२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोही किन बरबाद होस् !

एउटा मान्छेले जीवनमा धेरै थोक कमाउँछ– धनसम्पत्ति, इज्जत, मानमर्यादा, मित्र, शत्रु आदि। मैले पनि आफ्नो जीवनयात्रामा अरू केही कमाउन नसके पनि केही मिठा र केही नमिठा क्षण कमाएँ। जीवनमा सोच्दै नसोचेको यात्राले जेलको बन्द संसारभित्र पनि पुर्‍यायो। पढाइ छुट्यो, अनेकौँ सपना छुटे तर सपना देख्न भने मैले कहिल्यै छाडिनँ। सपनाले नै मान्छेलाई बाँच्न, हाँस्न सिकाउने रहेछ। यही सपनाले मर्न र रुन पनि बाध्य बनाउँदो रहेछ। जीवन भनेको भोगाइ हो, मैले पनि भोग्दै गएँ। हो, मैले पढाइ, करिअर र जीवनको रफ्तार गुमाएँ होला। तर त्यसको बदलामा हजारौँ प्रिय पाठकजनको माया पाएँ र यही मायाले बाँचेकी मान्छे म।  

माओवादीले गरेको सशस्त्र युद्धमा सामेल हुँदा म १४ वर्षकी सानी केटी थिएँ। समानताको अनि मुक्तिको नाराले तानिएर म युद्धमा सामेल भएँ। समुन्नत नेपाल, धनी गरिबबीचको पर्खाल ढाल्न अनि महिला मुक्ति (म चाहन्थेँ, उतिबेला कुनै रक्स्याहा श्रीमान्ले घरकी श्रीमती नकुटून्)का लागि म हुत्तिएर युद्ध मैदानमा पुगेँ। मैले अरू केही कुरा जानिनँ, यही श्रीमान्ले श्रीमती कुटेको कुराको खरो विरोधलाई महिला मुक्ति भन्ठानेकी थिएँ। कक्षा ६ को पढाइ छुटिसकेको थियो। ऊबेला यसरी नजानेरै, नबुझेरै म माओवादी युद्धमा सामेल भएँ। तर छोटो समयमै पक्राउ परेँ। तत्कालीन शाही नेपाली सेनाको संयुक्त सुरक्षा फौजले इलामको सोयाङ भन्ने स्थानबाट मलाई गिरफ्तार गरेको थियो। म त्यसबेला मुटुसम्बन्धी बिरामीले ग्रसित थिएँ। त्यसरी अर्को कठिन यात्रा सुरु भयो। मृत्युसँग हातेमालो गर्दै म हिँडिरहेकी थिएँ। उतिबेला गरेको सेनाको व्यवहारले मलाई थोरै भए पनि सपनाको त्यान्द्रोमा भर पर्न र संसारमा माया, सद्भावको कुरो गर्न सिकायो।  

म जुन कुरालाई अपनाउँछु, त्योप्रति म घात कहिले पनि गर्दिनँ। मैले पाएको शिक्षाले झुक्न कहीँ पनि सिकाएन र अहिलेसम्म कुनै ठाउँमा झुकेकी पनि छैन। म माओवादी युद्धमा सामेल भएर हिँडेपछि माओवादी पार्टीप्रति पूर्णरूपले समर्पित भएकी थिएँ, पार्टीप्रति मैले कहीँ र कतै पनि घात गरिनँ। भलै, पार्टीको नजरमा म कहीँकतै थिइनँ।  

सेनासँगको यात्रा, सेनासँगको बसाइ अनि मानसिक यातना (भलै, मैले शारीरिक यातना धेरै भोगिनँ) ले गलाएको थियो। इलाम जेल, झापा अनि मोरङ जेलसम्मको भोगाइलाई मैले पछि ‘छापामार युवतीको डायरी’मा उतारेकी छु। त्योभन्दा दर्दनाक कथा त जेलबाट छुटेपछिको छ। मैले ‘छापामार युवतीको डायरी’मा जेलमुक्त भएकोसम्म मात्रै बयान गरेकी छु। यही किताबले म समाजमा स्थापित भएँ। सयौँ मायालु साथहरूसँग जोडिएँ। सामाजिक, आर्थिक रूपमा केही सबल बनेँ। किताबसँगै जीवनमा धेरै कुरा जोडिएर आए। सबैजनाले सहर्ष स्विकार्नुभयो मलाई तर जुन पार्टी र सपनाका लागि मैले दुःख भोगेँ, त्यो पार्टी र सपनाले मलाई र मेरो किताब ‘छापामार युवतीको डायरी’ लाई स्विकारेन। पार्टीभित्रकै केही मान्छेले मैले (स्वयंले) लेखेको होइन भने र विभिन्न छापामा लेखहरूसम्म लेख्न भ्याए। 

