१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

लगनशील भाइबैनी

बालकथा

पुष्करराज भट्ट

 

फूलमती र बुधराम  दिदीभाइ हुन्। फूलमती आठ वर्षकी छिन् र बुधराम छ वर्षको छ। उनीहरू धनगढीको कमैया शिविरमा बस्छन्। उनीहरूका आमाबाबु घर बनाउने मजदुर हुन्।

आमाबाबु काममा निस्केपछि उनीहरू दिनभर खाली हुन्थे।  फोहर पानीमा खेल्ने, साथीहरूसँग झगडा गर्ने अनि चरा मार्न जङ्गलमा जाने काम गर्न लागे। उनीहरूको बानी बिग्रदै गयो।

एकदिन बुधराम च्यातिएका लुगा लिएर, जीउभरि घाउ पारेर रुँदै घर पुग्यो।

“के भयो ? किन यसरी कपडा च्यातेर, रुन्चे अनुहार बनाएर आएको ?” आमाले सोध्नुभयो।

“चौरमा खेल्दाखेल्दै कालीरामसँग झगडा भयो। अनि लुछालुछ भएपछि मैले यसलाई छुट्टाएर घर ल्याएँ।” फूलमतीले त्यहाँ भएको घटनाको वर्णन गरिन्।

“त्यसले मलाई ‘फोहरी, लफङ्गा’ भन्यो, अनि मैले एक झापड दिएँ । त्यसपछि उसले मेरो कपडा च्यातिदियो ।” बुधरामले आफनो सफाइ दियो।

“तिमीहरु भनेको मान्दैनौ । फोहर पानीमा खेलिरहन्छौ। आफू सही भए कसैले हेला गर्न सक्दैन। सफासुग्घर भएर बस। घरको काममा सघाऊ । सधैंभरि हामीले कति हेरौँला ।” आमाले सम्झाउन खोज्नुभयो।

त्यो दिनदेखि उनीहरूको बानी केही सुध्रिन लाग्यो । उनीहरू सरसफाइमा ध्यान दिनुका साथै घरको काममा पनि आमाबुवालाई सघाउन लागे।

बुवाले उनीहरूलाई विद्यालय भर्ना गरिदिई भन्नुभयो  “अब सधैं स्कुल गएर पढनुपर्छ । झगडा गर्ने कामचाँहि नगर्नू नि ।”

“हामी आफैँकहाँ झगडा गरेका छौँ र ! हाम्रो खिल्ली उडाएर मात्र त हो नि ।” बुधरामले आफूलाई सही देखाउन खोज्यो।

स्कुल गए पनि उनीहरूको मन पढाइमा कम लाग्थ्यो । उनीहरू पढाइभन्दा खेलकुदमै बढी रमाउँथे।

“तिमीहरू विद्यालय गएर पढ्दैनौ । पढ्न मन लाग्दैन कि कसो ?” एकदिन बुवाले उनीहरूलाई सोध्नुभयो।

“सुनमती, कलुवा, बिसराम त खेल्नमा लागिरहन्छन्। हामी स्कुल गएर खेल्न नपाउने त ?” फूलमतीले भनी।

“खेलकुदमा मात्र अगाडि भएर कहाँ हुन्छ ? पढाइ भए पो सबैले मान्छन् । यी हामी पढाइ नभएर यस्तो हालतमा छौँ ।” आमाले पनि सम्झाउनुभयो।

“म त पढ्नभन्दा खेल्न नै रुचाउँछु ।” फूलमति बोलिन्।

“मलाई पनि खेलकुदमै मजा आउँछ ।” बुधरामले पनि दिदीकै कुरामा सही थाप्यो।

“सकेसम्म हामीले राम्रो गर्ने हो। आफ्नो कुरा आफैं  जान ।” बुबा कुरा टुङ्ग्याएर कामतिर लाग्नुभयो।

बुधराम फुटबल खेल्न मन पराउँथ्यो । ऊ आफ्नो टोलमा पनि कपडाको बल बनाएर खेल्न लाग्यो। बिस्तारै ऊ स्कुलमा हुने प्रतियोगितामा पनि भाग लिन लाग्यो । विद्यालयमा हुने प्रतियोगितामा राम्रो गर्न लागेपछि जिल्लास्तरका प्रतियोगितामा पनि छानिन लाग्यो।

फूलमती एथलेटिक्सतिर लागिन् । पहिले दौडमा भाग लिने उनी पछि गएर अन्य प्रतियोगितामा पनि भाग लिन लागिन्। विद्यालय हुँदै जिल्लास्तरका प्रतियोगितामा पनि भाग लिन लागिन्।

“यी दिदीभाइ यस क्षेत्रका गौरव गर्नलायक प्रतिभा हुन् । यिनीहरूको देशले सम्मान गर्नुपर्छ ।” उनीहरूको बारेमा मानिसहरूको धारणा राम्रो बन्दै गयो।

आजभोलि उनीहरू सुदूर पश्चिम क्षेत्रबाट राष्ट्रिय रूपमा नै प्रतिनिधित्व गरिरहेका छन् । विद्यालय स्तरभन्दा माथि पढाइ अगाडि बढाउन नसके पनि खेलकुदको माध्यमबाट आफूलाई चिनाइरहेका छन्। लगन र परिश्रमले गर्दा उनीहरू सफल भएका छन्।

(‘जूनकिरीको उज्यालो’ बालकथा सङ्ग्रहमा सङगृहीत !)

प्रकाशित: ९ जेष्ठ २०७८ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App