरो जिन्दगीबाट गएकै थिई। मन बुझाएकै थिएँ। तर आज त ऊ त्यसै गइन, उसले त मेरो मनमा नराम्ररी लात हानेर ओर्लिई । मेरो चाहना कुल्चिँदै गई। ऊ निष्ठुरी भैसकिछ । ऊ साँच्चिकै पराई भैसकिछ । उसको आँखा अन्तिम पटक हेर्ने रहर अधूरो भयो । म नमजाले पछारिएँ ।  

बरु, उसको श्रीमान बसबाट झर्दै गर्दा मुस्कुराउँदै मेरो नजिक आयो र सिट छोडिदिएकोमा धन्यवाद दिएर गयो। मैले मन नलागी–नलागी उसले दिएको ‘ धन्यवाद’को लिएर चुपचाप बसेँ।

उनीहरू बसबाट ओर्लनासाथ कन्डक्टरले भर्खरसम्म तिनै जोडी बसेको सिटमा बस्न आग्रह गर्यो। म चुपचाप अघि चाँदनी बसेको सिटमा सरेर बसेँ । पफ्र्युमको गन्ध अझै मेटिएकै थिएन । ऊ बसेको सिट अझै तातै थियो। त्यही तातोलाई चाँदनीको न्यानोसँग तुलना गरेर बसिरहेँ।

आखिर मुतको न्यानो एकैछिनको न हो । त्यो न्यानो धेरै बेर टिकेन ।  करिब एक घण्टा बित्दा नबित्दै बस पोखरा पुगिहाल्यो । मेरो गन्तव्य पनि आइहाल्यो । बस पोखरा पुगेर रोकियो। म बसबाट झर्दै गर्दा एकपटक पुलुक्क चाँदनी बसेको सिटलाई हेरेँ । सिट रित्तो भैसकेको थियो। मेरो मन मात्र चाँदनीको सम्झनाले भारी भएको थियो।

जति नै मन भारी भए पनि कसैलाई सुनाउन सक्दिन । अचेल जिन्दगी नै पासवर्ड जस्तो लाग्न थालेको छ। कसैलाई पीडा सुनाउँ, जिन्दगी नै कसैले ह्याक गरिदेला  भन्ने पिर। नसुनाउँ मबाहेक मेरो जिन्दगी बुझिदिने अरू कोही छैन।

बसबाट झरेर घरतर्फ लाग्दैगर्दा सोचेँ, मेरो जिन्दगीमा पनि कोही त्यस्तो मान्छे आओस् । जसले मेरो मस्तिष्कमा बसेको कसैको तस्विरलाई फर्मेट गरीदेओस्। जसले चाँदनीको नाममा रहेको मेरो जिन्दगीको पासवर्डलाई रिसेट गरोस् र आफ्नो नाउँमा राखोस्।  जसले मेरो मानसपटलमा घुमिरहेको उसको यादका थुप्राहरूमा डोजर चलाइदेओस्। उसले आफ्नै डिजाइनमा नयाँनयाँ संरचनाहरू तयार गरोस् । ती संरचनाहरू हरेक विषम परिस्थितिले हल्लाउन नसकोस्। कसैको सम्झनाका कम्पनहरूले नहल्लियोस्। त्यही संरचनाभित्र म अटाउन सकूँ। उसैसाथ बिनाहिचकिचाहट मेरो एक जिन्दगीको डुङ्गा सकुशल पार लगाउन सकूँ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App