ती लेख अहिले पनि मसँग सुरक्षित छन्। ती मेराविरुद्धमा लेखिएका शब्दलाई पार्टीपंक्तिले दिएको तक्मा सम्झेर राखेकी छु। मसँग पढाइको कुनै प्रमाणपत्र छैन तर म शब्दहरूसँग खेलिरहन्छु। शब्दसँग खेलेरै म आज यहाँसम्म आइपुगेकी छु। जब मेरो किताब प्रकाशित भयो, समाजमा जीवन डोर्‍याउन धेरै सहज भयो। फेरि मैले ठूला सपना देख्न थालेँ। मेरो किताबलाई बेलायतबाट अंग्रेजी भाषामा अनुवाद गरेर छाप्ने प्रस्ताव आयो, यो अर्को सपनाको भर्‍याङ थियो। दशगजामा उभिएर जेनतेनले बाँचेजस्तो मेरो जीवनमा यो हठात सगरमाथा उक्लनै लागेजस्तो सपनाको अर्को झोलुंगे पुल थियो। 

लेखक, सामाजिक अभियन्ता नरेश काङमाङमार्फत आएको प्रस्तावकै कारण म पुलकित बनेकी थिएँ। म त्यो दिन सोचेभन्दा बढी खुसी भएकी थिएँ, अनि कुराहरू अगाडि बढ्दै गए। त्यो प्रस्तावसँगै मलाई ५० हजार रूपैयाँ नगद हातमा थमाइदिएको क्षणले मलाई अझ पुलकित बनायो, आशा र विश्वास बढायो। त्यसबेला म झापाको विर्तामोड बस्थेँ। छोरा सानो थियो, मेरो श्रीमान् शान्ति सेना बनेर विदेश जानुभएको थियो।  

यसरी आएको प्रस्ताव मेरा लागि सानो थिएन। कहीँकतै सोधपुछ नगरीकनै नाम र दामको पछाडि लागेँ म। आफ्नै खुसी र विश्वासले मैले नरेश काङमाङ दाइलाई ‘हुन्छ’ भनेँ। यो विषयमा अरू कसैसँग सरसल्लाह माग्न उचित ठानिनँ, उहाँप्रतिको अगाध विश्वासले। विश्वास पनि किन नगर्ने, उहाँ आफैं लेखक, आफ्नै माइती राई दाजुभाइ, त्यहीमाथि सिपाही। अरू रूपमा बेइमानी भए पनि सिपाहीको रूपमा ठूलो विश्वास थियो मलाई उहाँप्रति।  

मलाई मौखिक रूपमा धेरै आश्वासन दिइएको थियो, जसको कुनै कागज गरिएको थिएन। ‘कागजी काम पनि गर्नुपर्छ बहिनी’ भन्दै उहाँले अंग्रेजीमा लेखिएको कागज मेरा सामुमा राख्दै भन्नुभयो। म अंग्रेजी केही नबुझ्ने, नजान्ने मान्छे, मैले ‘यो के हो ?’ भनेर सोध्दा ‘यो तपाईंको मञ्जुरीनामा हो’ मात्रै भन्नुभयो। मैले पनि केही नसोची हस्ताक्षर गरेँ, यो थियो, २० अप्रिल २०११ को कुरा।  

समय बित्दै गयो, बेलायतमा मेरो किताब अंग्रेजी भाषामा प्रकाशित भएको खबर पाएँ, खुसीले मन फुरुंग भयो। मजस्ती साधारण लेखपढ भएको सामान्य केटीका शब्दहरू अंग्रेजी भाषामा विश्वमा पढिँदै छ भनेको सुन्दा मेरो मन मैसँग थिएन। नामसँगै पैसा अनि अरू अवसर पाइएला, आश्वासन यस्तै पाएकी थिएँ मैले। मान्छेलाई पैसाले कहिल्यै पुग्दैन र म पनि अछुतो रहिनँ।  

दिन बित्दै गए, म पनि आफ्नै दुनियाँमा एक्लै रमाउँदै गएँ। यही बीचमा मेरो किताबको वृत्तचित्र बनाउने कुरा पनि आए तर मलाई ‘सन् २०२० सम्म अन्य कुनै प्रयोजनका लागि यो किताब कसैलाई दिन पाउनुहुन्न बहिनी’ भन्नुभएका कारण मैले अरूलाई ‘हुन्छ’ भन्न सकिनँ। यो योजनाबारे स्थानीय सूर्योदय टिभीको खगिन्द्र खुसीले चलाउने कार्यक्रममा काङमाङले २० र प्रकाशकले २० प्रतिशत गरेर जम्मा ४० प्रतिशत रोयल्टी दिने भन्ने कुराकानी समेत सार्वजनिक भएको हो, यसको रेकर्ड युट्युबमा अझै भेटिन्छ। यसबीचमा मैले पनि मेरो किताब बारेमा खासै सोधखोज गरिनँ। मेरो नजरमा मसँग जोडिनुभएका सबै व्यक्तित्व सम्मानित नै हुनुहुन्छ। 

मैले सम्झेँ, सबैजनाले मेरो भलो नै चाहनुहुन्छ। समय बित्दै गयो, बेलायतमा मेरो किताब अंग्रेजी भाषामा प्रकाशित भएको खबर पाएँ, खुसीले मन फुरुंग भयो। मजस्ती साधारण लेखपढ भएको सामान्य केटीका शब्दहरू अंग्रेजी भाषामा विश्वमा पढिँदै छ भनेको सुन्दा मेरो मन मैसँग थिएन। नामसँगै पैसा अनि अरू अवसर पाइएला, आश्वासन यस्तै पाएकी थिएँ मैले। मान्छेलाई पैसाले कहिल्यै पुग्दैन र म पनि अछुतो रहिनँ। रत्न पुस्तक भण्डारले दिने रोयल्टीले जीवन जिउन सहज त बनेकै थियो, तर सबै अभाव रोयल्टीभन्दा ठूला थिए। अनि, श्रीमान्को तलबले जीवन जिउन धौ–धौ नै पथ्र्यो। उहाँको तलब र मेरो किताबको रोयल्टीले सानातिना सपनाहरू फुलाउँदै गयौँ तर ठूलो सपना त बेलायतमै थन्किएको थियो। ‘गुरिल्ला गर्ल’ नाममा प्रकाशित भयो, मेरो किताब छापामार युवतीको डायरी। संयोगले त्यो अनुवाद किताबको एकप्रति मैले पाएकी थिएँ।  

यस्तैमा २० फेब्रुअरी २०१७ मा मलाई फेरि नरेश काङमाङले अर्को कागजमा हस्ताक्षर गराउनुभयो, जुन कागज अंग्रेजीमा लेखिएको थियो। मैले सोध्दा उहाँले किताबको रोयल्टी हेपेन्द्र राईको नाममा नामसारी गरेको जानकारी दिनुभयो। यसपटक पनि मैले त्यो कागज कसैलाई देखाउन, सोध्न उचित ठानिनँ। विश्वास र भरोसा थियो मेरो नरेश दाइप्रति। शंका कहिले पनि गरिनँ, उहाँहरूले मेरो अबोधपनमाथि घात गर्नुहोला भनेर। मेरो आँसुमाथि दलाली, षड्यन्त्र गर्नुहोला भनेर। म उहाँहरूकै चुलाकी चेली थिएँ, राई जातिकी। त्यसमाथि समय र परिस्थितिले ठगिएकी ममाथि उहाँहरूले यस्तो कार्य गर्नुहोला भनी कहिले पनि ठानिनँ। 

यस्तैमा मैले ‘गुरिल्ला गर्ल’ बिक्रीका आधारमा विश्वको उत्कृष्ट सयमा परेको समाचार सुनेँ, लिंकहरू पाएँ मन खुसीले गदगद भयो। यसबीचमा मैले गुरिल्ला गर्लको नामबाट केही पैसा पाइनँ, तैपनि म खुसी नै थिएँ। किताबबारेमा सोध्दा बिक्री–वितरण नभएको जानकारी नरेशदाइ र अपजसे कान्छाबाट पाइरहन्थेँ र आफ्नो भाग्य त होला नि भन्ठान्थेँ। म आफूलाई भाग्यले ठगिएको सम्झन्थेँ, मेरो सोच्ने शक्तिले यही मात्रै सोच्यो तर भाग्यले होइन, म त मेरो विश्वास र भरोसाले ठगिएकी रहेछु।  

हस्ताक्षर गरेको ६–७ वर्षपछि एक–दुईजना आफन्तलाई त्यो अंग्रेजीमा लेखिएको कागज निकालेर पढ्न दिएँ। म त छाँगाबाट खसेँ, मैले हस्ताक्षर गरेको त्यो कागजमा त मैले रोयल्टीबापत केही नपाउने र यदि सोधखोज गरेमा उहाँहरूले मलाई कानुनी कठघरामा उभ्याउन सक्नेसम्मका कुरा उल्लेख गरिएको रहेछ। नेपाली भाषाबाहेक कुनै पनि भाषाको मैले रोयल्टी नपाउने र खोज्न पनि नपाउने उल्लेख छ रे। म त अंग्रेजी भाषा पटक्कै नजान्ने मान्छे।

मलाई किन यस्तो कागजमा सही गराइयो ? र, कुन मनसायले यो घृणित कार्य गरियो ? मलाई किन मौखिक रूपमा एउटा र लिखित रूपमा अर्को कुरा गरियो ? मलाई उहाँहरूले आज जवाफ दिनैपर्छ। म एक प्रकारले सीमान्तकृत र समाजले भन्ने गरेको समय र परिस्थितिले पिँधमा पुर्‍याएकी युवती हुँ। म यी कुरा थाहा पाएर धेरै टुटेकी छु, रोएकी छु। उहाँहरूले मलाई किन छल गर्नुभयो ? ममाथि उहाँहरूले अन्याय गर्नुभएको छ, मैले न्याय पाउने कि नपाउने ?

प्रकाशित: ८ जेष्ठ २०७८ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App